काठमाडौंको बानेश्वरबाट केही पूर्वतिर लाग्दा मीनभवन क्याम्पस जाने बाटो आइपुग्छ । हुन त यो पूरै क्षेत्र बानेश्वरमै पर्छ । तर राणाकालीन शक्तिकेन्द्रमध्ये मीनशमशेरको दरबार भएका कारण यो चोक चाहिँ पहिलेदेखि नै मीनभवन नै रह्यो । दरबारलाई कमर्स क्याम्पसमा परिवर्तन गरेर विद्यार्थीहरुको बाक्लो उपस्थिति भएपछि पनि बानेश्वरको बीचमा पनि यो मीनभवन नै कहलाउँछ ।

यही क्याम्पस हुँदै केही अगाडि पुगेपछि यस पुस्ताकी प्रखर कवि, आख्यानकार एवं समालोचक डा. वानीरा गिरीको घर आउँछ । गेट खोल्नुअघि तपाईंलाई यो घरभित्र यति सुन्दर फूलबारी छ भन्ने कल्पनामा पनि आउँदैन । कुनै पोस्टरमा देखिएजस्तो आकर्षक डिजाइनको सानो घर, घरभित्र आकर्षक चित्रकला र बाटोदेखि नै थरिथरिका फूलहरु । जब मलाई साहित्य, कला र सौन्दर्य एकै ठाउँ कहाँ देखे हुँला भन्ने कल्पना आउँछ, म वानिरा गिरीको यही घरलाई सम्झन्छु ।

लामो समय वानीरा गिरी लेख्दा लेख्दै मुड आयो भने अचानक बाहिर आएर यही फूलबारी स्याहार गर्न आउनुहुन्थ्यो रे । कतिपय अवस्थामा त उहाँलाई यी फूलहरुसँग गुनगुनाउने बानी थियो रे । सुनेअनुसार उहाँ एकपटक फूललाई माया नगरी घरबाहिर निस्कनु हुन्न थियो र फर्कंदा पनि यिनीहरुलाई नसुम्सुम्याई घरभित्र छिर्नुहुन्न थियो । उसो त मलाई पनि एकपटक भन्नु भएको थियो, ‘भाइ, बाहिरबाट आएपछि आधा थकान त यी फूलहरुले नै मेटाइदिन्छन् ।’

ती फूलहरुलाई हरदम माया गर्ने वानीरा दिदीका आँखाहरु टोलाइरहन थालेको धेरै भयो भन्ने सुनेको छु । उहाँका हातले स्याहार नभएका कारण पहिले जस्तो चमक ती फूलबारीमा सायद अहिले छैन होला । स्मृति लोप हुने विमारबाट पीडित भएका कारण उहाँको लेखनी पनि रोकिएको छ । आम भाषामा अल्जाइमर्स भनिने डोमेन्सियाको समस्याका कारण त्यो घरको सौन्दर्य, रौनकमा पनि सायद अहिले कमी आएको होला । केही समयअघि अप्रिल ११ मा उहाँको ७४ औं जन्मोत्सवमा शुभकामना दिन फोनमा पनि सम्भव भएन । यसरी रोगका कारण वानीरा गिरीको स्मरणबाट हामी पर भएका छौँ । भेटेर कुराकानी गर्न नसके पनि उहाँको योगदानलाई हामीले बिर्सिएका छैनौँ ।

काव्य र गद्य समानरुपमा चल्ने उहाँको सशक्त कलमले विश्राम लिएको पनि निकै वर्ष भैसक्यो । उहाँका कारागार, जिउँदो जंगबहादुर, मेरो आविष्कार, जीवन थायमरु, निर्वन्ध र शब्दातीत शान्तनु मैले रुचिका साथ पढेको थिएँ ।

मैले नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो महिलाका रुपमा सुरुमा उहाँलाई चिनेको हुँ । त्यसपछि उहाँका कृतिहरु खोजी गर्न थालेँ । पहिलो पटक भेटेको कुनै कवितामा स्वतन्त्रता र विद्रोही भावहरु धेरै नै पाइन्थ्यो । गोपालप्रसाद रिमाल आफैँमा स्वतन्त्रताको कामना गर्ने कवि थिए । रिमालका कवितामा विद्यावारिधि गर्ने रहर सायद यही कारण थियो । पछि भेटमा भन्नुहुन्थ्यो, ‘गोपालप्रसाद रिमाल मेरो सपनामा बारम्बार आइरहनु हुन्थ्यो । यसरी म उहाँका कृतिलाई माया गर्दागर्दै उहाँलाई नै सपनामा देख्न थालेकी थिएँ ।’

