(कोजाग्रत पूर्णिमाका दिन खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले चर्चित साधना सम्मान तथा साहित्य पुरस्कार प्रदान गर्यो । सो अवसरमा भजन शिरोमणि भक्तराज आचार्य तथा आख्यानकार केशव दाहालले क्रमशः पद्मश्री साधना सम्मान तथा पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्नुभयो ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष, साहित्यानुरागी तथा बेस्टसेलर नियात्राहरूका लेखक जीवा लामिछानेले आफ्ना मन्तव्य राख्नुभएको थियो । नेपालका महत्त्वपूर्ण पुरस्कारमध्ये एक पद्मश्री पुरस्कारका अध्यक्षको धारणा नेपाली साहित्यकै महत्त्वपूर्ण दस्तावेज हुने भएकाले हामीले यसलाई महत्त्वपूर्ण सामग्रीका रूपमा यहाँ राखेका हौँ ।)
पद्मश्री साधना सम्मानबाट सम्मानित वरिष्ठ सङ्गीत साधक भजन शिरोमणि श्री भक्तराज आचार्यज्यू, मोक्षमूमि उपन्यासका लागि पद्मश्री साहित्य पुरस्कारद्वारा पुरस्कृत व्यक्तित्व आख्यानकार श्री केशव दाहालज्यू, यस प्रतिष्ठानका पधाधिकारी साथीहरु तथा विषम परिस्थितिमा पनि हाम्रो निम्तोलाई स्वीकार गरी कार्यक्रममा पाल्नुहुने सम्पूर्ण पाहुना तथा पत्रकार साथीहरू !
‘मोक्षभूमि’ उपन्यासमा लेखक केशव दाहालले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेका दासहरूको मुक्तिको गाथा र गरिमालाई चित्रण गर्नुभएको छ, जहाँ युद्ध र अपराध, पाप र प्रायश्चितदेखि प्रेम र यौनसम्मका उपकथा छन् । सत्ता र सपना, स्वतन्त्रता र साधना, सङ्घर्ष र मोक्षको कथाले मोक्षभूमि उपन्यास ओजिलो भनेको छ । यति ओजिलो उपन्यास नेपाली साहित्यलाई दिनुभयो र प्रतिष्ठानले पुरस्कृत गर्ने अवसर पायो । केशवजी, यहाँलाई धेरैधेरै बधाई तथा शुभकामना । आगामी दिनमा अझ ओजिला पुस्तकहरू यहाँको कलमबाट लेखिऊन् ।
त्यस्तै पद्मश्री साधना सम्मानबाट सम्मानित व्यक्तित्व भजन शिरोमणि भक्तराज आचार्य गायक, सङ्गीतकार तथा गीतकार समेत हुनुहुन्छ । बाल्यकालदेखि नै उहाँको गीत रेडियोमा सुनेर म हुर्केको हुँ । आफ्नो किशोरावस्था र युवावस्था सम्झन्छु, रेडियो नेपालको धार्मिक कार्यक्रममा बज्ने ‘तन मन वचनले प्रभु नाम गाऊँ… ’, ‘एक दिन मैले प्रभुसँग सोधेँ… ’ जस्ता भजनसँगै मेरो बिहानी सुरू हुन्थ्यो । हजार सपनाहरूको माया लागेर आउँछ…… जस्ता काव्यात्मक गीतसँगै दिन सुरू हुन्थ्यो । जहाँ छन् बुद्धका आँखा… जस्ता शान्तिवादी गीतसँगै साँझ सुरू हुन्थ्यो । र मुटु जलिरहेछ, यो मन गलिरहेछ… जस्ता दर्द भरिएका गीतसँगै रात सुरू हुन्थ्यो । यस्ता महान् गायक तथा सङ्गीतकारलाई सम्मान गर्न पाउँदा प्रतिष्ठान स्वयम् सम्मानित