डा. विश्व पौडेल

डा. विश्व पौडेल

साहित्यानुरागीहरूको यो समूहमा आएर म नयाँ कुन विषयमा बोल्न सक्छु होला भन्ने सोच्दै थिएँ । म अघि बोल्नुहुने महेश पौड्यालको जस्तो सुन्दर तरिकाले धारणा राख्न सक्दिनँ । साहित्यको छेउछाउमा बोल्न पनि सजिलो छैन । पोहोर साल पुसमा म यस्तै साहित्य बहुल व्यक्तिहरू भएको ठाउँमा बोल्न निम्त्याइएको थिएँ र त्यसबेला मैले साहित्य र अर्थशास्त्रको बारेमा बोलेको थिएँ । आज संयोगले फेरि त्यस्तै यो भिडमा छु । साहित्यदेखि सत्तासित यसको सम्बन्धबारे मैले बोल्ने छु।

भर्खर राजनीतिक नियुक्ति लिएको हुनाले मैले यो शीर्षक रोजेँ। बीपी कोइराला, राजेश्वर देवकोटा, लोकेन्द्रबहादुर चन्दहरूले यो शीर्षकमा बोल्नुभएको भए झनै बढी सार्थक हुन्थ्यो होला।

साहित्य र सत्ता
साहित्य के हो भन्ने प्रश्नको उत्तर त्यति सजिलो छैन तर राम्रो साहित्य भन्नाले कुनै पनि चिजको सुन्दर र सजीव प्रतिनिधित्व गरिएको कृति हो भन्दा फरक नपर्ला । सजीव हुनुपर्यो । टोल्स्टोयले जुन रूपमा रुस तथा फ्रान्सको युद्धको सजीव वर्णन ‘युद्ध र शान्ति’मा गरे, धेरै मान्छेसँग बुझेर लेखेको हुनाले त्यो साहित्यको एउटा अनुपम उदाहरण हो । उक्त वर्णनमा युद्ध सजीव भएर आएको छ र उपन्यासका पात्रहरू अहिल्यै उपन्यासबाट उठेर आउलान् जस्ता छन् । उपन्यासमा पिएरे बेजुकोभ अझै पनि हामी धेरैको जस्तो प्रश्न बोकेर बाँचेका छन्: यो संसारमा कसरी बाँच्ने ? छलछामले घेरिएको संसारमा सात्विक र नैतिक जीवन कसरी बिताउने ? कसले बिताउँछ ?

साहित्यले युद्धजस्तो मूर्त कुराको सजीव वर्णन मात्र गर्दैन । साहित्यको अमूर्त, निर्वाध, निराकार र असीम चरित्र झल्काउने काम गरेका हुन्छन् । साहित्यले भाँच्चिएका दुई मनको दूरी, विदेशिएका सैनिकको अन्तरात्माको चित्कार, अतृप्त आत्माको कठोरता जस्ता कुरा बडो अब्स्ट्र्याक्ट तरिकाले व्यक्त गरिन्छन् । साहित्यले भावनात्मक वस्तुलाई सजीव रुपमा चित्रण गर्न पनि सक्छ।

सुरुवाती चरणमा कस्ता साहित्य दिगो र अक्षर भए ? टोल्स्टोयले जस्तै संयोगले वेदव्यासले लेखेको महाकाव्य “जय” अर्थात “महाभारत” पनि युद्ध र तत्कालीन अरिस्टोक्रेसीको एकापसको व्यवहारको बारेमा थियो । होमरको इलियड पनि युद्धको वर्णनको मामलामा अगाडि थियो । यसरी युद्ध, प्रेम जस्ता आधारभूत मानवीय नियमित घटनाहरूका चित्रण सुरुवाती कालजयी साहित्यका विशेषता थिए ।

