पर्वत जिल्ला फलेवासमा जन्मी, हाल अमेरिकामा रहेका उपन्यासकार महेश्वर पन्त नेपाली साहित्यका एक उज्ज्वल नक्षत्र हुन् । उनको पहिलो उपन्यास ‘फुर्लुङ’पछि आएको अर्को उपन्यास हो ‘बहुलाको डायरी’ !
गएको मे महिना २०२४ मा अनेसास पोर्चुगल शाखाले अन्तर्राष्ट्रिय कार्यक्रम गर्यो । त्यही कार्यक्रममा बहुलाको डायरी हात पर्यो । उपन्यास पढ्दै जाँदा सामाजिक यथार्थवादी उपन्यास हो कि हो कि जस्तो लाग्यो । र पनि अन्त्यसम्म आइपुग्दा यसलाई आलोचनात्मक यथार्थवादी उपन्यासको कोटीमा राख्न वाद्य भएँ । यस कोटीको उपन्यासको यथार्थ चित्रण गर्ने क्रममा विसङ्गति र विकृतिप्रति आलोचना गरिएको हुन्छ भने उपन्यासमा शोषित-पीडित तथा गरीबप्रति सहानुभूति दर्शाइएको हुन्छ ।
यस उपन्यासको विश्लेषण गर्दा सन्दर्भ हेतु हेर्नु आवश्यक हुन्छ । यो उपन्यास (२०७८) तेजबहादुर थापाघर्तीको बाल्यकाल देखिको गतिविधिलाई मुख्य रूपमा उभ्याएर विविध आरोह-अवरोह, दैनिक जीवनको समस्या, गरीबी, राजनीति, दलाली जनयुद्ध आदिलाई कोरोना कालखण्डसम्म ल्याउन सक्नु नै उपन्यासकार पन्तको खुबी हो ।
शीर्षकअनुसार उपन्यासमा बहुलाको जीवनकथा प्रस्तुत गरिएको छ । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा भेटिएको स्कूलब्याग सम्बन्धित व्यक्तिलाई दिन सकेनन् एकजना पत्रकारले । त्यही ब्यागभित्र तेजुको डायरी थियो । त्यै डायरी नै यस उपन्यासको कथावस्तु हो ।
पन्तले उपन्यासलाई २३ वटा शीर्षक र ३७ वटा उपशीर्षकहरूबाट फुलाएका छन् । उपन्यासको कथयिता प्रमुख पात्र तेजबहादुर थापा आएको देखिन्छ । उपन्यासमा सामान्य अनुभवदेखि गहिरो चिन्तनको पाइन्छ । यस उपन्यासले सन्देश दिनु, देशमा भएको विकराल जनजीवनलाई युगबोध गराउनु भन्दा समय क्रमको व्याख्या, स्थलगत विवरण र पत्र विशेषको वर्णन गरिएको छ । तृतीय दृष्टिविन्दुको प्रयोगबाट पनि पाठकलाई एकतमासले तान्न सफल भएको छ ।
‘फिरफिरे र राँगो’ शीर्षकमा धने र बिनोदलाई फिरफिरे बनाउन योग्य व्यक्तिको रूपमा चर्चा गरिएको छ । ग्रामीण पहाडी जीवन, तेजुकी आमा घाँसको भारी बोकेर घर आउँदै गर्दा फिरफिरे कुदाउँदै गरेको सानो उमेरको तेजु अचानक आमासँग ठोक्किन पुग्छ । आमा बेहोस भएको बस्तुगत अवस्थाबाट उपन्यास अगाडि बढ्छ । निम्नवर्गीय परिवारको सदस्य हो तेजु । उसका बा घर किसानी गरेर, गाईबस्तु पालेर, राँगो र बोको टुट् उठाएर आय आर्ज गर्छन् । तर पनि गुजाराको लागि आय पर्याप्त छैन । दुई तल्ले ईंटाको गाउँले घर, टिनले छाएको छ ।
