हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरको नियमित मासिक भेटघाट एवम् गजलकार/मुक्तककार मिथिला अधिकारीको रचना वाचन तथा विमर्श कार्यक्रम सम्पन्न भएकाे छ । साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा आँचलकी सल्लाहकार तथा संस्थापक पूर्णकला घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

गजल तथा मुक्तककार मिथिला अधिकारीले आफ्नो एक दर्जन मुक्तक तथा पाँच वटा गजल वाचन गर्नुभएको थियो । साथै उहाँद्वारा वाचिक रचनाको मुक्तककार भवानी तिमल्सिना न्यौपानेले टिप्पणी गर्नुभएको थियो । छोटो समयमै साहित्यका विभिन्न विधामा कलम चलाउन सफल मिथिला अधिकारीका रचनाहरू सुन्दर, सरल भाषा शैलीकाे प्रयोग गरिएको उहाँले बताउनु भयो ।

टिप्पणीको क्रममा भवानी तिमल्सिनाले भन्नुभयो, “आँचल स्थापनाको मुख्य उद्देश्य भनेकै हाम्रा समाजमा लुकेर रहेका प्रतिभाहरू प्रस्फुटनका लागि मञ्च प्रदान गर्नु तथा महिलाहरूको आत्मविश्वास बढाई आफ्नो मनमा लागेका कुराहरू सहजै अरूका अगाडि प्रस्तुत गर्न सक्ने बनाउनु हो ।”

कार्यक्रमका प्रमुख अथिति पूर्णकला घिमिरेले कार्यक्रम ओैचित्यपुर्ण भएको र आगामी दिनहरूमा पनि आँचलले यस्ता कार्यक्रमहरू गर्नुपर्ने बताउनु भयो ।

आँचलकी कार्यसमिति सदस्य रजनी पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य कार्यसमिति सदस्य एलिजा पुडासैनीले गर्नुभएको थियो ।

कार्यक्रममा एस.आर. मञ्जरी, दिनेश शर्मा, शोभा शाह थापा, डिबि बर्तौला, सानु खनाल, वैकुण्ठ लामिछाने , अनु रोक्का, छवि अनित्य, मसान उपासकलगायतका साहित्यकारहरूले रचनावनचन गर्नुभएको थियो ।

पुञ्जले हरेक महिनाको तेस्रो शनिवार मासिक भेटघाटको कार्यक्रम गर्दै आएकाे छ ।