
सन् २००८ को जुलाईमा अमेरिकाको जर्जिया यूनिर्भसीटीको दीक्षान्त समारोहको दृश्यबाट उपन्यास सुरु हुन्छ, नाटकको पर्दा खुलेझैँ । मलिसालाई पर्खिरहेको दीपकका आँखाहरूले उपन्यासको सुरुमा नै कौतुहलता सृजना गर्न पुग्छ । नेपालको मध्यमवर्गीय परिवारमा हुर्किएको, त्रि.विबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर उत्तीर्ण गरी काठमाडौँका प्राइभेट कलेजहरूमा पढाइरहेको दीपक आम नेपालीको ‘सपनाको देश’अमेरिका पुग्छ । जुलाई २०,२००८ मा लेखक स्वयंको प्रतिबिम्ब देखिने दीपकले अमेरिका टेक्दादेखि अमेरिकाको जर्जिया युनिर्भसिटीबाट क्रियटिभ राइटिङ्गमा पढाइ सकेर अमेरिकालाई हैन, आफनै देश नेपाललाई सपनाको देश बनाउने अभिलासामा कतार एअरवेजको हवाइजहाजमा आन्ध्र–महासागरमा उडिरहँदा उपन्यास सकिएको छ ।
मान्छेका अपेक्षा र यथार्थबिचको द्वन्द्वलाई यस उपन्यासले यति नजिकबाट विचरण गर्न पुगेको छ कि, कमै मात्र उपन्यासले त्यस उचाइलाई छोएको छ र उपन्यासको सुरुवातमा पात्रमा पस्न केही समय पक्कै लागेको हो । १५–२० पेज पढेपछि मात्र दीपकको अनुभूतिमा एकाकार हुन पुगियो भने दसैँको बेला नेपालबाट बुवाको फोन आउँदा, चरम आर्थिक कष्टमा आमा बिरामी भएर उल्टै नेपाल पैसा पठाउने अवस्था सिर्जना हुँदा, बाटोमा दुई जना आवारासँगको भिडन्त र त्यसपश्चात् दीपकको अनुभूति, बिरामी भई विकासकोमा भएको काम पनि छुट्दै गर्दा आँखाबाट आँसुहरू यदि कुनै पाठकको टप्कँदैनन् भने कि त्यसले उपन्यासलाई राम्ररी पढेन, कि उसमा बुझ्ने सामर्थ्य नै छैन भन्दा फरक नपर्ला ।
मैले धेरै यथार्थवादी उपन्यासहरू पढेको छु तर पात्र आफूजस्तै आफू नै अनुभूति भएको उपन्यास अत्यन्तै कम छन् । त्यो उपन्यासको कोटीमा यो उपन्यास पाएँ । मैले तुलसीजीलाई धेरै फुर्काउनु नै छैन तर सामान्य विषयवस्तुको यति गहिरो प्रस्तुति कमै मात्र सिर्जनामा पढ्न पाइन्छ । उपन्यासमा रोमान्स प्रस्तुत छ तर त्यसले यसरी यथार्थ प्रस्तुत गरेको छ कि त्यो रोमान्स होइन यथार्थ हो, कुनै बनावटी देखिँदैन । शायद मलाई यो लेखकको अत्यन्तै यथार्थ जीवनका अनुभूति र घटना हुन् भन्ने लागेर हो, उपन्यासमा प्रस्तुत त्यति विघ्न रोमान्स पनि यथार्थ नै देखेको । तर प्रेमपरक दृष्टिले हेर्दा यो यथार्थवादी भन्दा स्वच्छन्दवादी उपन्यास हो भन्ने आधार प्रशस्त देखिन्छन् ।
लुकास र भनिसाको प्रेम नै उपन्यासको रोमान्स तथा प्रेममय पाटो हो । उनीहरूको प्रेमको अगाडि दीपक र मलिसाको प्रेम छायामा पर्छ । भावविहीन, उत्तेजनाहीन । शायद दीपकको प्रतिबिम्ब लेखक स्वयं भएर आफ्नो आदर्श र नैतिकता देखाउन बहाना गरेको हुनुपर्दछ । होइन भने पहिलो पटक देख्दा नै मन परेकी मलिसा र दीपकको प्रेममा उत्साह कहीँ देखिँदैन । दुई वर्षपछि पनि औपचारिकताको सम्बन्ध । यदि मलिसाले पनि दीपकलाई सुरुदेखि नै प्रेम गर्थी भने स्थिति लेखकको लेखभन्दा फरक हुन्थ्यो । तर प्रस्तुति यथार्थपरक नै लाग्छ । तर यी दुईको सम्बन्धलाई पुनर्विचार गरेकै राम्रो ।