‘बालखेल’ शीर्षकमा तेजु अन्य केटाकेटी झैँ सामान्य परिवेशमा हुर्किएको कथा छ । उसका साथीहरू, क्रमशः मीठूदिदी, नानी, सीता, बिनोद, धने, रिट्ठे आदि भएर गाईबस्तु चराउन जानु, विभिन्न परम्परागत बालखेल खेल्नुलाई रोचक पाराले उल्लेख गरिएको छ । यसै क्रममा ‘विवाह भई’ खेल खेल्नु, यौनजन्य गतिविधिमा तानिनु, दैनिक जीवनका कार्यहरू गर्नु, पुरुषहरू लाहुर जानु जस्तो बाल-खेलबाट उनीहरूको बालजीवन अगाडि बढेको छ । यसै शीर्षकमा खोलामा नुहाउने क्रममा मीठूदिदीको कपडा खोलाले बगाउनु, सेउला बेरेर घर जाँदै गरेकी साथीहरूसँग ओढारमा ओत लागेको बेला अपरिचित युवक आएर उनको बलात्कार गर्नु, घरमा मिठु दिदीले बद्नाम हुने डरले बलात्कार भएको कुरा नखोल्नु, बगेको रगतलाई पर सरेको भनी बुझ्नु, नछुनी भएपछि बढेकी छोरी राख्न नहुने अन्धविश्वासमा फुपूको घरडाँडा कटाएर उतैबाट मिठुको विवाह गरिदिएको कथा छ ।
तेजु सात वर्षको उमेर भएपछि स्कुल जान थालेको कथा ‘मेघा–प्रीति’ छ । स्कुलमा भारततिरबाट बसाइँ सरेर आएका मेघा शर्मासँग भेट हुनु, अध्ययनमा योग्य देखाइनु, मेघासँग अलि नजिक हुनु, पढाइ अगाडि बढ्ने क्रममा राज्य भन्ने पात्रले मेघालाई मन पराउनु, मेघालाई जिस्क्याउनु, तेजु र राज्यको झगडा पर्नु जस्ता बालापनका रोचक घटनाहरू आकर्षित शैलीमा प्रस्तुत भएको पाइन्छ ।
‘बाको सपना र कांग्रेस – राँगो’ शीर्षकमा कक्षा छ पछि डायरी लेख्न मन नलागेको पात्रको मनस्थिति, २००७ सालको युद्ध, कांग्रेस मुक्ति सेनाको चर्चा, २०१७ सालको कथा, गाँउभरी सबै कांग्रेस र त्यसको नेताहरूको चकचकी, तेजुलाई नवौँ कक्षामा भएका बेला शिक्षकहरूले मार्क्सवाद, लेनिनवाद, साम्यवादको शिक्षण गरेको वर्णन पाइन्छ । एसएलसी परीक्षाको तयारीको निम्ति सदरमुकाम जानुदेखि लिएर आर्थिक अवस्थाको संघर्ष यसमा छरपष्ट पोखिएका छन् ।
पाँचौ शीर्षक ‘स्याम्फुल माइला र च्यात्तिएको सपन’भित्र स्याम्फुल काकाको जीवन कथा छ । उनी घाँस काट्ने क्रममा भिरबाट खसेर मर्छन् । मिठू दिदी भारततिर लागेको र उनका बा आमा चितवन बसाइँ सरेको कथा पनि यसैभित्र छ । यसमा माओवादी जनयुद्ध चलिरहेको अनि सीडिओले तेजुलाई बोलाएर जनयुद्धमा नलाग्न चेतावनी दिएको, सदरमुकामको नदी किनारमा घरबेटीकी छोरी प्रेमिका सुमित्रालाई भेटेर गाउँ फर्केको तेजु सनिवार गाउँमा पुलिसलहरू आएपछि सुमित्रा लापत्ता भएको र साँझसम्म तेजुसँगै भएकाले सोधखोज अनुसन्धानका लागि सदरमुकाम लगेको कथाले पाठकहरूको मात्र नभई विद्रोही पक्षको समेत मन छुन्छ । सुमित्राको बलात्कारपछि हत्या भएको कारण दोष तेजुमा लगाएर झुट्टा मुद्दामा फसाइएको देखाइएको छ ।
‘जेलवास’ शीर्षकमा तेजुको जेलजीवनको परिबन्धित, कठोर चर्यालाई मूल कथावस्तु बनाएको छ ।