सुरुवाती साहित्यका म्याग्नम ओपसहरूमा यस्तो एकलौटी प्रभुत्व जमाएको युद्धले के प्रतिनिधित्व गर्छ त ? युद्ध विगतमा सधैँ सत्तारोहणको एक्लो माध्यम थियो। राजाको छोरो राजा हुने चलनमा नयाँ व्यक्तिलाई राजा हुन पुरानो राजा हटाउनुको विकल्प थिएन । त्यसको लागि पुरानो राजाविरुद्ध हुँकार गर्नु जरुरी थियो । युद्ध सत्ताको सोपान हो । यसले सत्तारोहण या पराजयको प्रतिनिधित्व गर्छ । त्यसै हतोत्व प्राप्स्यसी स्वर्ग जित्वावा भोक्षसे महिम भनिएको हैन ।

साहित्यकारको करिअर
के लेखेर खान सकिन्छ ? यो प्रश्न एक जमानामा धेरै नेपाली पत्रकारहरूले लेखकहरूलाई सोधिरहेको पाउँछु ।

महान चिजहरू सस्तोमा पाइन्छन्, अझ मुफ्तमै । अर्थशास्त्रीहरूले नै यसो भन्छन् । पानी, हावा मुफ्तमा हुन्छ, कामै नलाग्ने सुन र अझ हिरा कति महँगा हुन्छन् । त्यसैले एकातिर प्रकाशित किताब सुरुमा खासै नबिक्ने एउटा समूह हुन्छ भने अर्कोतिर हातहातै बिक्ने वेदप्रकाश शर्माहरू । मलाई सम्झना छ, म सानो छँदा वेदप्रकाश शर्माका किताब दोस्तोभ्स्कीका भन्दा महँगा थिए र बिक्थे पनि । अर्थशास्त्रका ठूला प्राध्यापकले लेखेका किताबहरू त्यति बिक्दैनन् । तर कसरी धनी बन्ने भनेर लेखिएका पुस्तकहरू बढी बिक्री हुन्छन् । हुन पनि चलेका धारभन्दा विपरीत धारका पुस्तकहरू त्यति धेरै चल्दैनन् ।

यदि साँच्चैको साहित्यकार पनि हुने र त्यसलाई आय आर्जनको बाटो पनि बनाउने हो भने अद्वितीय कुराहरू अनुभवहरू मुछेर नौला कुराहरूको लेखक बन्न सक्नुपर्‍यो ।

म नेसनल ज्योग्राफिकमा एउटा लेख पढिरहेको थिएँ । त्यहाँ थाङ्काका बारेमा ज्यादै मिहिन तरिकाले लेखिएको थियो । त्यति मिहिनेत हाम्रा साहित्यकारले गर्छन् होला जस्तो पनि लाग्यो । अथवा, त्यही थाङ्का बनाउन पनि त्यहाँका भिक्षुहरूलाइ राजाहरूले भरथेग गर्थे होलान् ?

साहित्यकारकै रुपमा करिअर बनाउन हाम्रो जस्तो मुलुकमा सजिलो छैन । बजार वा साहित्यको पुँजीकरण कम भएर मात्र यस्तो भएको हैन । खासमा माथिल्लो स्तरका साहित्यकार बन्न अद्वितीय अनुभव भएका मानिसमा त्यो अनुभवलाई सजीव बनाउने कलात्मक क्षमता हुनुपर्छ जुन विभिन्न क्षमता र भाग्यको संगम हो र त्यो मिलेका मान्छेहरू हामीले पाएका छैनौँ ।

जस्तो, ठ्याक्क मर्न लागेको मान्छेको मनस्थिति कस्तो हुन्छ ? यस्तो विवरण लेख्न सक्ने मान्छे कम हुन्छन् किनकि मर्न लागेका मानिस त्यसपछि मरिहाल्छन्, लेख्न सक्ने स्थितिमा हुँदैनन् । फ्योदोर दोस्तोभ्स्कीले आफ्नो उपन्यास द इडिअटक्राइम एन्ड पनिसमेन्टमा त्यस्ता अनुभवको बारेमा लेखेका छन् ।

