माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक भानुभक्त ढकालज्यूलाई आज प्रज्ञा भवनमा स्वागत गरिएको छ । उक्त अवसरमा माननीय मन्त्रीज्यूलाई बधाई अर्पण गर्नुका साथै कार्यकाल सफलताको कामना गरिएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय र प्राज्ञ परिषद्का सदस्यज्यूहरूले खादा ओढाई माननीय मन्त्रीज्यूलाई स्वागतका साथै बधाई र शुभकामना अर्पण गरेका थिए । कुलपति उप्रेतीले माननीय मन्त्रीलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका समग्र गतिविधिबारे जानकारी गराए ।
प्रज्ञा–प्रतिष्ठानका गतिविधि र योजनाको जानकारी लिएपछि मन्त्री ढकालले प्राज्ञिक क्षेत्रको उन्नयनका लागि आफ्नो पूर्ण सहयोग रहने बताए । उनले भने, “पछि थप जानकारी लिएर फेरि छलफल गरौँला, राम्रो गर्नुस् । राम्रो काम गर्नलाई म साथमा छु ।”
कुलपति उप्रेतीले कोभिड महामारीका कारण प्रतिष्ठानका महत्त्वपूर्ण कार्यक्रम अवरुद्ध भए पनि आगामी दिनमा ती कार्यक्रमलाई अघि बढाइने बताए । देवकोटा सङ्ग्रहालय, नेपाल दर्पण महाग्रन्थको तयारी, चीनसँगको अनुवाद कार्यक्रम तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन जस्ता कार्यक्रम योजनाबारे पनि कुलपति उप्रेतीले मन्त्रीलाई अवगत गराएका थिए ।
कुलपतिले मुलुकको समग्र पहिचान झल्कने गरी सात ओटै प्रदेशका प्रादेशिक ग्रन्थ लेखन कार्य अघि बढाइएको र प्रदेश नं २ को लेखन सकिएको तथा बाँकी प्रदेशका लागि रु. तीन करोड बजेट आवश्यक पर्ने भएकाले सहजीकरणका निम्ति मन्त्रीसमक्ष आग्रह गरेका थिए । प्रादेशिक ग्रन्थपछि नेपाल चिनाउने मानकका रूपमा नेपाल दर्पण महाग्रन्थ निकालिने उनले योजना सुनाएका थिए ।
कुलपति उप्रेतीले मैतीदेवीस्थित महाकवि देवकोटाको घर कविकुञ्जलाई आधुनिक सङ्ग्रहालयका रूपमा विकास गर्न प्रज्ञा–प्रतिष्ठानले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर मन्त्रालयलाई बुझाएको र करीब रु पाँच करोड लागतमा पहिलो चरण र बाँकी काम गर्न करीब रु छ करोड गरी जम्मा रु ११ करोड ३३ लाख लागत रहने बताए ।
उनले भने, “चारतले भवन दुई वर्षभित्र सक्ने गरी योजना बनाइएको छ । भवनको बाहिर देवकोटाको प्रतिमा र भुइँतलामा डबली रहनेछ । पहिलो तलामा देवकोटाको अडियो भिडियो, दोस्रो तलामा देवकोटाले प्रयोग गरेका सामग्री, चौथो तलामा देवकोटाका प्रकाशित कृति रहनेछन् ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।