
केही साता अगाडि नेपाली सिनेमाका महानायाक राजेश हमालद्वारा विमोचित उपन्यास ‘स्वप्नभूमि’ पढेर सिध्याएँ। यस उपन्यासका सर्जक तुलसी आचार्यको पछिल्लो उपन्यास ‘मोचन’ निकै चर्चामा आएको थियो तर पढ्ने अवसर जुरेन। तुलसी आचार्यलाई मैले पढेको थिइनँ। यहाँको ‘स्वप्नभूमि’ पढेपछि केही शब्द गाँसेर प्रतिक्रिया दिन इच्छा लाग्यो।
उपन्यास पढ्न अर्कै आनन्द हुन्छ जुन चाहिँ अरू विधामा पाइँदैन। विभिन्न पात्रको चरित्रचित्रण, कथाको गहराइ, रोचक एवम् व्यापक कथावस्तु, असीमित वर्णन गर्ने स्वतन्त्रतामार्फत भाषाशैलीको विस्तार र शिल्प तथा विशेष उद्देश्यको उपस्थितिले पाठकको पाठकीय चेतलाई आकर्षित गर्दछ।
१९५ पृष्ठको आयतनमा अन्त्य भएको ‘स्वप्नभूमि’-ले समसामयिक ज्वलन्त सन्दर्भमा प्रकाश छरेको छ। पहिलो पाना पल्टाइसक्दा उपन्यासको कथा आरम्भ भइहाल्छ। भूमिका, उपन्यासकारको टिप्पणी, सन्देश पढ्ने या अवलोकन गर्ने केही लेठा-टन्टा छैन। सिधै ‘स्वप्नभूमि’ मा पस्ने सफा-चिट्ट बाटो पाइन्छ। यो तरिका अलिक भिन्न र फरक ‘स्वप्नभूमि’मा पाइयो।
‘स्वप्नभूमि’ उपन्यास दीपक नामक पात्रको नेपालदेखि अमेरिका गएर पढाइ र पढाइका लागि पैसा अर्जन गरेको संघर्षमय यात्रा हो।
‘स्वप्नभूमि’ को स्वप्नहरू बात मार्नु अघि दुई कुरामा ध्यानाकर्षण गराउन मन लाग्यो। गरिब र विकासशील देशका नागरिक पढाइ र धनार्जनको निहुँमा विदेश जाने क्रम आजको परिप्रेक्ष्यमा एक्दमै सामान्य भएको छ । उपन्यासको मुख्य पात्र दीपक नेपालको हुनाले नेपालकै उदाहरण लिन चाहेँ। अहिलेको समयमा नेपालका प्रायः युवायुवतीको मुख्य जागिर भनेको विदेशिनु हो। प्रायः कक्षा दस-बाह्र पढेर विदेश पस्नु सबैको रहर अनि कर भइसकेको कसैबाट लुकेको छैन। औसत सबैको घरबाट एक न एक जना खाडी-देश, भारत, अस्ट्रेलिया, कोरिया, जापान, युरोप या अमेरिकामा जागिर गर्न जान्छन्। नागरिकता पाउन मिल्ने देशमा त्यहीका नागरिक भएर बस्नेहरूको पनि ताँतो बढेको छ ।
नेपालमा विदेश पस्ने क्रमको इतिहास झन्डै दुई सय वर्षको छ । एकचोटि नेपाल भ्रमणमा गएको बेला एकजना वरिष्ठ पत्रकार सह-साहित्यकारले भनेका थिए, ‘नेपालको परिस्थिति एकदम सोचनीय र चिन्तनीय बनेको छ । उच्च पढेलेखेका धनीवर्गहरू युरोप-अमेरिका जान्छन्, यीभन्दा तल्लो वर्गका अस्ट्रेलिया, कोरिया, जापान जान्छन्, थोरै पढेका र केही पैसा लगाउन सक्नेहरू खाडी देश पस्छन्, गरिब र बाध्यताले विदेश पस्नुपर्नेहरू भारत जान्छन् र रहेका अनपढ, गुन्डाजस्ताले नेपाल चलाउँछन्। यो पाराले कसरी देश विकास हुन्छ ?’
मैले पनि उहाँको उदासीमा आफ्नो उदासी मिसाइदिएँ । कुरा गर्ने क्रममा मैले सोधेँ, ‘घरमा तपाईं र तपाईंकी श्रीमती मात्र देख्छु, छोराछोरी कता हुनुहुन्छ ?’