सन् १९९७ तिर हुनुपर्छ- पहिलो पटक म कवि दिनेश अधिकारीको साथ लागेर उहाँको त्यही मीनभवनस्थित घरमा पुगेको थिएँ । त्यही सुन्दर बगैंचामा चिया खाँदै हामीले लामो कुराकानी गरेका थियौँ । त्यो बेला मलाई नेपाली साहित्यका विविध विधालाई अंग्रेजी लगायतका अरु भाषाहरुमा अनुवाद गराएर प्रकाशित गराउने हुटहुटी जागेको थियो । त्यसका लागि उहाँका कविताको अनुमति माग्न हामी त्यहाँ पुगेका थियौँ । ‘सेलेक्टेड नेपाली पोइम्स’ नामक कृतिमा उहाँका कविता पनि समावेश गरिएको थियो ।

उहाँ सँगको चिनजान र सम्बन्ध नजिक हुनुमा वानिरा गिरीका श्रीमान् शंकर गिरीसँगको भावनात्मक सम्बन्ध पनि सायद कारण बन्न पुग्यो होला । शंकर गिरी म जन्मनुभन्दाअघि नै इन्जिनियरिङ् पढ्न सोभियत संघ जानु भएको रहेछ । उहाँ नेपाल सरकार र सोभियत संघबीच मैत्री सम्बन्ध स्थापित भएर सुरु भएको छात्रवृत्तिअन्तर्गत सन् १९५८ तिर तत्कालीन सोभियत जानु भएको रहेछ । मस्को हाइवे इन्जिनियरिङ् इन्टिच्युटमा रुसी भाषा अध्ययन गरेको उहाँले मलाई बताउनु भएको थियो । कुरै कुरामा त्यति बेला दिदीले पनि आफ्नो रुस घुमाइका सम्झनाहरु सुनाउनु भयो ।

साहित्यमा मेरो रुचि भएकै कारण पनि यो सम्बन्धले निरन्तरता पाउँदै गयो । त्यही बीचमा नेपाली साहित्यका तीनवटा विधाहरु कवितातर्फ ‘सेलेक्टेड नेपाली पोएम्स, (अनुवादक डा. तारानाथ शर्मा–१९९८) गीत कवितातर्फ ‘सेलेक्टेड नेपाली लिरिकल पोएम्स (अनुवादक रविन शर्मा–२००१) निबन्धतर्फ ‘सेलेक्टेड एस्सेस (अनुवादक गोविन्दराज भट्टराई- २००३) प्रकाशित भए । मैले यसैगरी अरु विधातर्फ पनि निरन्तरता दिने कुरा उहाँलाई बताएको थिएँ । उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘यसलाई निरन्तरता दिनू है, नेपाली साहित्यलाई यस्तै अभियानको खाँचो छ ।’

पहिलो पटक भेटुन्जेल मैले उहाँका कविता मात्र पढेको थिएँ । फर्केपछि मैले निकै चर्चामा आएको ‘कारागार’ उपन्यास पढेँ । यो पढेर म चकित भएँ । यो उपन्यास मलाई यति मनपर्यो कि अनुवादको सिलसिलामा यो उपन्यासलाई जोड्न चाहेँ । यो प्रस्ताव लिएर म दोस्रोपटक उहाँको घरमा पुगेँ ।

‘अनुवाद गर्नु त राम्रो कुरा हो तर अनुवादक राम्रो हुनुपर्छ । कसलाई गराउने योजना बनाउनु भएको छ ?’ उहाँले सोध्नु भयो ।

‘निर्णय भएको छैन । तपाईंले अनुमति दिएपछि अनुवादक खोज्छु,’ मैले सत्य बताइदिएँ ।

‘अंग्रेजीमा अनुवाद गराउने हो भने नेटिभ अंग्रेजी बोल्नेबाट गराउनु पर्छ । मसँग आन हकिङ्स नामका एक साहित्यकार छन् । उनी नेपाली भाषा राम्रो जान्दछिन् । यसमा म आफैँ लाग्छु । तपाईंले खर्च गर्नुपर्छ ।’

