Chovar Blues Mobile Size

नेपाली लोक नृत्यका क्षेत्रमा विशिष्ठ योगदान गर्ने नृत्य गुरु भैरवबहादुर थापालाई एक समारोहबीच वरिष्ठ चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेलले भीमदर्शन रोका आदर्श गुरु सम्मान र पुरस्कारले सम्मानित गर्नुभएको छ । त्यसैगरी भीमदर्शन रोका स्मृति कोषद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि खरेलले समाजसेवाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने मानवसेवा आश्रमका लागि प्रमुख संरक्षक डा. गोविन्द टन्डनलाई सम्मान गर्नुरिएको छ ।

दुबै सम्मानसँगै नगद पचास हजार रुपैयाँ प्रदान गरिएको थियो । सो अवसरमा उहाँले भैरवबहादुर थापा र मानवसेवा आश्रमले समाज, राष्ट्र र मानवताका लागि गरेको उल्लेख्य योगदानको चर्चा एवम् प्रशंसा गर्नुभयो।

कोषका अध्यक्ष जयदेवकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ चलचित्र निर्देशक तथा साहित्यकार प्रकाश सायमीले पुरस्कृत भैरवबहादुर थापाका बारेमा प्रकाश पार्दै उहाँको योगदानको चर्चा गर्नुभयो। पुरस्कृत प्रतिभा भैरवबहादुर थापाले आफ्नो विगतको स्मरण गर्दै भीमदर्शन रोका आफ्नो अभिन्न मित्र भएको बताउँदै रोकासँगका रोचक स्मरण सुनाउनुभयो। डा. गोविन्द टन्डनले मानवसेवा सर्वोपरि सेवा हो भन्दै आश्रमले गरेका काम र संस्थाको उद्देश्यबारे चर्चा गर्नुभयो।

समारोहमा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले भीमदर्शन रोकाले नेपाली मुक्तकको विकासमा गरेको योगदानको प्रशंसा गर्दै थोरैमा धेरै भन्न सकिने विधा मुक्तकको चर्चा गर्नुभयो।

कार्यक्रममा कोषका सचिव यादव भट्टराईले भीमदर्शन रोका वास्तवमै आदर्श गुरु भएको र उहाँको नाउँमा स्थापित पुरस्कार र सम्मानका लागि पनि उहाँजस्तै योग्य पात्रको खोजी आवश्यक हुने बताउनुभयो। सभापति जयदेवकृष्ण श्रेष्ठ, उपाध्यक्ष दीपेन्द्रनाथ शर्मा, दया फाउन्डेशनका अध्यक्ष निभा माथेमा, गायक योगेश्वर अमात्य लगायतले भीमदर्शन रोकाको व्यक्तित्वका विविध सन्दर्भबारे बोल्नुभएको थियो।