संप्रस पौडेल । साहित्यकारद्वय स्व. अप्सरा तिम्सिना र स्व. दीपक मुडवरी स्मृतिविशेष रचना वाचन कार्यक्रम आयोजना हुने भएको छ ।
आँचल साहित्य कला पुञ्ज र साहित्य सङ्गम मकवानपुरको ३४५औँ नियमित साहित्य सन्ध्याका क्रममा संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गर्न लागिएको आँचल साहित्यकला पुञ्जकी सचिव सबिता तिमल्सिनाले बताउनुभयो ।
स्व. तिम्सिनाका ‘अभ्यन्तर’ कथा सङ्ग्रह र ‘किनाराका आवाजहरू’ कविता सङ्ग्रह गरी दुई कृति प्रकाशित छन् । वि.सं. २०६९ सालमा स्थापना भएको आँचलको नेतृत्वमा रहेर स्व. तिम्सिनाले मकवानपुरको साहित्यिक इतिहासमा उल्लेख्य योगदान दिनु भएको थियो ।
४६ वर्षको छोटो आयु लिएर आउनु भएकी उहाँले महिला लेखकहरूलाई संगठित गर्ने र राष्ट्रियस्तरका लेखकहरूसँग समन्वय, सहकार्य र निरन्तर सम्पर्कमा रहने अभ्यासलाई जोड दिनु भएकोले मकवानपुर मात्रै नभइ नेपालका थुप्रै साहित्य सर्जकहरूले बिर्सन नसक्ने नाम बनेको साहित्यकार माया ठकुरीले बताउनु हुन्छ । यस्तै निवर्तमान अध्यक्ष अनिता तिमल्सिना स्व. तिम्सिनाले संस्थालाई केवल संस्थाभन्दा आफ्नो घरका रूपमा माया गर्ने र सदस्यहरूलाई सोहीअनुसारको मायाप्रेमले संगठित गर्दै लेखनमा हौसला दिने गरेको सम्झनुहुन्छ ।
निरन्तर सक्रिय सहभागितामा साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको आँचल साहित्य कला पुञ्ज मकवानपुर महिला साहित्य सर्जकहरूद्वारा सञ्चालित संस्था हो ।
“अठोट” त्रैमासिक पत्रिका हेटौंडाबाट प्रकाशित स्व. मुडवरीले नेपालकै स्थापित तथा नव साहित्यसर्जकहरूका रचनाहरू प्रकाशन गराउनु भएको हो । अमेरिका निवास रहँदा नै “केही अस्पष्ट रेखाहरु” (२०७४) मा प्रकाशन गराउनु भएका मुडवरीको दोस्रो कविता सङ्ग्रह “केही अतृप्त स्पर्शहरू” प्रकाशनको तयारीमा हुँदाहुँदै देहान्त भएको हो । यसअघि उहाँले आफ्ना दिवङ्गत मातापिताको नाममा साहित्य सङ्गम मकवानपुरले व्यवस्थापन गर्नेगरी “सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार” स्थापना गर्नु भएको थियो ।
स्वर्गीय स्रष्टाद्वयको स्मृतिमा आँचल साहित्य कला पुञ्ज तथा साहित्य सङ्गम मकवानपुरको संयुक्त आयोजनामा हुने स्मृतिविशेष रचना वाचन कार्यक्रम साहित्य सङ्गम र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त सभाहलमा श्रावण १२ गते शनिबार आयोजना हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।