खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, रत्ननगर, चितवनले यस वर्षको पुरस्कार तथा सम्मान स्रष्टाहरूमा समर्पण गरेको छ ।  काठमाडौंमा आयोजित एक विशेष समारोहका बिच प्रतिष्ठानले पद्मश्री पुरस्कार “मनु” उपन्यासका लागि डा. देवीप्रसाद सुवेदीलाई, पद्श्री साधना सम्मान कलाकार दुर्गा बराललाई तथा पद्मश्री गौरव पुरस्कार शिक्षाविद् डा. सुरेशराज शर्मालाई अर्पण गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पुरस्कृत तथा सम्मानित सबैलाई दुवोको माला, फूलको माला, सम्मानपत्र एवम् नगद समर्पण गरेका हुन् ।

पुरस्कार तथा सम्मान तीन लाख रुपियाँ रहेको छ ।

कार्यक्रममा डा. जयराज आचार्यले विद्वत् प्रवचन दिएका थिए । स्कन्द पुराण, हिमवत् खण्ड, पशुपतिनाथका विविध पक्षलाई जोड्दै उनले नेपाली साहित्यसँग ती सबको तादात्म्यबारे निकै गहन प्रवचन दिएका थिए ।

कार्यक्रममा पुरस्कृत तथा सम्मानित तीनै प्रतिभाले आआफ्ना मन्तव्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सुरुमा सभाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने स्वागत तथा धन्यवाद मन्तव्य दिँदै पुरस्कार तथा सम्मानका बारेमा प्रतिष्ठानको धारणा राखेका थिए । कार्यक्रम सञ्चालन साहित्यकार ओम श्रेष्ठ रोदनले गरेका थिए ।