उत्तर पाएँ, ‘छोरो पाँच वर्षदेखि अस्ट्रेलियामा छ, छोरी पनि यही वर्ष अस्ट्रेलिया गएकी छिन् । के गर्नु नानीहरू देशमा बस्न मान्दैनन् ।’
यहाँलाई ‘ए !ए !’ भनेर जवाफ दिए ता पनि मनैमन भनेँ- ‘देशको विकास र कृपा यही रोकिएको रहेछ।’
नेपाल गरिब देश, अमेरिका सुसम्पन्न विकसित देश । पृथ्वीका कुनाकुनाबाट पढाइ गर्न र सुखसुविधा भोग्ने स्वप्न बोकर यहाँ आउँछन्। कुनै पनि व्यक्तिलाई अमेरिका जानु, त्यहाँ कार्य गर्नु, त्यहाँको भौतिक सुखसुविधा प्राप्त गर्नु, सोचेर एकचोटि उसलाई स्वर्ग नै गएको अनुभव लाग्छ । नेपाल देशको दीपक नामक पात्र पनि अमेरिका गएर पढाइ गर्ने, धेरै पैसा कमाएर बाबाआमालाई सुख दिने, गाडी-बङ्गला किन्ने, यहाँसम्म कि हलिउडमा फिल्म खेल्ने पनि स्वप्न देख्छ ।
नेपालमा अङ्ग्रेजीमा स्नाकोत्तर गरेको, अध्यापन गर्दै गरेको दीपकले अमेरिकी स्वप्न साँचेर अमेरिका जान तातिन्छ । गरिब आमाबाबाको एक्लो छोरो अमेरिका जानलाई मोटो ऋण काढेर स्टुडेन्ड भिजा लगाउँछ । आई-२० प्राप्तिका लागि बैङ्क स्टेटमेन्ट फर्जी बनाउँछ । छरछिमेकी, इष्टमित्र खुस, आमाबाबाको नाक ठुलिन्छ। अमेरिका जानु भनेको ठुलो उपलब्धि मान्छ समाजले। दीपकजस्ता पात्रले पढाइ गर्ने भिजामा गए पनि घरकाले, समाजले जागिर गर्न, पैसा कमाउन नै गएको ठान्ने गर्छन्। दीपक पात्रले पनि पढाइको निहुँले अमेरिका छिर्ने अनि अमेरिकी स्वप्न साकार गर्ने योजना बनाएको हुन्छ।
दीपक अमेरिका छिर्छ। एटलान्टाका ठुलाठुला बिल्डिङ्ग, सडक देखेर अतालिन्छ। उसले यस्तो भव्य सहर देखेको हुँदैन। खुसीले छाती चैडिन्छ। उपन्यासकारले एटलान्टा शहरको भव्यतालाई मजाले वर्णन गरेका छन्। दीपकको माध्यमाबाट नेपालको काठमाडौँसँग तुलना पनि गर्छन्। दीपकले अमेरिका पुगेपछि प्रत्येक वस्तुलाई नेपालसँग तुलना गर्छ, नेपालको स्थिति निम्न पाउँदा दुःखित हुन्छ। अमेरिकाको विकसित परिवेश देखेर नेपालका नेतालाई कोस्छ। अमेरिकी बासिन्दाको अनुशासन, शालीनता, सुमधुर बोलीचाली देखेर आकर्षित हुन्छ।
दीपकले अमरिकाको दैनिकी जीवन जिउन थालेपछि मात्र त्यहाँको वास्तविक यथार्थबाट अवगत हुन लाग्छ। कसैलाई नचिन्नु, त्यहाँको व्यवस्था नजान्नु, आमाको हातबाट मिठो खाना खाएको अमेरिकामा केही दिन मन नलागी थोरै सेन्डबिज र पिज्जा खाएर भोकै सुत्नु जस्ता समस्याले जकड्न थालेपछि उसले परिवारको महत्व, देशको मूल्य बुझ्दछ। अमेरिका गएको आरम्भिक दिनमै ऋण काढेर ल्याएको पैसा सकिन लाग्छ, कलेजमा पहिलो सेमेस्टर रेजिस्टर गर्ने पैसा नहुँदा नेपाल फर्किने डर हुनु, गइसक्दा काम खोज्न लाग्नु नै दीपकका संघर्ष र कष्टका दिन सुरु हुनु हो ।
