इच्छाकामना साहित्यप्रवाहद्वारा २०७९ आषाढ ३१ गते २०९औं भानुजयन्तीका अवसरमा खुल्ला कविता प्रतियोगिता एवं स्रष्टा सम्मान कार्यक्रम सर्वशान्ति मा.वि. कुरिनटारमा सम्पन्न भयो ।
इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्माको अध्यक्षता गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यता, उपाध्यक्ष माया सिलवालको विशिष्ट आतिथ्यता तथा वडा नं. ४ का अध्यक्ष रुद्र उप्रेतीको आतिथ्यतामा इच्छाकामना साहित्य प्रवाहका वर्तमान तथा पूर्व कार्यसमिति तथा सल्लाहकार समिति साथै साहित्यानुरागी शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कविता प्रतियोगिताको निर्णायक मण्डलमा कृष्णप्रसाद पोखरेल, विष्णुप्रसाद सापकोटा र जनार्दन कट्टेल रहनुभएको थियो ।
स्रष्टा सम्मानमा “कालो नैवेद्य” कविता कृतिका लागि कृष्णप्रसाद पोखरेल र “मनकली” उपन्यास कृतिका लागि विमला अधिकारी देवकोटालाई पुरस्कृत गरिएको थियो ।
कविता प्रतियोगितामा विमला अधिकारी देवकोटा प्रथम, ध्रुव अधिकारी द्वितीय र राजु परियार तृतीय हुनुभएको थियो ।
प्रमुख अतिथि तथा विशिष्ट अतिथिको बाहुलीबाट पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । प्रमुख अतिथिबाट इच्छाकामना साहित्य प्रवाहको उत्तरोत्तर प्रगतिको कामना गर्दै साहित्य, कला संस्कृतिको प्रवर्धनका लागि गाउँपालिकाबाट सहयोग गर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सल्लाहकार समिति सदस्य कृष्णप्रसाद सिलवाल र प्र.अ. जोहन खरेलले इच्छाकामना साहित्यप्रति शुभकामना मन्तव्य राख्नुभएको थियो ।
पुरस्कृतद्वय व्यक्तित्वबाट आफ्ना कृति पुरस्कृत भएकोमा खुसी व्यक्त गर्दै इच्छाकामना साहित्य प्रवाह परिवारप्रति आभार व्यक्त गर्नुका साथै रचना वाचन गर्नुभएको थियो ।
उक्त अवसरमा अध्यक्ष एकराज शर्मा बाट रु १००००/-, कृष्णप्रसाद सिलवाल बाट रु ६०००/- र कृष्णप्रसाद पोखरेल बाट रु ५१००/- थप चन्दा प्रदान गरिएको थियो । कार्यक्रममा कवि रामनाथ त्रिपाठी, सुदर्शन कट्टेल र लेखकुमारी सापकोटाले उत्कृष्ट अप्रतियोगी कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा अतिथि तथा निर्णायक मण्डललाई मायाको चिनो प्रदान गर्दै अध्यक्षले सभा विसर्जन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।