पद्मश्री पुरस्कारका लागि छोटो सूची जारी

देशकै प्रख्यात साहित्य पुरस्कार पद्मश्रीले आफ्नो पुरस्कारका लागि प्रेषित सबैभन्दा योग्य पुस्तकहरूको छोटो सूची जारी गरेको छ ।
खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष प्रकाशित भएका कृतिहरूमध्ये सर्वोत्कृष्ट पुस्तकलाई तीन लाख रूपैयाँ राशिको पुरस्कार प्रदान गर्ने गर्छ ।
यसअघि नै प्रतिष्ठानले असार १५ मा पुरस्कारका लागि छनोट गरिएका पुस्तकहरूको लामो सूची जारी गरेको थियो ।
उक्त लामो सूचीमा परेका कृतिहरूमध्येबाट समितिले थप अध्ययन तथा मूल्याङ्कन गरी प्रतिष्ठानलाई उत्कृष्ट छोटो सूचीका लागि पाँचवटा कृतिहरूको नाम उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
छोटो सूचीमा डा. नवराज लम्सालको महाकाव्य अग्नि, केशवराज ज्ञवालीको कथासङ्ग्रह अर्को भोर, उषा हमालको निबन्धसङ्ग्रह भिक्षुसँग प्रेम, दीपक पराजुलीको उपन्यास मिथ्या र केवल बिनाबीको कविता सङ्ग्रह यादहरूको सङ्ग्रहालय रहेका छन् ।

२०६३ सालबाट सर्वोत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गर्न थालिएको हो । ‘दसगजामा उभिएर’ नामक कृतिका लागि गणेश रसिकलाई यो पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कारको राशि सुरुमा एक लाख रुपैयाँ थियो भने दुई लाख रुपैयाँ हुँदै ०७६ सालबाट तीन लाख रुपैयाँ पुर्याइएको छ । यो पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ ।
यसैगरी २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान पनि अर्पण गर्दै आएको छ । यसको राशी पनि तीन लाख रुपैयाँ रहेको छ ।