भएको छ । शब्दलाई तौलीतौली, ह्रस्वदीर्घको समेत असाध्यै ख्याल गरेर गाउने सुगम सङ्गीतका एक नायक, जो २०४६ सालमा दुर्घटनामा पर्नुभयो र जिब्रो गुमाउनुपर्यो । एउटा गायकलाई यो जस्तो पीडा के होला ! तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा महत्त्वपूर्ण योगदान दिनुहुने भजन शिरोमणि श्री भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ ।
वि.सं. २०४६ सालको एक साँझ काठमाडौंको बौद्धमा साङ्घातिक हमला भएपछि उहाँको गायनयात्रामा पूर्णविराम लाग्यो, जुन नेपाली गीतसङ्गीतका लागि ठूलो क्षति थियो । १६ वर्षको छोटो सङ्गीत साधनाका माध्यमबाट पनि उहाँले लामो कालखण्डले त्यो सम्झिरहने कालजयी सिर्जना दिनुभएको छ ।
दुवै सम्मानित स्रष्टालाई हाम्रो सम्मान ग्रहण गर्नुभएकोमा आभार व्यक्त गर्दछु । म यहाँहरूको सुस्वास्थ्य र दीर्घजीवनको कामनासमेत गर्दछु ।
मोफसलमा रहेका सर्जकहरूका उत्कृष्ट साहित्यिक कृतिलाई पुरस्कृत गर्ने गरी वि.सं २०६२ सालमा स्थापना गरिएको पद्मश्री साहित्य पुरस्कार २०६३ सालदेखि अर्पण गर्दै आजका मितिसम्म आइपुग्दा डेढ दशक पूरा भइसकेछ । संस्था हुर्कने प्रक्रिया पनि मानिस हुर्कने प्रक्रियाजस्तै हुँदो रहेछ । यस हिसाबले हेर्ने हो भने पद्मश्री, यति बेला १६ वर्षे वयमा पुगेको छ र मनमा धेरै सपना अनि आशा सजाएको छ । उमेर बित्दै जाँदा मानिस त बूढो हुन्छ र एकदिन माटोमा शरीर र आकाशमा प्राण मिसिएर जान्छ तर मानिसले नै स्थापना गरेका संस्थाहरू लामो हुन्छन । हाम्रो प्रयत्न नेपाली भाषा रहेसम्म यस प्रतिष्ठानले स्रष्टाहरूलाई पुरस्कृत गर्न पाइरहोस् भन्ने हो । त्यसका लागि हामीले जग बलियो बनाउँदै लैजानुपर्नेछ । हामी यो कार्यमा प्रयत्नशील छौँ ।
यी १५ वर्षमा प्रतिष्ठानले थुप्रै असल स्रष्टाका असल कृतिलाई पुरस्कृत गर्ने अवसर पाएको छ र सबैबाट प्रशस्त प्रेम र सद्भाव पाएको छ, जसले प्रतिष्ठानलाई अगाडि बढ्न ऊर्जा मिलेको छ ।
स्थापना कालदेखि नै हरेक वर्षको कोजाग्रत पूर्णिमाका दिन पुरस्कार अर्पण गर्ने हाम्रो परम्परा यस वर्ष विषम परिस्थितिलाई चिर्दै परम्परालाई निरन्तरता दिएका छौँ । एउटा संस्थाका लागि १५ वर्ष त्यति लामो समय होइन तर यही समयमा रहेछ संस्थाको जरा बलियो बनाउने । त्यसैले पद्मश्री हाम्रा लागि जीवनशैली बनिसकेको छ ।
यहाँहरुलाई थाहै छ, सुरुमा मोफसलबाट प्रकाशित कृतिलाई मात्र अर्पण गरिने पद्मश्री पुरस्कार वि.सं. २०६६ साल देखि देशभरबाट मात्र होइन डायोस्पोरालाई समेत समट्दै नेपाली साहित्यका कृतिहरूमध्येबाट उत्कृष्ट कृतिलाई पुरस्कृत गर्न थालियो । भूमण्डलीकरण र विश्वग्रामको यो युगमा हाम्रा सर्जकहरू विश्वको जुनसुकै कुनामा बसेर सिर्जना गरे पनि उहाँहरू सम्मानको हकदार हुनुहुन्छ ।