सातौं शीर्षक ‘बा निदाएपछि’मा तेजुका बाको स्वर्गारोहण पछिको परिदृश्य समेटिएको छ । बाको क्रियाका तेजुलाई योजनाबद्ध जनयोद्धाहरूले जनयुद्धमा होमिदिएको कथा छ ।
जनयुद्धसँगै गौरी र तेजुको वरिपरि घुमेको छ ‘युद्धमा गौरी र म’मा । यहाँ तेजबहादुर थापा घर्ती ‘कामरेड तारा’को भूमिगत नामले पार्टीमा काम गर्नु, पाटीको काममा पूर्णकालिक हुनु, जनयुद्ध भौतिक कारबाही आक्रमण जस्ता पार्टीले खटाएका कामहरू गर्नु, रुद्रप्रसाद आचार्य सरको भौतिक सफाया गर्नु आदि रहेका छन् । रुद्र सरको घट्नाको कारणले सेक्टर चेन्ज हुँदा सोह्र वर्ष उमेर पुगेकी कामीडाडाँकी सर्किनी गौरी नारायणघाटको बाटो भएर नाइट बस समातेर तेजुसँगै सुर्खेतको यात्रा गरेको देखाइएको छ भने यसै बीचमा हराएको गौरीको कथा पनि अचानक जोडिन आइपुगेको छ ।
नवौं शीर्षक ‘सुर्खेतमा चुनर थारु’मा उनीहरूले सुर्खेतमा गोप्य कम्ब्याट तालिम गरेको, बर्दिया गुलरियाको चुनर थारुसँगै पश्चिम तराईको कथा, फैकन कुमार खत्वेको पूर्वी तराईको कथा समेत एक आपसमा जोडिएर आएका छन् ।
मुख्य रूपले फैकन कुमारको एकल कथा हो ‘फ्याँकिएको फैकन कुमार’ । यहाँ क्रान्ति र युद्धको चर्को कुराहरू धेरै मात्रामा भेटिन्छन् ।
‘भोक र बले’मा दुर्गम बस्तीको बलेको जीवनवृत्त अकस्मात् भोक र रोगको भुँवरी बीच लम्पसार परेर रोएको छ गाउँ वरिपरिको परिदृश्य छ । बलेको मार्मिक कथा छ । प्युठान पुगेको बटालियनले विरोधी वयोवृद्ध नेतालाई बन्धक बनाएर आफ्ना मान्छे छुटाउने प्रयास गरेको कथा पनि यसैभित्र छ ।
बाह्रौं शीर्षक ‘फेरि दिल्ली सम्झौता’मा बाह्रबुँदे दिल्ली सम्झौताको परिवेश वरिपरि छ । यसभित्र दलेदाइसँग तेजुको सम्पर्क हुनु, सेना समायोजनका नाममा पाएको केही लाख रुपियाँ सकिएर हातमुख जोर्न समस्या आउनु, डल्लुको विष्णुमति खोला किनारमा सुँगुरको खोरजस्तो घर भाडामा लिनु, बीकम पास गरेको तेजप्रसाद काठमाडौंको गल्लीहरूमा भड्किएको कथा छ ।
काठमाडौंको परिवेशमा तेजुको संघर्ष कथा र विदेश जाने सोच पाइन्छ – ‘मेरो काठ्माडौं’ भन्ने शीर्षकमा ।
उपन्यासको चौधौं शीर्षक ‘बन्धकीमा पुर्खा’मा नेपालको आर्थिक अवस्थालाई नाजुक र राजनैतिक अवस्था अस्थिर रहेको देखाइएको छ ।
पन्ध्रौं शीर्षक ‘भान्सामा सुगन्ध’ उनीहरूको पेशा र जीवन शैलीसँग सम्बन्धित छ । यहाँ तेजु र गौरी सुँगुरको खोर जस्तो घरबाट डेरा सरेर अलि राम्रो ठाउँमा बसेको प्रसङ्ग आएको छ । दलेदाइसँग मिलेर दलाली गरेर आएको रकम र ट्युसन पढाएर आएको सानो रकमले जीवन गुजाराको अवस्था अलि माथि उक्लेको छ । दलेदाइ मानव तस्करीबाट सुन तस्करीतिर लागेको छ भने तेजुको औकात लगभग पहिले जस्तै देखाइएको छ ।