नेपालमा नासु पूर्णनारायण प्रधानलाई ९७ सालको काण्डमा प्रख्यात चार शहीदसँगै मृत्‍युदण्ड दिइएको थियो, जुन उनलाई झुण्ड्याउने बेलामा दोस्तोभ्स्कीलाई जस्तै काराबासको सजायमा परिवर्तन गरिएको थियो । ८३ वर्ष बाँचेर २०३५ सालमा बितेका प्रधानसँग दोस्तोभ्स्किको जस्तो अनुभव थियो, तर उनले त्यसलाई लेखेको देखिँदैन ।

नेपाली साहित्य लेखनलाई करिअर बनाउन विश्वस्तरमै अनुपम मानिने यस्ता अनुभवहरू सजीव बनाएर लेख्न सक्ने साहित्यकारहरू हुनुपर्छ।

पद वा करिअरको कुरा छोडौँ, महान् लेखकको जीवन सजिलै बित्छ, पुस्तक आएपछि उही समाजले, उही पुस्ताले तिनीहरूलाई सम्मान दिन्छ भन्ने पनि छैन । दोस्तोएभ्स्कीलाई रुसीले भन्दा पहिला विदेशीले चिने । उनले बोलेका कुराहरू रुसी क्रान्तिका तत्कालीन सर्वव्यापी विपरीत भएकाले रुसीहरूले उनका लेखहरू धेरै रुचाउँदैनथे ।

साहित्यकारको करिअर के हो र कस्तो हुने हो भन्ने त्यसैले स्पष्ट छैन । साहित्यकारको करिअर भनेकै एउटा कृतिदेखि अर्को कृतिसम्मको अनिश्चित गन्तव्यहरूको साङ्लो हो ।

बजारले कृतिको स्तरको सही निर्क्यौल गर्न सक्दैन र यसैले साहित्यकारले पाउने प्रतिफलले साहित्यको उच्चस्तरलाई न्याय गर्न सक्ने सम्भावना कम हुन्छ ।

सत्तामा साहित्यकार
अरु करिअर नभएपछि किन सिधै शासकीय जिम्मेवारी नै लिनतिर नलाग्ने ? तर यसमा पनि साहित्यकारहरू त्यति प्रभावशाली देखिँदैनन् । सत्ता पाउनमा वा सत्तामा रहँदा अन्य मान्छेले भन्दा फरक रुपले सत्तासीन भएर कस्तो काम गर्ला ?

हुसेन महमद एर्साद आफूलाई साँच्ची नै साहित्यकार ठान्थे । उनको सत्तामा पर्फर्मेन्स खासै राम्रो भएको थिएन । बरु उनीपछि बंगलादेशले प्रगति गर्‍यो ।

वेदव्यासले चाहेको भए उनी हस्तिनापुरमा कुनै पनि पदको हकदार बन्नसक्थे, आखिर विदुर, धृतराष्ट्र र पाण्डु उनकै छोरा थिए । वेदव्यासले गरेको शासन फरक हुन्थ्यो होला ?

के पुराना राजाहरू सत्तासीन भएपछि राम्रा भए ? के काठमाडौंका कवि, नाटककार राजाहरू गैर्‍ह साहित्यकार राजाहरू भन्दा राम्रा भए त ? मल्लकालीन साहित्यकार राजाहरूको उदाहरण हेरौँ । भक्तपुरे अन्तिममा चार राजाहरू रणजित मल्ल, भूपतिन्द्र मल्ल, जीतामित्र मल्ल र जगतप्रकाश मल्ल एकातिर मैथिलीमा कृति लेख्थे । अर्कोतिर ठूला कलात्मक मन्दिर र दरबार पनि बनाए । भक्तपुरका राजाहरू अहिले हेर्दा साँच्चै कोमल थिए जस्तो लाग्छ तर प्रताप मल्ल त आफूलाई कवीन्द्र नै भन्ने राजा हुन् । कला संस्कृतिमा यिनको जोड भए पनि क्रुरतामा यिनको रेकर्ड त्यति राम्रो भएन, चाहे त्यो भीम मल्ल प्रतिको यिनको व्यवहार हेर्नुस् चाहे कुनै एक नाबालिग महिलाप्रतिको, जो यिनले करणी गर्न खोज्दा बितिन्।

