काठमाडौं । कवि दीपक चौलागाईंको नयाँ कवितासङ्ग्रह हतारमा छन् यात्रीहरू मंगलबार राजधानीमा आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ। प्राज्ञ तथा कवि श्रवण मुकारुङ, निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि छविरमण सिलवाल, मणि लोहनी, शकुन्तला जोशी तथा लेखक स्वयं दीपक चौलागाईंले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभयाे ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै प्राज्ञ श्रवण मुकारुङले सिर्जना कहिल्यै पूर्ण नहुने निरन्तर यात्राजस्तै भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “सिर्जना सगरमाथा चढेपछि पूर्ण हुने यात्रा होइन, बरु स्रष्टाले जीवनभर आफैंले बनाएको यात्रालाई नाघ्दै नयाँ–नयाँ पर्वत चढिरहने प्रक्रिया हो।” कविता अध्यात्मसँग नजिक रहेको उल्लेख गर्दै उहाँले दीपक चौलागाईंका कवितामा अध्यात्म र भौतिक विज्ञान दुवै दर्शनको अन्तरघुलित प्रतिबिम्ब सशक्त रूपमा प्रस्तुत भएको धारणा राख्नुभयो।
कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै कवि मणि लोहनीले अनुभवले खारिएका कविता नेपाली पाठकले पाएको बताउनुभयाे । वर्तमान समयको साक्षी बोल्ने कवितामा मृत्युचेत र जीवनबोधका सशक्त बिम्बहरू रहेको उल्लेख गर्दै उहाँले हतारमा छन् यात्रीहरूलाई “अनुभवी कविको नयाँ तर शक्तिशाली कवितासङ्ग्रह”का रूपमा मूल्याङ्कन गर्नुभयो।
कवि शकुन्तला जोशीले चौलागाईंका कवितामा पूर्वीय वैदिक दर्शन, द्वन्द्वात्मक भौतिकवाद र भौतिक विज्ञान—विशेषगरी क्वान्टम सिद्धान्त जस्ता सूक्ष्म वैज्ञानिक अवधारणाको सरल र दुर्लभ प्रयोग देखिएको बताउनुभयाे । “ब्रह्माण्ड र जीवनलाई हेर्ने वैश्विक दार्शनिक क्यान्भासमा कविता लेख्नु कवि चौलागाईंको विशिष्ट काव्यिक क्षमता हो,” उहाँले भन्नुभयो।
निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले जीवनका विविध आयाम र भौतिक विज्ञानलाई सरल भाषामा कविता बनाउनु कविको उत्कृष्ट काव्यशैली भएको बताउनुभयाे । सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले कविताप्रतिको प्रेमकै कारण प्रतिष्ठानले स्थापनाको एक वर्ष नपुग्दै चारवटा कविता कृति प्रकाशन गर्न सफल भएको जानकारी दिनुभयो।
कार्यक्रममा कवि डा. अनन्त अधिकारी र रुपा रिसालले लोकार्पित कृतिबाट कविता वाचन गर्नुभयाे थियाे । कविका गुरु तथा पूर्व क्याम्पस प्रमुख चूडाप्रसाद चौलागाईं, राधेश्याम लेकाली, प्रमोद प्रधान, शंकर भारती, पवन आलोक, वसन्तराज अज्ञात, लक्ष्मी रुम्बा, तुलसीहरि कोइरालालगायतको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहजीकरण प्रदीप सापकोटाले र स्वागत मन्तव्य पूर्णबहादुर श्रेष्ठले गर्नुभएको थियो।
छ खण्डमा विभक्त ३८ कविता समेटिएको यो कवितासङ्ग्रह सुनकोशी वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको हो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 