उपन्यासको अर्को सशक्त पाटो भनेको अमेरिकी सपना र त्यसको विघटन हो । यसले अमेरिकी समाजकाे विरूपता र पुँजीवादकाे मूल्यहीन मूल्यहरूको प्रस्तुति पाइन्छ। बाटोमा आवाराहरूको आक्रमणबाट झन्डै ज्यान जोगाएर अपार्टमेन्टमा आएपछि डेबिटसँगको उसको वार्तालाप यस उपन्यासको निष्कर्ष हो । त्यहाँ पीडा छ, दर्शन छ, जीवनको अस्तित्वको खोजी छ, घृणा छ, आफ्नोप्रतिको माया सबै एकै ठाउँमा छ ।
मृग मरिचिका जिन्दगीका असफल सपनालाई उपन्यासले नजिकबाट बोध गराउँछ । गणेशलाई देख्दा घृणा, प्रेम, दया, आक्रोश एकैचोटी निस्कन्छ, कति यथार्थ र सुन्दर पात्र । अनि मानवता हप्ने बजारमा विकासको मानवीय स्वभाव र प्रवृत्तिले पूर्वीय दर्शन र चिन्तनले प्रदत्त मनोवृत्तिको अनुभूत गराउँछ । रिता दिदी अमेरिकामा बसेकी नेपाली चेली हुन् भन्ने उनको खुलापन र बन्दपन एकैसाथ प्रस्तुत गरेबाट बोध हुन्छ । आफ्ना पीडा, दुःखलाई आफैँभित्र बन्द गरेकी रिता दिदी भावपूर्ण सुस्केरा र छोटा दुःखपूर्ण अभिव्यक्ति मार्फत गर्छिन् भने अन्य विषयमा उनको बोली रोकिँदैन । यथार्थ जीवनमा पूर्ण नायक तथा खलनायक कोही पनि होइन र हुन सक्दैन । उपन्यासमा त्यही कुरालाई सङ्केत गरिएको छ । आप्रवासी जिन्दगीलाई सपना पूरा गराउने खुट्किलो बनाउन कति गाह्रो छ भन्ने कुरा नेपालबाट कसरी पो अनुभूत हुन सक्थ्यो र !
यस उपन्यासमा बेलाबखत प्रयोग भएका अश्लील शब्दहरूले उपन्यासको भाषालाई यथार्थपरक त बनाएको छ तर त्यही भाषाले उपन्यासको स्तरलाई भने घटाएको महसुस गरेको छु । अङ्ग्रेजीमा धेरै अश्लील शब्दहरूलाई नेपाली सहज नै लागे पनि नेपाली भाषाको उपन्यासमा नेपालीमा नै अश्लील लाग्ने शब्द नराख्दा राम्रो । ती शब्द त्यहाँ राखेका कारण बौद्धिक पाठकलाई त ठिक लाग्ला , आम पाठकलाई लाग्दैन । त्यसलाई त्यहाँबाट निकालिदिएर पनि भाषाको मर्म मर्ने म देख्दिनँ ।
आदर्शको कहीँ कुरा नगरे पनि आफ्नै देश प्यारो भन्ने आदर्शलाई हृदयबोध हुने गरी र कानै फुट्ने गरी चिच्याएको छ उपन्यासमा । यो उपन्यासको अत्यन्तै सबल पक्ष हो । पात्रहरूसँगको आत्मसातीकरण पनि उपन्यासको विशेषता मानिन्छ। भाषा, शैली र शब्द चयन यथार्थपरक छन् । बेला– बेलामा प्रयुक्त अङ्ग्रेजी भाषाले उपन्यासको भाषालाई मिठो बनाएको छ ।
पढिसकेपछि मैले आफूलाई यस पुस्तक पढ्न पाएकोमा धन्य अनुभूत गरेँ । लेखकलाई धन्यवाद दिने त शब्दहरू नै छैनन् । सरल भाषामा सामान्य विषयमा राष्ट्रियता, सङ्घर्ष, सपना, जीवन अस्तित्व, प्रेमलाई प्रस्तुत गर्न सक्नु ठुलो सफलता हो । मध्यम आकारमा गरिएको सिर्जनाले पाठकलाई न बोझ दिन्छ न त खल्लोपन । अझ युवाहरूलाई अन्धो सपना र त्यसको यथार्थलाई प्रस्तुत गर्न सक्नु ठुलो कुरा हो । लेखक तुलसी आचार्यजीलाई हृदयदेखि नै धन्यवाद । कमजोर पत्ता लगाउन खोज्दा धेरै राम्रो भेटिएपछि मैले यो समीक्षा लेखेको छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

