नेपाल प्रज्ञा–प्रतिष्ठानले पछिल्लो समय आउट अफ प्रिन्ट रहेका पुस्तकहरू पुनः प्रकाशन गर्न थालेको छ। बजारबाट वर्षाैंअघि गायब रहेका त्यस्ता पुस्तकहरू यतिबेला प्रतिष्ठानले धमाधम प्रकाशन गर्दै बजारमा पठाउन थालेकाे हो ।

पछिल्लो समय भने प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ नामक पुस्तक पुनः प्रकाशित गरेको छ । तात्कालिक नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रायल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा अनूदित र सोही प्रज्ञा–प्रतिष्ठानद्वारा वि.सं. २०२५ सालमा पहिलो पटक प्रकाशित ‘चीनका प्राचीन कथा’ नामक पुस्तक ५२ वर्षपछि नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भर्खरै दोस्रो संस्करणका रूपमा  प्रकाशन भएको हो ।

यस पुस्तकबाट अत्यन्त प्राचीन सभ्यता र संस्कृतिले सम्पन्न देशका रूपमा रहेको चीनमा प्रचलित लोककथाहरू, तिनमा प्रस्तुत जनजीवन, लोकविश्वास अनि कथात्मक शैली र प्रवृत्तिहरूसँग थोरै मात्रामा भए भए पनि आजका नेपाली पाठकहरू परिचित र लाभान्वित हुने प्रतिष्ठानले अपेक्षा गरेको छ ।

पुस्तक प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्षमा र प्रज्ञा–प्रतिष्ठानको आधिकारिक विक्रेता मकालु प्रकाशन गृहमार्फत सातओटै प्रदेश तथा नेपालबाहिर समेत प्राप्त गर्न सकिने बताइएको छ ।