साहित्यकार तथा सफल व्यवसायी जीवा लामिछानेले बहादुरीपूर्ण कामका लागि प्रमाणपत्र प्राप्त गरेका छन् । अन्टार्किटक महादेशकाे असाध्यै चिसो हिमनदीमा बहादुरीपूर्ण तवरले पौडेर सकुशल फर्किन सकेकाेमा उनलाई बधाईका साथ यो प्रमाणपत्र प्रदान गरिएकाे हो ।

त्यस्तै, लामिछानेले इतिहासका महान् अन्वेषकहरूलाई पछ्याउँदै कुख्यात ‘ड्रेक प्यासेज’ सफलतापूर्वक पार गरेकामा समेत प्रमाणपत्र प्रदान गरिएकाे छ ।

‘आज डिनर खाएर रुम फर्कँदा क्याप्टेनको हस्ताक्षरसहित क्याबिन रूममा राखिएका यी दुई सर्टिफिकेट पढ्न पाउँदा निक्कै खुसी लाग्यो ।’, लामिछानेले दुवै प्रमाणपत्र सामाजिक सञ्जाल फेसबुकमा साझा गर्दै लेखेका छन्, ‘पहिलो प्रमाणपत्रमा जोकोहीले आँट्नै नसक्ने अन्टार्कटिकको अति चिसो हिमनदीमा बहादुरी र दुस्साहसपूर्ण तवरले पौडेर सकुशल फर्केकोमा क्याप्टेनले बधाई तथा शुभकामना दिएका छन् । दोश्रो प्रमाणपत्रमा इतिहासका महान् अन्वेषकहरूको पाइला पछ्याउँदै कुख्यात ड्रेक प्यासेज सफलतापूर्वक क्रस गरेकोमा बधाई मिलेको छ ।

व्यवसायकाे सिलसिलामा विभिन्न देशहरूकाे भ्रमण गरिरहने लामिछाने नेपाली साहित्यमा नियात्राकारका रूपमा परिचित छन् । नियात्रा लेखन आफू पुगेका ठाउँकाे इतिहासदेखि मौलिकता र रहनसहनलाई सचित्र प्रस्तुत गर्नु उनको लेखनकाे हस्ताक्षर हो । उनका ‘देश देशावर’ र ‘सर्सर्ती संसार’ लोकप्रिय नियात्रा कृति हुन् ।

अन्टार्किटकको यो यात्राकाे अनुभवलाई लामिछानेले आगामी नियात्रा कृतिहरूमा समेट्नेबारे आशावादी रहन सकिन्छ ।