यसमा मेराे कुनै आपत्ति थिएन । त्यसैले स्वीकृति जनाइहालेँ ।

तर यसका लागि केही समय भने लाग्न गयो, सायद अनुवादकको समय प्रतिकूलताका कारण यसो भएको होला । आन हकिङ्सबाट अंग्रेजीमा अनुवाद भएर यो पुस्तक ‘दि प्रिजन’ नामबाट प्रकाशित भएको छ । एक कार्यक्रम आयोजना गरेर त्यस पुस्तकको हामीले लोकापर्ण गर्यौं । म सम्झन्छु, त्यस दिन दिदी निक्कै खुसी हुनु भएको थियो ।

पछिल्लो पटक दिदीलाई मैले पद्मश्री पुरस्कार अर्पण समारोहमा अक्टुबर २०१२ मा रसियन कल्चर सेन्टरमा भेटेको थिएँ । म उहाँको खरो स्वभावबाट परिचित नभएको होइन, तर त्यसदिन उहाँ अलि खरो गरी नै प्रस्तुत हुनुभयो । खासमा हाम्रो कार्यक्रमका केही कुरा उहाँलाई मनपरेको रहेनछ । कार्यक्रम चल्दै गर्दा उहाँले दर्शकदीर्घाबाट पटक पटक हात उठाएर बोल्न खोज्नु भयो । केही महत्त्वपूर्ण कुरा होला भनेर उहाँलाई बोल्न दियौं । उहाँले निकै खरो तरिकाले केही कुरा राख्नु भएको मलाई सम्झना छ !

हुन त वानीरा गिरी कविता र आख्यानमा मात्र होइन, निजी जीवनमा पनि विद्रोही नै भएर बाँच्नुभयो । उहाँ मनपरेको कुरालाई खुलेर प्रसंसा गर्ने र मन नपरेपछि ठाडै आलोचना गर्ने स्वभावको हुनुहुन्छ । एकपल्ट पारिजातले म विश्वेश्वरप्रसाद कोइरालाको कृति पढ्दिनँ भनेर घोषणा गरेपछि दिदीले सार्वजनिक रुपमा पारिजातको किताब पनि आफूले नपढ्ने उद्घोष गर्नु भएको सुनेको थिएँ । त्यो बेला पारिजात नेपालको स्टार लेखिका हुनुहुन्थ्यो । यता वानीरा संघर्षशील लेखिका तर पनि उहाँले सार्वजनिकरुपमा पारिजातका कृति पढ्दिनँ भन्नु उहाँको खरोपना नै हो । गोपालप्रसाद रिमालका कवितामा पिएचडी गर्नका लागि पनि धेरै व्यवधान भएको उहाँले बताउनु हुन्थ्यो । तै पनि विश्वविद्यालयसँग संघर्ष गरेर उहाँले विद्यावारिधिको पदवि लिएरै छाड्नुभयो । यी सबै संघर्ष सुनेका कारण र कतिपय स–साना कुरामा पनि अडान लिएको देखेका कारण त्यस दिनको प्रसंगलाई मैले सामान्य रुपमा लिएको थिएँ ।

बानेश्वरस्थित मेरो निवासबाट उहाँको घर नजिकै छ । नेपाल जाँदा साहित्यिक मित्रहरुसँग भेटघाट हुने गर्छ तर उहाँलाई मैले चाहेर पनि भेट्न पाएको छैन । केही समयदेखि उहाँको रोगबारे सञ्चारमाध्यममा चर्चा हुन थालेपछि भने मन छटपटी भैरहेको छ । म पुगे पनि उहाँले मलाई चिन्नुहुन्न । सायद यही कारण पनि मलाई उहाँको अवस्था हेर्ने आँट आइरहेको छैन ।

कामना गर्छु, सक्रिय हुँदा जसरी उहाँले आफूलाई मन नपरेको कुरामा अड्डी लिएर हरेक कुरालाई जित्नुभयो, यो रोगलाई पनि जित्न सफल हुनुहोस् । र कामना गरेको छु, हाम्रो भेटमा ‘कारागार’को अनुवाद गर्दाका प्रसंग, उहाँको सोभियत संघ घुमाइका रोचक कुराकानी र साहित्यका विविध विषयमा पूर्ववत् रुपमा उहाँसँग कुराकानी गर्न पाइयोस् ।