साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘सार्थक जीवन र मृत्युको विज्ञान’ विषयक विचार–गोष्ठी आयोजित

काठमाडौँ, असार २ / नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा ‘सार्थक जीवन र मृत्युको विज्ञान’ विषयक विचार–गोष्ठी आयोजना गरियो ।

प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचार–गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले जीवन र जगत्को रहस्य खोज्दै जाँदा दार्शनिकहरूले जीवन र मृत्यु दुवै जीवनका शाश्वत सत्य हुन् भनी निचोड निकालेको बताउनुभयो ।

bahulako diary small and inside post

उहाँले भन्नुभयो– “हाम्रो जन्म सत्य हो । हामी मर्छौं, त्यो पनि सत्य हो । हामीले भोगेको, जानेको कुरा हो, हाम्रो जीवनमा सत्य छ । जीवनलाई सार्थक कसरी बनाउने भन्ने कुराचाहिँ गम्भीर प्रश्न हो । मान्छेको मनोवृत्ति देशकाल परिस्थितिअनुकूल बनेको हुन्छ । जीवनलाई कसरी सार्थक बनाउन सकिन्छ भन्ने कुरा आफैँमा निर्भर रहन्छ ।”

कुलपति उप्रेतीले पूर्वीय जीवनपद्धतिको महत्त्वलाई स्थापित गर्न विद्वान्हरूबाट धेरै राम्रा काम भइरहेको बताउनुभयो ।
उहाँले संसार चिन्ने हो भने हिमवत् खण्डमै आउनुपर्ने विचार व्यक्त गर्दै भन्नुभयो– “हामीले हाम्रो सभ्यता र संस्कृति बुझ्नु पर्छ । ज्ञानको क्षेत्रमा नयाँ परिभाषा आइरहेको छ । नयाँ तथ्य र निष्कर्ष निस्किन्छ भन्ने चेतनाका संवाहक नेपाली विद्वानहरूको प्रयत्न स्तुत्य छ । पूर्वलाई स्थापित गर्ने गरी निरन्तर बहस हुनु जरुरी छ ।”

उपकुलपति डा. जगमान गुरुङले पूर्वीय चिन्तन नै त्यागको जीवन कसरी बिताउने भन्ने रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “मानिस मृत्युदेखि डराउँछ । पूर्वजन्मको पुण्य छ । अब अर्को जन्मलाई कसरी सफल बनाउने भन्ने छ । अहिले मानिस पश्चिमेलीको दास भएको छ ।” शरीर कमलको फूलजस्तो पत्र पत्र भएको उल्लेख गर्दै उपकुलपति डा. गुरुङले शरीरको कारणले आत्माले विभिन्न रूप धारण गर्ने विचार व्यक्त गर्नुभयो । उहाँले मृत्युलाई सहजरूपमा लिन सिकाउने चिन्तन नै पूर्वीय चिन्तन भएको बताउनुभयो ।

सदस्य सचिव तथा दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले ‘सार्थक जीवन र मृत्युको विज्ञान’ विषयक विचार–गोष्ठी मानव जीवन र जगत्का सम्बन्धमा सार्थक विमर्श गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो । उहाँले दर्शनशास्त्र विभागबाट भइरहेका महत्त्वपूर्ण कार्यहरूका बारेमा समेत प्रकाश पार्नुभएको थियो । उहाँले भन्नुभयो– “पहिला भारत वर्ष भनिन्थ्यो । अहिले भारत वर्ष विभिन्न देशमा खण्डित छ । अब भारत वर्ष भन्न मिल्दैन । तसर्थ हामी हाम्रो भूमिमा हाम्रा ऋषि–महर्षिहरूले प्रतिपादन गरेका जीवन दर्शनसम्बन्धी ग्रन्थ तयार गरी प्रकाशन गर्ने तयारीमा छौँ ।”

सदस्य सचिव प्रा. उपाध्यायले भन्नुभयो– “विज्ञान प्रयोगशालामा जान्छ तर दर्शनशास्त्रले जीवन र मृत्युका बारेमा भन्छ । अरुलाई लाभ दिएर क्रियाशील बाँच्ने जीवन सार्थक हुन्छ । जीवन जिउने प्राणतत्वलाई जीवन भनिएको छ । प्राण धारण गर्नु नै जीवन हो । हामीले मृत्युअघिसम्म पल पल मृत्युलाई सामाना गरिरहेका हुन्छौ । यो नै मृत्युको विज्ञान हो ।”