यो सन्दर्भमा ध्यान दिने के कुरा छ भने, अमेरिकाले आर्थिक क्षमता देखेर पढ्न आई-२० दिएको हो तर विद्यार्थीले आरम्भको दिनमै कलेजको खर्च गर्न नसक्नु कतै दीपकले गरिब देशको परिचय दिएको त होइन ? जस्तो पनि पाठकलाई लाग्छ । नेपाली एवम् गोर्खाली पाठकलाई पीडा पनि लाग्छ । विदेश गएपछि प्रत्येक व्यक्ति आफ्नो देशलाई प्रतिनिधि गर्छ । कहिले चाहिँ दीपकजस्ता पात्र पढ्न मात्रै भनेर अमेरिका देश पस्ने ? फर्केर आई आफ्नो देशको विकासमा अगाडि सर्छन् ? उपन्यासले झक्झक्याएको छ ।
दीपकले काम पाउँछ । काम पाउन पनि अनैतिक तरिका नअपनाई हुँदैन । दीपकको इम्प्लोइकोड नम्बर नहुनाले उसलाई अमेरिकीले काम दिँदैनन्। यिनीहरूले सरकारले बनाएको नियमलाई कठोरतासँग पालना गरेको बुझिन्छ। तर अमेरिकामा व्यवसाय गर्ने विकास नामको व्यापारी, बङ्गालबाट आएकोले कम्ती पैसा दिने लोभमा अवैद्य तरिकाले दीपकलाई कार्य दिन्छ। यहाँ पनि ध्यान दिने के कुरा छ भने, के एसियाली गरिब देशका नागरिमा नै अवैद्य एवम् छल गर्ने प्रवृति हुन्छ ? उपन्यासको उपकथावस्तुमा यो सन्दर्भले पाठकको ध्यान आकर्षित गरेको पाइन्छ।
दीपकले बल्लतल्ल काम पाउँछ तर कार्य हुन्छ भाँडा माज्ने, झाडुपोछा लगाउने आदि । सुरुमा उसलाई यी कार्यले अति आत्मग्लानि लाग्छ । ठेस लाग्छ । घृणा लाग्छ । यसै पनि दीपक नेपाल हुँदा अध्यापक थियो, इज्जतको कमाइ खान्थ्यो, समाजमा मान-सम्मान थियो तर अमेरिकामा उसले नसोचेको काम गर्नुपर्छ तर अमेरिकी स्वप्न पूरा गर्ने उसको स्वप्नले उसलाई सकारात्मक ऊर्जा दिन्छ।
दीपकले एकदिन यो गुनासो रीता नामकी पात्रसँग राख्दा दीपकलाई यसो भनेर हौसला बढाउँछे- ‘म नेपालमा हुँदा स्कूलमा पढाउँथेँ । तर के गर्नु एक वर्षमा कमाउने पैसा म यहाँ स्यान्डबिच बेचेर, भाँडा माझेर एक महिनामै कमाउँछु । नेपालका सरकारी जागिरे, सेक्सन अफिसर त यहाँ भाँडा माझ्छन् । भाइ ! अमेरिकामा प्रायः नेपालीले भाँडा नै माझ्ने हो नेपालमा जतिसुकै शिक्षा लिए पनि । एउटा मन्त्रीले कमाएभन्दा बढी म यहाँ भाँडा माझेरै कमाउँछु ।’
उपन्यासकारले बिचबिचमा दार्शनिक, लेखक व विद्वानहरूका प्रेरणादायी विचार व सन्देश दीपकको माध्यमबाट राखेर दीपक र पाठकलाई जीवनमा संघर्ष गर्न उत्प्रेरित गरेका छन्। उपन्यासकारका यस्ता शिप अति विशिष्ट लाग्छ उपन्यासमा डुबुल्की लगाएको बेला। दुई प्रेरणादायी प्रसङ्ग यहाँ टाँसे उपन्यासबाट-
‘इम्यानुअल कान्टले भनेजस्तो समय र ठाउँअनुसार हरेक वस्तुको फरक अर्थ हुन्छ र त्यो परिवर्तन भइरहन्छ।’
दार्शनिक फ्रेडरिक नित्सेले भनेको सम्झियो, ‘वास्तविक जीवन त दुःखदायी नै छ। जीवनको उद्गम नै दुःखान्त हो। यो वास्तविकता हो।’
===
दीपक पात्रको चरित्रचित्रण यति राम्ररी भएको छ कि जसको पात्रमा चढेर उसको प्रत्येक पाइलामा हिँडिन्छ। दीपकलाई केही दिनमै विकासले कामबाट निकालिदिनु, काम खोज्दा धेरै ठाउँठाउँ ठोकर खानु, बिमार हुँदा तातो पानीसम्म दिने नहुनु, एकरात गुन्डाबाट ज्यान बाँच्नु, घरमा आमा बिमार हुँदा पैसा भेला पार्न कष्ट पर्नु, घरमा भएर आमाको सेवा गर्ने उत्कट इच्छा हुनु जस्ता समस्याहरूले चेपेको देख्दा उसलाई किन पो अमेरिका आइछु भन्ने लाग्छ तर अमेरिकी स्वप्नको अगाडि ऊ नतमस्तक भइदिन्छ।
