
अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स शहरस्थित थोमस जेफर्सन पुस्तकालयको सभाकक्षमा नेपाली भाषाका कवि तथा गीतकार हरिभक्त कटुवालको ४२ औँ स्मृति दिवसको आयोजना गरियो ।
अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा भएको सो समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्दै नेपाली दूतावास अमेरिकाका उप नियोग प्रमुख कुमारराज खरेलले राजदूतावासले गर्नुपर्ने भाषा साहित्यको सम्बर्धनको यस्तो कार्यक्रम आयोजना गरेकोमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूमा नेपाली दूतावास सहकार्य गर्न तत्पर रहेको बताउनु भयो ।
कार्यक्रमको शुरूमा अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाले स्वागत मन्तव्य दिनुहुँदै प्रतिष्ठानले आधुनिक नेपाली साहित्यकारहरूको सम्झनामा कार्यक्रम गर्दै जाने बताउनु भयो ।
कार्यक्रममा बसन्त श्रेष्ठले हरिभक्त कटुवालको चिनारी प्रस्तुत गर्नु भएको थियो भने कृष्ण धरावासीले हरिभक्त कटुवालको सालिक झापामा अनावरण गरेको सम्झना गर्दै कटुवालको साहित्यिक योगदानको चर्चा गर्नु भयो ।
सो अवसरमा हरिभक्त कटुवालको गीत “ पोखिएर घामको झुल्का…….” सुदिन अमात्यले प्रस्तुत गर्नु भएको थियो भने मंजु विमली, नीलकंठ सुवेदी, कृष्ण शर्मा तथा शिव लामिछानेले हरिभक्त कटुवालका कविताहरू वाचन गर्नु भएको थियो ।
हरिभक्त कटुवालका गीत गाउँदै, कविता वाचन गर्दै पुष्पा खनालले रोचक ढंगले कार्यक्रम संचालन गर्नु भएको थियो !
कार्यक्रमको शुरूमा प्रमुख अतिथिले फूलमाला तथा उपस्थित सबैले हरिभक्त कटुवालको तस्वीरमा पुष्पार्पण गर्नु भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

