हेटौंडा / मकवानपुरका नारी साहित्यकारहरूको एक मात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।
साहित्यका विभिन्न विधासँगै पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई आँचलले सम्मान गर्न लागेको हो ।
कोभिड–१९ का कारण २०७८ सालमा प्रदान गर्नुपर्ने सम्मान तथा पुरस्कार यस वर्ष प्रदान गर्न लागिएको आँचलकी अध्यक्ष अनिता न्यौपानेले जानकारी दिनुभयो ।
साहित्य, कला, खेलकुद तथा पत्रकारितालगायतका क्षेत्रमा योगदान दिएर त्यस क्षेत्रको पहिचानलाई अझ उचाईमा लैजाने स्रष्टाहरूलाई एकसाथ सम्मान गर्न लागिएको उहाँले बताउनुभयो ।
आँचल साहित्य कला पुञ्जको चौथो अधिवेशनको अवसरमा मकवानपुरसहित अन्य जिल्लाका स्रष्टालाई हेटौंडामा सम्मान गर्न लागिएको अध्यक्ष न्यौपानेले उल्लेख गर्नुभयो ।
२०७९ असार २५ गते हुने अधिवेशनमा स्रष्टाहरुलाई सम्मान गर्ने आँचलकी सचिव भावना सापकोटाले जानकारी दिनुभयो । आँचलले समाजसेवी हरिवंश भेटवालले आफ्ना मातापिताको नाममा स्थापना गर्नुभएको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७८ का लागि लामो समय मकवानपुरको साहित्यमा सेवा गरेर, साहित्यलाई पछ्याउँदै हिँड्नु भएकी साहित्यकार तीर्थदेवी सिलवाललाई प्रदान गर्ने निर्णय गरेको छ । १० हजार एक रूपैयाँ र सम्मानपत्रसहित सम्मानित गरिने छ ।
१ लाख २५ हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७४ सालमा स्थापना भएको हो ।
साहित्यमा कलम चलाउने नारी साहित्यकारलाई मात्र दिइने यो सम्मान पाउने पहिलो व्यक्ति मकवानपुरकी कवि प्रतिमा पाठक हुनुहुन्छ । २०७५ सालका लागि भने सो पुरस्कार रुकु कार्कीलाई प्रदान गरिएको थियो ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नी दिदी प्रतिभा धितालको नाममा स्थापना गर्नु भएको प्रतिभा धिताल छन्द पुरस्कार–२०७८ का लागि झापामा जन्मनु भएकी भुषिता वशिष्ठलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
एक लाख रूपैयाँ अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष छन्दमा कलम चलाउने नारी साहित्यकारलाई यो पुरस्कार प्रदान गरिने छ । दश हजार एक रूपैयाँ राशीको यो पुरस्कार २०७५ सालमा स्थापना भएको हो भने पहिलो पटक यो पुरस्कार महाकाव्यकार बुनु लामिछानेलाई प्रदान गरिएको थियो । यसअघि प्रभा भट्टराई र कृष्णदेवी शर्मालाई समेत प्रदान गरिसकिएको छ ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गीय अप्सरा तिम्सिना लम्साल तथा छोरा प्रकाश लम्सालले आफ्ना ससुराबा/बुबाको नाममा स्थापना गर्नुभएको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान– मकवानपुर जिल्लाको पत्रकारिताका क्षेत्रमा लामो इतिहास बनाउनु भएका कृष्णराम परियारलाई प्रदान गर्ने निर्णय भएको छ । रु एक लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमा विशेष योगदान पु-याउने व्यक्तिलाई यो सम्मान दिइदै आएको छ । ७,७७७ राशीसहित सम्मानपत्रले सम्मानित गरिने छ ।
२०७५ सालमा स्थापना भएको यो सम्मान पहिलो पटक अग्रज पत्रकार कौशल पाण्डेलाई प्रदान गरिएको थियो भने प्रताप विष्ट, नवराज शर्मालाई पनि यो सम्मान दिइसकिएको छ ।