उपन्यासमा दीपकको मुख्य पात्रबाहेक अरू केही सशक्त पात्र छन् जसले आफ्नो महत्व राख्दै उपन्यासको कथावस्तुमा विविधता दिएका छन्। केही मुख्य पात्रको विश्लेषण छोटकरीमा राखेँ-
मलिसा- मलिसा अमेरिका देशकी, दीपकसँगै पढ्ने कक्षासहपाठी हो। दीपकलाई सुरुमा अङ्ग्रेजी पढ्न, बोल्न सिकाउने गर्छे। एकदमै मिलनसार एवम् सहयोगी प्रवृत्तिकी हुन्छे। दीपक र मलिसा प्रेम-सम्बन्धमा बाधिन्छन्। आफ्नो धर्म र आस्थाप्रति कट्टर विश्वास राख्ने अनि परिवारको खुसीमा आफ्नो खुसी देख्ने एउटी अनुशासित केटी हुन्छे। उसले दीपकको स्वार्थपरायण प्रवृत्ति देखेर प्रेमविछोड गर्छे। यहाँ उसको यथार्थवादी सोच देखिन्छ। दीपकलाई निस्वार्थ सहयोग दिएर अप्रवासीप्रति कारुणिक भाव राख्ने व्यवहारिक पात्रको क्षेत्रमा आउँछे मलिसा।
लुकास र भेनिसा- लुकास र भनिसा अमेरिकामा स्पेन र पेरूबाट पढाइका लागि आएका विद्यार्थी हुन्। यी दुवै लिभिङ्रिलेसपसीपमा बस्छन्। यिनैको कोठामा दीपक साझाकोठाको रूपमा बस्छ। लुकास र भेनिसा आपसमा प्रेम गर्छन्। भनिसाको भनाइअनुसार पछि गएर विवाह गर्ने योजना दुवैको छ। उपन्यासकारले दुवै प्रेमिकाको प्रेमिल सम्बन्धलाई बिचबिचमा राखेर पाठकलाई रुमानी बनाउन प्रयास गरेका छन्। भनिसा असल, मानवता र गुनकारी चरित्रकी छे। सुरुमा दीपकलाई भनिसाले सबै कुरामा मद्दत गर्छे। ऊ बिमार भएको बेला दिदीसमान ख्याल राख्छे। लुकास भने अलिक भिन्न र ईर्ष्यालु चरित्रको देखिन्छ। कामुक प्रवृत्तिकाे देखिन्छ। दीपकको अगाडि पनि वास्तै नगरी शरीरिक सम्बन्ध राख्ने प्रवृत्तिको छ । उसले पनि दीपकलाई आइपर्दा सहायता गर्छ । अन्त्यमा दुवैको प्रेम सफल हुँदैन । लुकासले भनिसालाई यौन सन्तुष्टिका लागि मात्र प्रयोग गरेको हुन्छ। यी पात्रले अमेरिका एवम् वर्तमानमा मौलाउँदै गरेको आधुनिकी परिवेशको यथार्थलाई चित्रण गरेको पाइन्छ।
गणेश- गणेश नेपालबाट स्टुडेन्ट भिजामा गएको पात्र हो। ऊ अमेरिकामा रमेको, त्यहीँको वातावरणमा ढलेको हुन्छ। उसको बोली, पहिरन त्यहीँअनुरूप भएको हुन्छ। कुराकुरामा अङग्रेजीका अभद्र शब्द प्रयोग गर्ने उसको थेगो बसको हुन्छ। ऊ नेपाली गीतभन्दा अङ्ग्रेजी गीत सुन्न मन पराउँछ। नेपालको बासिन्दा भए पनि उसले अमेरिकी भएको ढोँग गर्न रुचाउँछ। व्यवहारमा तितो स्वभाव भएको गणेश नेपालबाट आएका विद्यार्थीलाई सहायता गर्ने मनकारी हुन्छ तर उसको रुखो स्भावले खासै अरूले मन पराउँदैनन्। दीपकलाई यसैले विकासको स्टोरमा काम लगाइदिन्छ। नेपालबाट गएर अमेरिकाको अनुरूप ढालिने, ढोँग गर्नेहरूको चरित्रलाई गणेशले प्रतिनिधि गरेको छ तर अन्त्यमा दीपकले गणेशलाई लुकेर नेपाली गीत सुन्दै गरेको, बहिनीको सम्झनामा आँसु झारेको देख्दा लाग्छ कि स्वदेशबाट जति नै विकसित देशमा गएता पनि आफ्नो देशको संस्कृति, भाषा र माटोको मायाको मूल्य अर्कै हुन्छ ।
