(‘भाइरल कविता’अन्तर्गत यसपटक बहुचर्चित कवि हरिभक्त कटुवालको  बहुचर्चित कविता ‘यो जिन्दगी खै के जिन्दगी’ प्रस्तुत गरेका छौँ । याे  कविता  फेसबुक पेज तथा ग्रुपहरूमा देखापरिरहेको हुन्छ । विशेषतः यो कविता  जुनै बेलामा पनि चर्चामा आउने गर्छ । यही कविताकाे भावलाई समातेर धेरै कविताहरू लेखिने गरेका छन् । 

हामी हरेक साता यस्ता कविताहरूकाे खोजी गरेर यहाँहरूसमक्ष प्रस्तुत गर्ने प्रयास गर्नेछाैँ। )

 यो जिन्दगी खै के जिन्दगी !

भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !

बन्दुकको नालमा टाउको राखेर निदाउनुपर्छ यहाँ
खुकुरीको धारमा पाइताला टेकेर जिउनुपर्छ यहाँ
आँखा चिम्लनु पनि जगजगी, आँखा उघार्न पनि जगजगी
यो जिन्दगी खै के जिन्दगी !

हरिभक्त कटुवाल

पसलमा शोकेशभित्र सजाएर राखेको
काँचको चुरा जस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी !

रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी !
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी !
यो जिन्दगी खै के जिन्दगी !!