साहित्यकारहरू कोमल हृदयका हुन्छन् भन्नेतिर नजाऊँ । क्याप्टेन यज्ञबहादुर थापा र मनोहर श्रेष्ठ, १६ वर्षका युवा दुर्गानन्द झाले महेन्द्रतिर देखाउँदै त्यो कुरा हैन है भन्ने नै छन् । उता सोल्झेनित्सिनले गोर्कीलाई बेस्मारी गाली गरेर लेखेको द गुलाग आर्किपेलागो सम्झौँ। गोर्कीले साहित्यलाई सत्तासीनको पाउमा चढाएर रुसको साहित्यको विविधताको आत्मालाई मारे भन्ने सोल्झेनित्सिनको आरोप छ।

त्यसबाहेक साहित्यकारहरूको आफ्नै संसार छ । त्यहाँ पनि सत्ता हुन्छ, एकेडेमी हुन्छ, पत्रिकाका सम्पादक हुन्छन्, पुस्तक प्रकाशक हुन्छन्, वरिष्ठ भनेर चिनिएका साहित्यकारहरू र कनिष्ठको बीचमा द्वन्द्व हुन्छ, विभिन्न विचारधाराहरू हुन्छन्।

२०३६ सालमा नयराज पन्तले जंगबहादुरको राजभक्तिमा कविता लेखेका थिए । त्यसमा पहिला दुई लाइन यस प्रकार थिए:

हाम्रा राजा तरंगी, कलुषितचरिता राजपत्नी हुनाले
धेरैले दु:ख पाए, मुलुक पनि भताभुंग बन्दो छ अहिले ।

यस कविता प्रकाशित भएपछि माधव घिमिरे, विजय मल्ल, बालकृष्ण पोखरेल, भूपि शेरचन र ढुण्डिराज भण्डारीले राजा विरोधी भनेर नयराज पन्तलाई एकेडेमी अथवा प्रज्ञाको सम्पादक समूहबाट निकाल्न खोजेको कुरा सम्भवत: नेपालमा चर्चित साहित्यकारहरूका बीचको युद्धको एक प्रमुख उदाहरण हो । हामीले कोमल भन्दा कोमल भावना भएका किताब लेखेको देखेका साहित्यकारहरू पनि सत्तामा हुँदा मानवीय शासकीय गुणबाट पर भएका देखिँदैनन् ।

शायद साहित्यकारहरूको यही गुणलाई हेरेर, मलाई लाग्छ खलिल जिब्रानले, एउटा कथा यस्तो लेखेका थिए । एउटा चरा थियो, जसले आकाशमा स्वच्छन्द विचरण गर्थ्यो र आफ्नो विहंगम दृष्‍टिले धेरै कुरा देख्थ्यो । जमिनमा ठूला साहित्यकारको रुपमा परिचित बाघ, गैँडा, सिंह थिए । चराले सोच्ने गर्थ्यो, यी ठूला साहित्यकारको दृष्‍टिले त्यस्तो केही देखिरहेको छैन जुन मैले देखेको छु । यिनीहरूको किताबमा त्यो कुरा आइरहेको छैन जुन आउनुपर्ने हो । यिनले लेखेको किताब एउटा सीमित दृष्‍टिबाट मात्र लेखिएको छ । चराले त्यसपछि एउटा किताब लेख्यो र त्यो किताब अन्तर्निहित महान् दृष्‍टिले गर्दा चर्चित भयो । सबैले पढे । वाह, कस्तो क्लासिक, कस्तो राम्रो भने । सबै बाघ, गैँडा, सिंहले त्यसपछि उक्त चरालाई भने, ‘अब तिमी माथि किन उडिरहेका छौ? आऊ, हामीसँगै बस । हामीजस्तै प्रभुत्व जमाऊ ।’