रीता- रीताको पात्र उपन्यासमा निकै महत्त्वपूर्ण छ। ऊ पनि नेपालबाट आएकी एउटी महिला हो। निकै साल अमेरिकामा बसेर काम गर्न, यहाँको परिवेशबाट परिचित भएकी छे। व्यवहार कडा मिजासको छ तर दीपकजस्ता नेपालीहरूलाई आउँदा मद्दत गर्छे। रीताको पात्रले अमेरिकामा बस्ने नेपालीहरूको वास्तविक स्थितिबाट परिचय गराउँछ। नेपालका कति पढेलिखेकाहरू पनि अमेरिकामा आएर के काम गर्छन् भन्ने उपन्यासमा दर्शाएको छ। रीताको पात्रमा उपन्यासकारले एउटा ठुलो सन्दर्भलाई उजागर गरेको पाइन्छ। रीता नेपालमा अध्यापिका, गाडी-बङ्गला भएकी हुन्छे तर ऊ अमेरिकामा गएर भाँडा माझ्ने काम गर्छे। नेपालमा धनवान् भएका नेपालीले पनि अमेरिका गएर भाँडा-माझ्ने, सफाइ गर्ने जस्ता कार्य गरेको कहाँसम्म उचित हो ? उपन्यासकारले यस्ता नेपाली जनतालाई झटारो हानेका छन्।
डेभिड- अमेरिकमा पढ्न आएको विद्यार्थी। दीपकको दोस्रो कोठासहपाठी। उसले दीपकलाई निकै मद्दत गर्छ। उसकी आमा बिमार हुँदा अमेरिकी स्वप्न र यहाँको कष्टदायक जीवन छोडेर आमाको सेवा नै सर्वोच्च दायित्व मानेर स्वदेश पस्छ। दीपकले डेभिडबाट सिक लिन्छ तर ऊ अमेरिकी स्वप्नबाट भाग्न सक्दैन।
उपन्यासकारले दीपकको काँधमा बन्दुक राखेर बिचबिचमा नेपाल र अमेरिकाको तुलना गर्दै नेपाल सरकार र यहाँको व्यवस्थालाई ऐना देखाउन प्रयास गरेका छन्। समयको सदुपयोग, अमेरिका र नेपालको शिक्षा व्यवस्थाको अन्तर, ग्राहकसँग गरिने अमेरिकी र नेपाली व्यवहारको विश्लेषण गरेर विकसित देश भएको सिद्धान्तलाई देखाएका छन्।
अमेरिका छिरेका समग्र पात्रले विदेशमा पाइने दुःख, कष्ट र एक्लोपनको बखान गर्दै स्वदेश मै बस्नुपर्ने कुरामा जोड दिएका छन्। अमेरिका र आफ्नो देशको पटकपटक तुलना गरिका छन् जसमा आफ्नो देशलाई सर्वप्रिय मानेका छन्। पात्रहरूले वार्तालापमा व मनोवाद व्यक्त गरेका केही उदाहरण हेरौँ-
-‘थुक्क मेरो जिन्दगी! के सपना देखेर आउँछन् मान्छेहरू यो ठाउँमा?’
-‘मलाई अमेरिकी सपना चाहिएकै छैन। जान्छु आफ्नै देश नेपाल। आफ्नै आत्मसम्मानमा ठेस पुर्याएर बस्दिनँ यहाँ, फोहोर फालेर फर्किंदा फेरि भुतभुतायो।’
-‘के मेरो अमेरिकी सपनाले त्यो खुसी दिन सक्ला जहाँ म परिवारसँग बसेर आफ्नै संस्कृतिसँग रम्दा त्यो खुसी पाउँछु ? उसो भए मानिस किन दुनियाँ सपना बोकेर बिदेसिन्छन् ? के पैसाले किन्न सक्छ त्यो खुसी ?’
-‘मेरो एउटा पाँच वर्षको छोरा छ। मलाई हुर्काउन मन छैन अमेरिकामा। मलाई यहाँको संस्कृति नै मन पर्दैन।’
-‘वास्तविक खुसी त अमेरिकी सपनाबाट भाग्नु पो रहेछ।’
-‘एकैछिनमा दीपकलाई सारा संसार निरर्थक लाग्यो। जब बिरामी पर्दा साथमा आफन्त हुँदैनन्, परिवार हुँदैनन्, पैसा, ऐस, आरामको सपना देख्नु सब बेकार लाग्यो। म कुन सपनाको लागि आएको हुँ यहाँ ?’