शक्ति‚ सत्ता‚ सम्पत्ति‚ जागिर आदिले दिने आनन्दभन्दा साहित्यले दिने आनन्द उच्च हुन्छ । किनभने शक्ति‚ सत्ता‚ सम्पत्ति‚ जागिर भनेका क्षणिक हुन् तर साहित्य कालजयी हुन्छ । त्यसैले त आज पनि रामायण‚ महाभारत‚ वेद‚ पुराणहरू उसरी नै जीवित छन् । सधैँ रहिरहने छन् । यस कारण प्रतिभासम्पन्न लेखक कविहरूलाई कालजयी सृजना गर्ने प्रेरणा मिलिरहोस् । विशेषगरी युवा साहित्यकारहरूलाई अनुरोध गर्छु— यो देश‚ यहाँको जनजीवन तथा संस्कृतिलाई साहित्यमा सुन्दर ढङ्गले लेख्नुहोस्‚ जसलाई युगौँयुगसम्म संसारले पढिरहनेछ ।
सम्मान स्वयम् सम्मानित हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । यसको प्रमुख कडी निष्पक्षता र कृतिको उत्कृष्टता नै हो । यसका लागि हामी सधैँ प्रतिबद्ध छौँ । पाठक, सर्जक र समालोचक नै न्यायाधीश भएको यो समयमा हामी अत्यन्तै संवेदनशील छौँ । त्यसैले आगामी वर्षदेखि पुरस्कारका दायरा र निर्णायक समिति सार्वजनिक गर्ने निर्णय प्रतिष्ठानले गरेको छ । आगामी वर्षका लागि निर्णायक समिति आजै सार्वजनिक गर्छौं । जसमा हुनुहुन्छः समालोचक राम लोहनी, आख्यानकार नयनराज पाण्डे र निबन्धकार तथा समालोचक कुमारी लामा ।
कोक्रादेखि चितासम्म पनि सिक्ने प्रक्रिया सकिँदैन । बेलाबेला प्रतिष्ठानले परिवर्तन गरेका नियमहरू सिकाइकै निरन्तरता हुन् ।
आगामी वर्षदेखि प्रतिष्ठानले अर्को सम्मान पनि थप्ने निर्णय गरेको छ— पद्मश्री समाज सम्मान । यो सम्मान समाज सेवा र परिवर्तनमा महत्त्वपूर्ण योगदान दिनुहुने एक जना व्यक्तित्वलाई प्रत्येक वर्ष अर्पण गरिनेछ । यस सम्मानको राशि पनि पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान बराबर हुनेछ ।
भौतिक सुख‚ सुविधा तथा अवसरहरू न्यून भएको थाहा हुँदाहुँदै पनि सृजना र समाजसेवाको यात्रामा निरन्तर हिँडिरहने सर्जक र साधकहरू एक प्रकारले तपस्वी हुन्, त्यागी हुन् । यस्ता व्यक्तित्वहरूलाई सम्मान गर्न पाउनु प्रतिष्ठानका लागि गौरवको कुरा हो ।
प्रतिष्ठानबाट अर्पण गरिने सम्मान निष्पक्ष रहनुपर्छ भन्ने कुरामा हामी सजग छौँ । आगामी दिनमा पनि आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष निर्णयका लागि हामी प्रतिबद्ध छौँ ।
अन्त्यमा, यस कार्यक्रममा उपस्थित भई समारोहको गरिमा बढाइदिनुभएकोमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
धन्यवाद !
२०.१०.२०२१
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।