उक्त चरा त्यसपछि जमिनमा सुखसयल, प्रशंसा लिएर बाघ, गैँडासँगै बस्न थाल्यो । त्यसपछि उसको आँखाबाट त्यो विहंगम दृष्‍टि हरायो, ठ्याक्क पहिलेका लेखकजस्तै भयो ।

सत्ताच्युत साहित्यकार
भतृहरि सत्ता छोडेका साहित्यकार हुन् तर आफ्नै रहरले । उनको बडा दु:खको कथा थियो । उनले पाएको कल्पवृक्षको अमृत फल आफ्नी प्यारी चहेतीलाई दिए, उनले आफ्नी प्रेमी सेनापतिलाई दिइन्, सेनापतिले आफ्नै अर्की प्रेमिकालाई दियो र यसरी घुम्दै फिर्दै फेरि त्यो फल राजा भएको ठाउँमा आइपुग्यो । विरक्तिएर राजाले सत्ता छोडे । भतृहरिले सत्ताच्युत भएपछि त्यो समयको साहित्यको लागि उल्लेखनीय हुने काम पनि गरे । मान्छेहरूलाई “इन्स्पायर” गरे ।

भतृहरि छोडौँ र हाम्रो युगका लोकेन्द्रबहादुर चन्दलाई हेरौँ । २०५४ सालमा उहाँले “विसर्जन” मार्फत मदन पुरस्कार पाउनुभयो । २०४६ सालपछि सत्ता छोड्नुभयो कि भनेको चन्दको सत्ता प्रतिको यात्रा सम्भवतः अन्त भैसकेको भने छैन । उहाँ अझै दल बोकेर हिँड्नुभएको देखिन्छ । र उहाँका कृति माझिएका भए पनि तिनमा सत्ताको ‘अथेन्टिक’ स्वाद अझै आउँदैनन् । कोर्टको, भारदारी कचहरीको, अथेन्टिक स्वाद आएको भनेर चर्चित सेक्स्पियरका नाटक जस्तै स्वाद आउने कृतिहरू साहित्यकारहरूले सत्ता छाडेपछि पनि लेख्दैनन् ।

यस्तै बीपी कोइरालाले सत्ताच्युत भएपछि किताब लेख्नुभयो तर संस्मरणहरूमा जति राजनीतिक भए पनि आफ्ना साहित्यिक रचनामा उहाँ निरपेक्ष हुनुहुन्छ । अमेरिकी राष्ट्रपतिहरू रिटायर्ड हुन्छन्, संस्मरण लेख्छन् र पैसा कमाउँछन् तर संयोगले कुनै पनि यस्ता संस्मरणहरु “क्लासिक” को रूपमा चिनिन सकेका छैनन् । के देखिन्छ भने साहित्यकारहरू पनि सत्ताबाट निस्केपछि आफ्नो अनुभवमा आधारित रहेर किताब लेख्न डराउँछन् । एक त साहित्यकारहरू सत्तामै पुग्न महाभारत छ, त्यसमाथि तिनीहरूको सत्तामा पुगेपछि चुप लाग्ने बानी भएको छ ।

कोमल र सिर्जनात्मक मानिने साहित्यकारहरू सत्तामा गए के होला त ? मेरो मुख्य तर्क अन्य व्यक्तिको शासन भन्दा कवि वा साहित्यकारको शासन फरक हुन्छ भन्ने तथ्यांकीय प्रमाण भने छैन । सम्भवत: शासकीय क्षमता र लेखकीय क्षमता एक अर्कासँग “इन्डिपेन्डेन्ट” कुरा हुन् । आखिर साहित्यकारहरू पनि हामी जस्तै नागरिक हुन् । जसरी अहिलेको पपुलेसन स्याम्पलबाट नेताहरू छानिएका छन्, त्यहीँबाट कवि साहित्यकार पनि छानिएका छन्।

(पद्मश्री साहित्य पुरस्कार २०७७ अर्पण समारोहमा अर्थशास्त्री डा. विश्व पौडेलले दिनुभएको विद्वत प्रवचनको सम्पादित अंश ।)