-‘साला अमेरिका ! केको सपनाको देश हुन्छ ? यो स्वार्थीहरूको देश हो साला, पुँजीवादीहरूको देश हो, दीपकले आक्रोश पोख्यो, पाखुरा हुनेहरूले मात्र सपना पकाउने रहेछन् यहाँ। कमसेकम मेरो देशमा अलिकति भए पनि भावना त हुन्छ। देश धनी भएर के गर्नु ? मान्छेमा मानवीयता हराएर धन मात्रै प्रमुख कुरा हुनुभन्दा बरू गरिब देश मनकारी नागरिक भएर बाँच्नु जाती हुन्छ।’
-‘भौतिक सुविधा छ। त्यही मात्र हो। नत्र यो … देशमा के छ र यार ?’
-‘सर्सी अमेरिकाले उसलाई मानवयन्त्र बनाइसकेकी छे- एउटा कृत्रिम खुसी दिएर, कृत्रिम भोज दिएर, कृत्रिम सुन्दरता दिएर, कृत्रिम जवानी दिएर, कृत्रिम लोभ दिएर। वर्षौं भेट हुन नपाए पनि उसका आफन्त र परिवार मख्ख छन् किनकि उनीहरूले सगौरव भन्न पाएका छन्, मेरा छेराछोरी सर्सीको देशमा छन्। उनीहरूलाई थाहा छैन, त्यही भ्रम पाल्दापाल्दै आफ्नो सन्तानको अनुहार हेर्न नपाई कुन दिन फुस्लुक्क जाने हो जिन्दगी। ऊ अमेरिकामा हुनुको फोस्रो आदर्श र घमण्डमा बाँचेको छ।’
-‘मलाई अहिले कोहीसँग बोल्नु छैन । मलाई यो देशमा बस्नु पनि छैन । यो सपनाको देश होइन। मानवीयता हराएको, भावना खोक्रिएको, फगत भौतिक चिजको पछि मात्र कुँदेको पतित देश हो । यो पुँजीवादमा मानवीयता गुमाएको घिनलाग्दो देश हो । सपनालाई भ्रम मानेर हिँडेका हामी घिनलाग्दा मूर्ख पात्र हौँ।’
-‘दियर इज नोथिङ इन दिस फकिङ कन्ट्री । अमेरिकी सपना सब भ्रम हो। बरू मेरै देशमा छ, जे छ। अब मलाई कसैको केही सल्लाह चाहिँदैन दीपक।’
पात्रहरूले यसरी अमेरिका अथवा विदेशमा बसेको अनुभव नकारात्मक आउँदा, स्वदेश फर्किने मन हुँदाहुँदै पनि कुनै पात्र देश फर्किंदैनन्। डेभिड पात्रले अमेरिका छोडेर जान्छ, उसको निर्णयले निकै ठुलो सन्देश अरू पात्रलाई दिएको छ। मुख्य पात्र दीपकले पनि अनेक समस्या एवम् आत्मसम्मनमा घात पाउँदा पनि अमेरिकी स्वप्नको लालसामा देश फर्किन सक्दैन। उसैको कोठासहपाठी डेभिडले पढाइ छोडेर घर जाँदा पनि दीपकले आफ्नै अमेरिकी स्वप्नलाई प्राथमिकता दिन्छ।
उसले स्नातक सक्छ। उसकी प्रेमिकाले उसलाई छोडिदिन्छे। प्रेमिकाबाट धोका पाएपछि दीपक मर्माहत बनिन्छ। उसले मलिसालाई बिहे गरेर अमेरिकाको नागरिकता लिएर बस्ने योजना बनाएको हुन्छ। तर मलिसाले यथार्थपरक निर्णय लिएर दीपकलाई छोडिदिँदा उसलाई अमेरिकामा बस्न व्यर्थ लाग्छ। अमेरिकामा बस्न मन नभएको मनमा थप बल दिन्छ। र अन्तमा दीपकले नेपाल फर्केर देशमै केही गर्ने अठोट गर्छ। यही निर्णले उपन्यासलाई मार्मिक बनाएको छ।
दीपकले स्वदेश फर्किन निर्णय लिँदा उसले भनेको कुरा सबैका लागि प्रेरणादायी छ।
