नेपालमा एउटा ठट्टा निकै प्रचलित छ- यदि अमेरिकाले सबै नेपालीहरूका लागि डिभी चिठ्ठा खोल्यो र सबैलाई पर्यो भने देश नै खाली हुने गरी जान्छन् ।

यस्तै भान हुन्छ, जब डिभी चिठ्ठा भर्न लाइन लागेर मानिसहरू बस्ने गर्छन् ।

अमेरिकी सपना हरेक नेपाली युवाको सपना जस्तो देखिन्छ र त्यो सपना पूरा गर्न कहिलेकाहीँ गलत बाटो छनोट गर्नेहरू पनि हुन्छन् । यही विषयलाई लिएर साहित्यकार तुलसी आचार्यले ‘स्वप्नभूमि’ उपन्यास ल्याएका छन् । सोही उपन्यासको शुक्रबार काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन गरियो । कार्यक्रममा नेपाली चलचित्रका कलाकार राजेश हमालको प्रमुख आतिथ्यमा लोकार्पण भएको हो।

शिखा बुक्सले प्रकाशन गरेको सो पुस्तक विमोचन कार्यक्रममा समीक्षकहरूले आप्रवासी बन्न पुगेका नेपालीको सपना र भोगाइलाई समेटिएको बताए ।

धन र सुख प्राप्त होला भनेर हुन्छ भनेर विदेशिएका नेपालीहरूले बाहिरी देश पुगेपछि नेपालको महत्त्व र आफ्नो खुसी बुझेर देश फर्केको एक युवकको कथा यो उपन्यासले बोकेको छ । विदेशमा बस्ने नेपालीले भोगेको संस्कृति र नेपाली समाजमा कामको आधारमा गरिने विभेदलाई पनि उजागर गर्न खोजिएको छ।

कार्यक्रममा बोल्दै कलाकार हमालले व्यक्तिले आफ्नो सपनाको देश जन्मेकै ठाउँलाई मान्नुपर्छ भन्ने नभएको तर्क गरे। ‘स्वप्नभूमि र जन्मभूमि एउटै हुनुपर्छ भन्ने छैन। यो व्यक्तिको सोचमा भर पर्ने कुरा हो,’ हमालले भने। सपनाको भूमि जहाँ भए पनि आफू हुर्केको परिवार, समाज र संस्कार, संस्कृति र राष्ट्रिय धर्मलाई मानिसले भुल्न नहुने उनले बताए ।

स्वप्नभूमिको लागि प्रविधिले सम्पन्न बन्न खोज्दा आफ्नो खुसीलाई नत्याग्न उनले अनुरोध गरे। युवाको कथा रहेको पुस्तकमा अहिलेको नेपालीहरूको सपनाको घर विदेश भएको र उतै रमाउन चाहानेको कथा बोलेको सकालोचकहरूले व्याख्या गरेका छन्।

नेपालीको सपनाको देश अमेरिकामा पुगेर गरिने दु:ख आप्रवासीको पीडालाई समेटिएको समीक्षक राजकुमार बानियाँले बताए। साहित्यमार्फत देशमा केही गर्न सकिन्छ भन्ने भाव उपन्यासको सन्देश बनेको उनको बुझाइ छ।

समालोचक कुमारी लामाले लाखौं संख्यामा विदेश पलायन भएका नेपाली युवाको कथा र युवाले बुनेको महत्त्वाकांक्षी सपनाको संघर्षलाई पुस्तकले देखाउन खोजेको बताइन्। महिला पात्रको महत्त्व नभएको र प्रेमिकाको रूपमा मात्र प्रयोग गरेकोमा उनको आपत्ति थियो ।

समालोचक बानियाँले आफू दुःखी भएर परिवारलाई खुसी पार्ने जीवनदर्शनको व्याख्या उपन्यासले गर्न खोजेको बताए। ‘पौरख गर्ने बाटाहरू धेरै छन् तर नेपालीको गन्तव्य खाडी र अमेरिका बनेको छ,’ उनले भने, ‘सरल भाषा भएको तर एकोहोरो दीपक नामक पात्रलाई मात्र प्रष्ट्याएको छ । त्यसमाथि उपन्यासमा लालित्यको अभाव देखिन्छ ।’

उपन्यासकार तुलसी आचार्यले डीभी र विद्यार्थी भिसामा अमेरिका गएकाको नेपालीको कथालाई आफूले समेटेको बताए। पाठकबाट आएको सुझावलाई सहर्ष स्वीकार गरी आगामी दिनमा सुधार गर्ने उनले जनाए। उनको यो दोस्रो उपन्यास हो। पहिलो उपन्यास ‘मोचन’ गतवर्ष प्रकाशित भइसकेको छ।