साहित्यकार रुकु कार्कीलगायत उहाँका बहिनीहरू प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रतीले आफ्ना स्वर्गीय पिता तथा माताद्वयको नाममा स्थापना गर्नुभएको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७८ का लागि हेटाँडा निवासी साहित्यकार देवराज खरेललाई प्रदान गर्ने निर्णय भएको छ । उहाँलाई ११,१११ राशी र सम्मानपत्रसहित सम्मानित गरिने छ । १ लाख ५० हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७६ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने व्यक्तिलाई दिइने यस सम्मान ललिता दोषी र निमेष निखिललाई प्रदान गरिसकिएको छ ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५सम्म अध्यक्षको कार्यभार सम्हाल्नु भएकी स्वर्गीय अप्सरा तिम्सिनाको नाममा उहाँका मातापिता गजाधर तिम्सिना तथा जशोधा तिम्सनाले स्थापना गर्नुभएको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८ चितवनमा बसेर साहित्यमा आफ्नो बलियो उपस्थिति जनाउने कवि सरिता तिवारीलाई प्रदान गर्ने निर्णय भएको छ । रु. १ लाख ९० हजार अक्षयकोषको प्राप्त व्याजबाट प्रत्येक वर्ष साहित्यको क्षेत्रमा विशेष योगदान पु-याउनु हुने व्यक्तिहरुलाई रु. १५,००१ राशीसहित सम्मान प्रदान गरिने छ । यो सम्मान यसै वर्षदेखि प्रदान गर्न लागिएको हो ।
यस्तै साहित्यलाई असाध्यै माया गर्नु हुने चन्द्रकिरण श्रेष्ठ र उहाँकी धर्मपत्नी मेनुका शर्माले आफ्नो आमा/सासूआमाको नाममा स्थापना गर्नु भएको सुन्तली माया श्रेष्ठ युवा प्रतिभा सम्मान २०७८ मकवानपुरमा बसेर पत्रकारिता र साहित्यमा आफ्नो बलियो उपस्थिति जनाउने हुने कवि छवि अनित्यलाई प्रदान गर्ने निर्णय भएको छ ।
१० हजार १ रूपैयाँसहित सम्मान प्रदान गरिने यो पुरस्कार पहिलोपटक सुवास खनाललाई प्रदान गरिएको थियो ।
यस्तै साहित्यसेवी मुक्तिगोविन्द वैद्य तथा उहाँकी धर्मपत्नी तारा वैद्यले आफ्नै नाममा स्थापना गर्नु भएको मुक्ति तारा नव प्रतिभा सम्मान २०७८ नवसर्जक साहित्य चौतारीकी केन्द्रीय अध्यक्ष समेत रहनु भएकी प्रशन्ना चौलागाईँलाई प्रदान गरिने भएको छ ।
५,००१ राशीसहित सम्मान प्रदान गरिने छ । पहिलोपटक प्रसिद्धिका लम्साललाई सम्मान गरिएको थियो ।
मकवानपुरका हास्यव्यङ्ग्यकार डा. गणेशकुमार पौडेलले आफ्नो पिताको नाममा स्थापना गर्नु भएको खड्ग बनस्खण्डी प्रतिभा सम्मान– २०७८ का लागि साहित्यकार जनार्दन खनाललाई प्रदान गर्ने निर्णय गरिएको छ । ५,००१ राशीसहित यो सम्मान प्रदान गरिने छ । यो सम्मान पहिलोपटक रामचन्द्र आचार्य फुर्सदीलाई समर्पण गरिएको थियो ।
शिक्षाविद् देवप्रसाद श्रेष्ठले आफ्नो आमाको नाममा स्थापना गर्नु भएको मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान– २०७८ यस वर्षका लागि चित्रकारितामा आफ्नो दख्खल राख्नु हुने उदयमान नवप्रतिभा ऋत्विक के.बी. लाई प्रदान गरिने निर्णय भएको छ । ऋत्विकले पछिल्लो समय साहित्यमा पनि आफ्नो उपस्थिति देखाउन थाल्नु भएको छ । ३,५०० राशीसहित यो सम्मान प्रदान गरिने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।