-‘गाउँ भन्ने शब्द नै कति प्यारो ! विगत सम्झनाहरू आउँदा मुटु गाउँमै धड्किन्छ। मलाई चाहिँदैन, अमेरिकाको भ्रमपूर्ण स्वप्निल संसार। मलाई चिल्ला बाटा गुड्ने महँगा कारभन्दा मैरे गाउँमा बहने चिसो हावा मीठो। मलाई महल गगनचुम्बी महलहरूभन्दा मेरो गाउँबाट उत्तरतिरका देखिने प्राकृतिक तलाउ र झरनाहरू राम्रा। आधुनिक दुनियाँले बनाएको सर्कसभन्दा एकोहोरो बगिरहेको मेरो गाउँले खोलाको गाउने गीत मीठो। कैयौँ दिन फ्रिजमा बसेका सुगर र प्रेसर बढाउने अमेरिकी खानेकुराभन्दा खेतबाट सिधै भान्सामा पुग्ने अन्नबाली र ताजा फलफूल जाती…।’
उपन्यासकार तुलसी आचार्यले जटिल र क्लिष्ट भाषाको प्रयोग गरेका छैनन्। आम पाठकले पनि बुझ्ने सरल, सहज भाषाको प्रयोग छ। पात्रहरूको परिवेश अमेरिका हुनाले अङ्ग्रेजी भाषाको प्रयोग धेरै ठाउँ छ। यहाँ अङ्ग्रेजी भाषाको प्रयोग हुनु स्वाभाविक र उचित लाग्छ। एकजना पात्र बङ्गालको हुनाले हिन्दी-भाषाको पनि प्रयोग गरिएको छ। हिन्दी-भाषाको प्रयोगले पनि उपन्यासलाई पात्रअनुसार सौन्दर्य नै प्रदान गरेको पाइन्छ। हिन्दी शब्दहरूको पनि प्रयोग यस उपन्यसमा देखिएको छ। जस्तै दोकान, पतझड, बात आदि।
‘स्वप्नभूमि’ समसामयिक विषयमा लेखिएको अति पठनीय र विदेश जाने एवम् भविष्यमा विदेशिनेहरूका लागि दर्पणको सिद्ध भएको उपन्यास पठनीय छ। यद्यपि केही ठाउँमा औँल्याउने स्थान भेटिन्छ-
पृष्ठ सङ्ख्या २१ मा लुकास स्पेनबाट हो भनी परिच गराइको छ तर पृष्ठ सङ्ख्या २८ मा लुकासको ट्यूसन फी स्वीडेन सरकारले तिर्छ भन्ने सन्दर्भ छ। स्पेनको नागरिकलाई स्वीडेन सरकाले कसरी..? यहाँ देशको नाम लेख्न त्रुटि भएको हुनुपर्छ?
‘अपार्टमेन्ट’ भागमा पृष्ठ सङ्ख्या २२ मा दीपक राति निद्रा नलागेर बिहान सुत्दछ। दिनमा भनिसा र लुकाससँग मार्केट जाने कुरा भएको हुन्छ तर दीपक दिनमा सुत्नाले जाँदैनन्। दीपक उठेपछि उसले मार्केट नगएको कारण सोध्छ तर भनिसाले निदाएको हुँदा नउठाएको कुरा राख्छे। भनिसाको कुराले स्पष्ट हुन्छ कि दीपक बिहानको समय निदाएर बेलुका बिउँझकेको हुनुपर्छ तर यहाँ बिउँझिँदा बिहान भएको लेखिएको छ। अनि वार्तालाप भएर केही खाएपछि लुकास र भनिसा गुडनाइट भन्दै कोठाभित्र पस्छन्। बिहान हुन्थ्यो भने दुवैले गुडनाइट भन्दैनथे होला ! यहाँ काल दोष भेटिन्छ।
दीपकलाई मलिसाले अँगालो हाल्दा दीपकले पहिलोचोटि अँगालोको अनुभव गरेको भन्दै उपन्यासकार वर्णनन् गर्छन् तर ‘बचाइ’ भागको पृष्ठ ८९ मा दीपकलाई उसकी विगतकी प्रेमिका अनिताले अँगालो हालेर बसेको वर्णनन् छ।
पृष्ठ सङ्ख्या ९३ मा- ‘दीपक घमण्डले चुर भयो’ सन्दर्भ आउँछ। यस परिवेशमा दीपक घमण्ड हैन रिसले मुर्मुरिएको थियो। उक्त वाक्यमा ‘घमण्ड’ भन्दा पनि रिस या क्रोध वाक्य प्रयोग गरेको भए सटीक लाग्नेथ्यो।