‘दलाल र दलेदाइहरू‘ मा दलालीको प्रकरण झन्डै झन्डै भुटानी प्रकरण हो कि भनेर शंका गर्ने ठाउँ पाठकहरूलाई छोडिएको छ ।
सत्रौँ शीर्षक ‘संघर्षको न्वारान’ यहाँ १०– १२ वर्षको उपचार पछि गौरी स्वस्थ भएकी छे, तेजुले उसलाई समय दिनु, दुई ज्यानकी हुनु, दलाली गरिरहनु, भिसा लगाइदिनु, रकम कमिशन खानु, ग्राहकको रकम फिर्ता गर्न नसकेपछि धुलाई खानु, छोरीको जन्म हुनु, २०७२ वैशाख १२ गते न्वारान गर्दैगर्दा भूकम्प आएर पुरेत भाग्नु, आफैले छोरीको संघर्ष नाम राख्नु, भूकम्पले पारेको कथा समेटिनु, आमा गाउँबाट काठमाडौं ल्याउनु, गौरीले पकाएको नखानु, चन्द्रसर गाउँमा जिल्ला अध्यक्ष हुनु, सुमित्रा बलात्कार र हत्या केसमा तेजुले सफाइ पाउनु,वाल्यकालको विस्मृतिमा हराउनु, घर गाउँ छोड्दाको कथा झल्झल्ती सम्झनुले कथालाई लय दिएको देखिन्छ । अनि यसैभित्र महिला योद्धाहरूको बलात्कारको कथा पनि परेको छ ।
तेजु दलालीको क्रममा मान्छे छोड्न विदेश जाँदा भोग्नु परेको दुख र उसले भोगेको असफलताको कथा रहेको छ ‘जिन्दगीको जुवा: वार कि पार’ ।
‘तल्लो बाटो र माओवादी सुरुङ युद्ध’मा हिंडेर अमेरिका पुग्ने योजना ट्रम्प सरकारले कठोर बनाएर रोक्नु, समातिएकाहरूलाई देश फिर्ता पठाउनु, दलेदाइ दिल्ली भाग्नु, तेजु पनि पुरानो दिल्ली भाग्नु, त्यहाँ दलेदाइको खोजी हुनु, विदेश पठाउने नाममा विष्णुभक्तले तेजुको पैसा खानु, रेस्टुरेन्टमा काम थाल्नु, ट्युसन पढाउनु, होटलमा वेटर बन्नु, छोरीसँग फोनमा कुरा गर्नु जस्ता कथा छन् ।
‘भारत बन्द’, ‘कोरोना वर्णन’, ‘कम्युनिस्ट आन्दोलनका प्रभाव’, ‘अन्तिम झाप्का’, आदि शीर्षकहरूमा भारत बन्द भएको, कोरोनाको संक्रमण बढेको, लकडाउन भएको, कसैले नपाएको दुख पाएको, तेजु भैरहवामा क्वारेन्टाइन बसेको, दलेदाइ कोरोनाले मरेको, भैरहवामै फोनको ब्याट्री चार्ज गरेपछि काठमाडौं गौरीसँग कुरा गरेको विक्षिप्त पार्ने कथाले पाठकको दिमाग पक्कै खलबल्याउनेछ ।
तेजु र गौरी यस्तै पात्र हुन् । तेजुले के सोचेको थियो आज के हुँदैछ ? मनमा कुरा खेलाइरहन्छ, गौरी र उसकी छोरी लापत्ता छन् । तेजु पूर्ण रूपमा विक्षिप्त भएको देखाइएको छ । खासमा ऊ पागल नहुँदा सम्मका सबै कुरा उसले डायरीमा टिपेको छ ।
‘अन्तिम झाप्का, रोचक अन्त्य’ मा तेजप्रसाद घर्तीको डायरी पत्रकारले पढी, प्रकाशकलाई फोन गर्छन् । प्रकाशकले पुस्तकाकार कृतिका रूपमा ‘बौलाहाको डायरी’ नामक उपन्यास प्रकाशन गरेको कथा छ । यसमा पत्रकार बनेका पन्त सफल छन् ।
तेजबहादुर थापा उपन्यासको प्रमुख पात्रको रूपमा कथावस्तुको शुरूदेखि अन्त्यसम्म आएको छ । कथा पनि तेजबहादुरकै वरिपरि घुमेको छ । गौरी प्रमुख नारी पात्रको रूपमा देखा परेकी छे ।
