
तनहुँ, चैत्र २५ / भानु नगरपालिकाको प्रवर्द्धनमा भानु नगरपालिका वडा नम्बर १२ स्थित गामबेसीका कवि क्षेत्रप्रताप अधिकारीको घरआँगन बयापानीमा श्रष्टा सम्मान तथा काव्य उत्सव कार्यक्रम सम्पन्न भएको छ। चैत्र २४ र २५ गते आयोजना गरिएको कार्यक्रममा भारतको दार्जीलिङ, ग्वालियर र भुटान लगायत देश तथा विदेशबाट सय बढी संख्यामा साहित्यकार, सर्जकको उपस्थिति रहेको थियो।
आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. सुरेन्द्र केसी, विशेष अतिथि भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठी, प्रा. डा. जगमान गुरुङ, गीतकार बूँद राना, प्रा. डा. रामप्रसाद ज्ञवाली, प्राज्ञ पुरु लम्साल, सहित्यपोस्टका प्रधान सम्पादक आश्विनी कोइराला र भानु नगरपालिका वडा नं १२ का अध्यक्ष बेलबहादुर अधिकारी रहनुभएको थियो ।
अतिथिहरुमा मध्यप्रदेश स्थीत ग्वालियर,भारतबाट सुरेन्द्र पाल सिंह कुसुवा, घनश्याम भारती,अशोक अचानक र जगदिश गुप्ता महामनाको उपस्थिति रहेको थियो। त्यस्तै दार्जिलिङबाट कवि अबिर खलिंग,दुर्गा चाम्लिङ राई, चन्दन भट्टराई र उमेश प्रधानको उपस्थित थियो भने भुटानबाट कवि विरेन मगर र दिल भुटानीको उपस्थिति रहेको थियो।
कार्यक्रममा साहित्यकार डिल्लीराम मिश्र, गीतकार संघका अध्यक्ष वसन्त बित्यसी थापा, प्रा. नानी हेरा शाक्य, लेखक लाल बहादुर भुजेल,जीवन सापकोटा, सन्तोष सिरिस,नारायण अधिकारी, भिम रानाभाट,सीमा अधिकारी,पार्वती भट्ट,जानकी कुँवर,माधव लम्साल, सन्त बहादुर अधिकारी लगायतका कवि/कवियत्रीले रचना सुनाउनुभएको थियो।
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७९ बाट प्रा. डा. रामप्रसाद ज्ञवाली, गीतल राष्ट्रिय पुरस्कार २०७९ बाट कलाकार कृष्ण मर्सानी, गीतल प्रतिभा पुरस्कार २०७९ बाट तीर्थमान अथाहसागर र नेपाल अधिराज्यमा तनहुँ कृति पुरस्कार बाट प्रा. डा. जगमान गुरुङलाई सम्मान गरिएको थियो। पुरस्कारको राशि क्रमशः २५,०००.००,१०,०००.००,५,०००.०० र २५,०००.०० रहेको छ। पुरस्कार प्राप्त पश्चात प्रा. डा. रामप्रसाद ज्ञवालीले पुरस्कारसँग डर लागेको र थप जिम्मेवारी बोध भएको महसुस गरेको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. सुरेन्द्र केसीले पार्टीभन्दा माथि देश रहेको र देशलाई माया गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै भानु नगर प्रमुख आनन्दराज त्रिपाठीले भानु नगरपालिकामा साहित्यिक पर्यटनको क्षेत्रमा थप काम गर्न बाँकी रहेको जानकारी दिनुभयो।
साहित्यपोस्ट मिडिया पार्टनर रहेको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दिवाकर भट्टराईले र संचालन सचिव माधव अधिकारीले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