उपन्यासमा लुकास र भनिसाको प्रेम एक्दमै कामुकताले भरिएको वर्णित छ। लुकास र भनिसको जब पनि उपन्यासमा उपस्थिति आउँछ तबतब चुम्बन् र शारीरिक सम्बन्धलाई केही बेरा नबाँधी वर्णनन् गरको पाइन्छ। अलिक अप्ठ्यारो पनि लाग्छ अनि अमेरिकाको परिवेशअुनसार यथार्थ पनि तर दीपक र मलिसाको प्रेममा अति शीलता एवम् अनुशासित देखाउन प्रयास गरिएको छ। यहाँसम्म कि दीपक र मलिसा बन्द कोठामा एकान्त अँगालोमा हुँदै चुम्बन गर्दा पनि दीपकले यसलाई अन्यथा मान्दै आफ्नो कोठा फर्किन्छ। यहाँ अलिकति यथार्थ नलागेर ड्रामा लाग्छ अनि लुकास र भनिसाप्रति अन्याय।
अङ्ग्रेजी पात्र हुनाले वार्तालापमा अङ्ग्रेजी भाषाको प्रयोग सटीक। उपन्यास नेपालीमा लेखिएको हुनाले पनि अङ्ग्रेजी पात्रको वार्तालापमा उपन्यासकारले नेपाली-भाषामा राखेको उचित लाग्छ। एकरूपता नहुँदा अलिकति असहजताको भान लाग्छ किनभने कुनैकुनै ठाउँमा एउटा उत्तर दिने क्रममा अङ्ग्रेजी पात्रले नेपाली र अङ्ग्रेजी प्रयोग गरेको पाइन्छ। डल्लै नेपाली या अङ्ग्रेजीमा राखेको भए एकरूपता देखिने थियो होला!
उपन्यासको कथावस्तु अति प्रशंसनीय भएता पनि व्यापक गहराइ नभएको जस्तो पनि लाग्छ। कथाको अन्त सुरुमै थाहा लाग्छ। दीपकको प्रेमिकाले कसरी धोखा दिई भन्ने पात्रले भने पाठकलाई अन्तसम्म पुग्न थप बल दिएको छ। सुरुमा उपन्यासकारले कथा र परिवेशलाई गहराइमा वर्णन गरेको पाइन्छ तर मध्य पुगेपछि कथा सिध्याउन हतार गरेको आभास लाग्छ। सम्पदानको क्रममा केही हिज्जेमा त्रृटि रहेको केही फेला पारेँ- पृ. ६३- ‘रोमाचक’(रोमाञ्चक), पृ. ८५- ‘रूखहरू’ (रुखहरू), पृ. ८८- ‘सुँध्यो’ (सुँघ्यो), ‘ठप्पप्रायः (प्रायः ठप्प), पृ. ९०- ‘बग्लाबेग्लै (बेग्लाबेग्लै), पृ. ‘पथ्यो’ (पऱ्थ्यो ), पृ. १०६- ‘लायो’ (लगायो), पृ. ११३- ‘बिहानदखि’ (बिहानदेखि), पृ. १२३- ‘बाथरूममातिर’ (बाथरूमतिर/बाथरूममा), पृष्ठ.- ‘कुन्यू (कुनिउँ)।
उपन्यासको उद्देश्य अति मार्मिक एवम् समसामयिक छ। उपन्यासकारले उपन्यासको माध्यमाबाट जनता, देश र विदेशमा सुख खोज्नेहरूलाई एकचोटि मजाले झक्झकाएका छन्। दीपक पात्रको माध्यमाबाट विदेश जाने क्रमालाई रोक्नका लागि सङ्कते गरेका छन्। विदेश जानु फगत व्यक्ति विशेषका लागि लाभदायक होला तर देश, समाज, धर्म-संस्कृति, पारिवारिक सम्बन्धका लागि निःसन्देह हानिकारक छ । यसको परिणाम भविष्यमा देश र समाजले भोग्नुपर्छ भन्ने जस्ता परोक्ष सङ्केत दिएका छन् । यर्थाथमा हो पनि, युवाशक्ति, युवाबुद्धिले अन्य देशलाई विकासतिर लान थाल्यो भने स्वदेशको के हाल होला ? विकासको अर्थ मात्रै ठुलाठुला बिल्डिङ्ग, गाडी, आर्थिक शक्ति र शैन्य शक्तिले हुँदैन अपितु त्यहाँका बस्ने मानिसको उच्च विचार, समृद्ध संस्कृति, शान्ति त आपसी समरसताले हुन्छ। उपन्यासले यही सन्देश बोकेको पाठकले भान पाउने छन्।
समग्रमा उपन्यास पठनीय छ। पुस्तकले व्यापक सफलता पाओस् र पुस्तक आफ्नो उद्देश्यमा पनि सफल बनोस् भन्ने मेरो हार्दिक शुभकामना।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