उपन्यासमा कथावस्तुको विकाससँगै चितवन बुटवल लगायत विभिन्न ठाउँहरूको वर्णन पाइन्छ । माओवादी जनयुद्धभन्दा अगाडिको पर्वत, वागलुङ ,गुल्मी जस्ता पहाडी जीवन हुँदै जनयुद्ध कालको रुकुम, रोल्पा जस्ता ठाउँहरूमा भएका युद्धको चित्रण र जनयुद्धपछिको चितवन, काठमाडौं, दिल्लीसम्मको परिवेशलाई समेटिएको देखिन्छ । कोरोना कालखण्डको समय पनि परेको हुनाले त्यसले पारेको असरको पनि चित्रण उपन्यासमा भेटिन्छ ।
बौलाहाको डायरी पढि सक्दा यो वा त्यो रूपमा नेपाली समाज परिवर्तनको दिशामा अगाडि बढेको देखिन्छ । त्यो परिवर्तनको निष्कर्ष यहाँ सकारात्मक क्षेत्रबीच पनि नकारात्मक भएर आएको छ । उपन्यासमा नाबालिका मीठूदिदीको बलात्कार र त्यसले जन्माएको समस्याको समाधानका निम्ति एक उत्पीडित मिठुलाई घरडाडाँ कटाउनु, किशोर कालमै विवाह गरिदिनु, र भारततिर पलायन हुनु, उनका बा आमा चितवनतिर बसाइँ सर्नु कुनै समाधान होइन । यहाँ विद्रोह वा कानूनको सहारा लिनबाट लेखक पनि चुकेको देखिन्छ ।
समग्रमा हेर्दा यस उपन्यासले समाजको सजीव चित्रण उतारेको पाइन्छ । जबकि सावित्रीको मृत्यु तेजबहादुरलाई लगाउनु जस्ता घटनाहरूले प्रस्ट्याएका छन् । यस अर्थमा सामान्य मानिस समाजको विसङ्गत परिस्थितिले बौलाहा बन्दछ भनेर देखाउनु नै उपन्यासको महत्त्वपूर्ण सन्देश हो । यति हुँदाहुँदै पनि भन्न मन लाग्छ, प्रमुख पात्र तेजबहादुर हरेक क्षेत्रमा योग्य भएपनि अन्त्यमा अत्यन्त निरीह प्रमुख पात्र बनाएर उपन्यासकारले पागल घोषणा गरेका छन् ।
पात्र र परिवेश अनुसारको भाषाशैलीको प्रयोग उपन्यासको प्रमुख विशेषता हो । तेजबहादुरले मानक नेपाली भाषाको प्रयोग गरेका छन् भने अन्य पात्रहरू आफ्नै स्थानीय भाषिकाको प्रयोगमा तंग्रिएका छन् । स्याम्फुल काका भारत बसेका हुनाले भाषा प्रयोगमा उतैको शब्द मिसाएर प्रयोग गर्छन् । फैकन कुमार, चुनर थारु जस्ता तराई मूलका पात्रहरू तराईकै नेपाली भाषाशैलीको प्रयोग गर्दछन् ।
विषयवस्तुको आधारमा यो सामाजिक उपन्यास हो । राजनीति र माओवादी बिद्रोहसँग जोडिएको भएपनि त्यसले पारेको सकारात्मक र नकारात्मक प्रभाव व्यापक भएकाले यसलाई सामाजिक यथार्थबादी उपन्यास भन्न उचित होला ।
यसरी देश र समाजले नागरिकहरूलाई कसरी बौलाहा बनाउँछन् र प्रवासमा छरिन बाद्य बनाउँछन् भन्ने उदाहरण हो – बौलाहाको डायरी । नेपाली समाज भित्रको भत्कँदै गएको आशाको सञ्चार गराउने उपाय के हुन सक्ला ? त्यसको जिम्मा उपन्यासकार पन्तले पाठकलाई नै छोडेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ माघ २०८२, बिहीबार 