सामाजिक शास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तले भन्नुभयो– “विश्वमा पाश्चात्यको विजय सैन्यबलभन्दा पनि बुद्धिवलले नै भएको हो । संस्कृत वाङ्मय, संस्कृति र जातजातिका बारेमा पूर्वीय दर्शनमा धेरै महत्त्वपूर्ण कुरा छन् ।
हामीले बुझ्नुपर्ने कुरा पहिले पनि विक्रमको १२ औँ १३ औँ शदीसम्म हाम्रा पुर्खाले विद्याका आयाम बढाएका थिए । १७ औँ शताब्दीदेखि अत्यन्त कम भएको हो । गाथा गाएको मात्रै हो । यतातिर सबैको ध्यान जाओस् ।”

कार्यक्रमका सभाध्यक्ष मानार्थ प्राज्ञ सदस्य एवम् वरिष्ठ दर्शनशास्त्री प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रले ‘सार्थक जीवन र मृत्यु विज्ञान’ विषय गम्भीर भएको तर यसमाथि प्रवचनकर्ताले सरल ढङ्गले गहन व्याख्या गरेको बताउनुभयो । उहाँले जीवनलाई अरुको भलाई गर्ने कार्यमा लगाएर आनन्दपूर्वक जिउनु पर्नेमा जोड दिँदै भन्नुभयो– “मृत्युको चिन्तन गरे जीवन सार्थक बन्छ । मृत्युले त कर्तव्य निर्वाह गर भन्छ । म दर्शन पढेको मान्छे । दर्शन पढाएँ पनि । मैले पालना गर्ने कुरा भनेको आफ्नो जीवन सार्थक तुल्याउने हो र अरुको भलाई गर्ने हो । तपाईंहरू पनि सके जति सहयोग गर्न सक्नु हुन्छ, गर्नुहोस् । म विश्वास गर्छु । मृत्यु भनेको अनुभूति हो । जीवन यथार्थ हो । यसलाई अर्थपूर्ण बनाउनोस् ।”

‘सार्थक जीवन र मृत्युको विज्ञान’ विषयमा प्रवचन दिँदै नर्वेजियन युनिभर्सिटी अफ साइन्सेसका प्राध्यापक डा. विशाल सिटौला जीवनलाई आनन्दमय ढङ्गबाट जिउन जाने जीवन उत्सवमय हुने बताउनुभयो । उहाँले जीवनसँगै मृत्यु पनि जोडिएर आउने उल्लेख गर्दै शारीरिक शान्ति र मानसिक शान्तिसँगै मानिसले मृत्युको बोध गर्न जान्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– “तनाबरहित जीवन बाँच्ने कला हामीले सिक्नु पर्दछ । मृत्युलाई बोध गर्न जान्नु पर्दछ । यसो भने जीवन सार्थक बन्छ ।”

प्रा.डा. सिटौलाको प्रवचनमाथि डा. विद्यानाथ उपाध्याय, डा. चिन्तामणि योगी र स्वामी आनन्द अर्हत्ले पूरक विचार राख्नुभएको थियो । कार्यक्रमका प्रतिवेदक गणेश राई रहनुभएको थियो ।

कार्यक्रममा दर्शनशास्त्र विभागबाट प्रकाशित दर्शनशास्त्रसँग सम्बन्धित विभिन्न ६ ओटा कृति सार्वजनिक गरिएको थियो । कुलपति कुलपति उप्रेती र प्रा.डा. मिश्रले कृति सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक गरिएका कृतिहरूमा ‘कर्णाली प्रदेशमा प्रचलित दर्शनपरम्परा’, ‘रामानुजाचार्यको विशिष्टाद्वैत दर्शन’, ‘प्रशस्तपादभाष्य’, ‘वैशेषिक सूत्रको विवेचनात्मक व्याख्या’, ‘सर्वार्थ योगवाणी’ र ‘तन्त्रसर्वस्व’ छन् । फरक फरक अध्येता तथा दर्शनशास्त्रीले यी पुस्तक लेख्नुभएको हो । विष्णुप्रसाद शर्माले ‘कर्णाली प्रदेशमा प्रचलित दर्शनपरम्परा’ अनुसन्धान गरी लेख्नुभएको हो ।

यसैगरी नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेसका प्राध्यापक डा. विशाल सिटौलाको ‘संसार एक पाठशाला’ कृतिसमेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रदेश १ का पूर्व प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, सत्यनिरुपण तथा बेपत्ता छानविन आयोगका सदस्य डा. विष्णुप्रसाद पाठकलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया
Loading...