तनहुँ, मंसिर १० / गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले हरेक वर्ष प्रदान गर्दै आइरहेको विभिन्न राशिको पुरस्कार प्राप्त गर्ने साहित्यकारहरूको नाम सार्वजनिक गरेको छ।
आकाश अधिकारीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्मर अधिकारीको प्रमुख आतिथ्यमा दमौलीस्थित अनसन चौतारीमा आयोजित एक कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक साथै संस्थाका सल्लाहकार महाप्रसाद हड्खलेले “क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७९” वरिष्ठ साहित्यकार डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गर्ने घोषणा गर्नु भएको छ ।
उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ।
त्यस्तै “नेपाल अधिराज्यमा तनहुँ वाङ्मय पुरस्कार २०७९” नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति प्राज्ञ डा. जगमान गुरुङलाई दिने घोषणा गरिएको छ । सो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।
यसैगरी पुरस्कार छनौट समितिका संयोजक शिव आर्यले “गीतल राष्ट्रिय पुरस्कार २०७९”, चित्रकार कृष्ण मर्सानीलाई प्रदान गरिने र “गीतल प्रतिभा पुरस्कार २०७९” कवि एवं गजलकार तीर्थमान अथाहसागरलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि क्रमशः दस हजार र पाँच हजार रुपैयाँ रहेको छ।
संस्थाका अध्यक्ष आकाश अधिकारीले पुरस्कृत स्रष्टाहरूलाई चैत्र मसान्तभित्र एक विशेष कार्यक्रमका बीच पुरस्कृत गरिने जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्वउपाध्यक्ष संगम सापकोटा, अधिवक्ता कमला मोहन वाग्ले, भाग्यशाली ढुंगाना, कृष्णचन्द्र पाण्डे, पिताम्बर सिग्देल, हरिराज कँडेल, विष्णु पराजुली, दीपक राई, किशोर पन्त, पत्रकार कृष्ण न्यौपाने, उपेन्द्र खनाल लगायत तीन दर्जन साहित्यकार, बुद्धिजीवी, समाजसेवी, पत्रकारहरूको उपस्थिति रहेको संस्थाका वरिष्ठ उपाध्यक्ष दिवाकर भट्टराईले जानकारी दिनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।