
काठमाडौँ, भदौ १० / चारु साहित्य प्रतिष्ठानको आयोजनामा काठमाडौँ, भक्तपुर, ललितपुरका स्रष्टाहरू बीच पुस्तक लोकार्पण तथा तीज विशेष कार्यक्रम होटल हार्दिकको काव्य हलमा सम्पन्न भयो । खोरिया साहित्य सृजना र टुक्का साहित्य समाज कार्यक्रमको सह-आयोजक मुख्य भूमिकामा रहेका थिए ।
चारु प्राणेता डा.देवी पन्थीको सभापतित्व र वरिष्ठ साहित्यकार रामकृष्ण वान्तवाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समाजसेवीहरू कलानिधि दाहाल, युवराज नयाँघरे, उर्मिला पन्त पाण्डेय, गंगा कर्माचार्य पौडेल, माया पौडेल, सुप्रभात भण्डारी, ध्रुवप्रसाद गजुरेल विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । आमन्त्रित स्रष्टाहरुलाई खोरियाका प्रणेता जनार्दन अधिकारी धड्कनले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा डा. देवी पन्थीद्वारा लिखित तथा भुँडी पुराण प्रकाशनद्वारा प्रकाशित “गजलको सिद्धान्त र गजलको परिवर्तित स्वरुप चारु” तथा ताराप्रसाद चापागाईंद्वारा लिखित तथा प्रकाशित “टुक्का” पुस्तकको प्रमुख अतिथि रामकृष्ण वान्तवा र अन्य विशिष्ट अतिथिद्वारा संयुक्तरूपमा लोकार्पण गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष डा.देवी पन्थीले नेपालमा प्रवर्तन भएका विभिन्न विधा तथा उपविधाहरू सङ्गठित भएर सहकार्य गर्दै अगाडि बढ्नु पर्ने कुरामा जोड दिंदै यो उद्देश्य पूरा गर्न “आविष्करण नेपाल” नामको संस्था गठन भैसकेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण वान्तवाले “आविष्करण नेपाल” का मनोनित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रमुख अतिथि रामकृष्ण वान्तवाले गजलको विकल्पमा प्रयोगमा ल्याइएको चारुलाई नदी र समुन्द्रको पानीबाट बनेको बादलसँग तुलना गर्दै चारु रूपी बादलबाट संसारभरि पानी वर्षिने छ र चारु संसारभर फैलने छ भन्नुभयो।
उहाँले चारुको लोकप्रियता नेपाल, भारत लगायत विश्वका अनेक देशमा दिनदिनै बढ्दै गरेको र यसबाट नेपाली साहित्यकार पनि साहित्यमा नयाँ प्रयोग गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह विश्वभर भएको बताउनु भयो। उहाँले चारु, खोरिया, टुक्का कविता, उदक, एकलाइने कविता, सन्देश, पञ्चाङ्ग, बाछिटा आदि नव विधाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।
कार्यक्रममा उपस्थित प्रतिनिधि स्रष्टाले चारु, खोरिया, टुक्का, एकलाइने कविता, पञ्चाङ्ग, उदक, सन्देश , तीज गीत प्रस्तुत गरेका थिए। टुका साहित्यका प्रणेता ताराप्रसाद चापागाईंले सहयोगी संस्था प्याब्सन र अन्य सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रमको अन्त्यमा चारु प्रतिष्ठानको तर्फबाट तीज भोजको आयोजना गरिएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
भ्रष्टाचार उन्मुलन गराैँ भन्ने आह्वान गर्दै टुक्का कविता लेखन कार्यक्रम सम्पन्न
१३ पुष २०८२, आईतवार 








