म भैरवबहादुर थापा । राज्यले बिर्सेका बेला २०७७ को जगदम्बाश्रीद्वारा सम्मानित भएको समाचार सुन्न पाउँदाको बेला त्यो हर्षको बाछिटा थेग्न धौ धौ पर्यो । दुई हप्ता नबित्दै मदन पुरस्कार गुठीबाट प्राप्त भएको यो अनमोल बधाई पत्र जब मेरो ८९ वर्षको हत्केलामा पर्यो, यो हर्षको बयली झन बेग्लै किसिमले थपियो । शरीरका रोमरोम नै तरङ्गिने गरी । मन चङ्गा भएपछि अतीतका दिनमा मलायादेखि नाच्न थालेको कुरा सम्झिनु स्वभाविक नै हो ।

त्यसबेला मलायामा भएको ब्रिटिस गोर्खा आर्मीको फस्ट सिक्स बटालियनमा ‘नेपाली टार्जन’, ‘नेपाली बाबु’ र ‘डान्सर’ तीन उपनामले चर्चित राइफल म्यान अफिस क्लर्क म भैरवबहादुर थापालाई सन् १९५३ को जुन २ तारिखका दिन बेलायतकी महारानी एलिजावेथको शुभराज्याभिषेकको उपलक्ष्यमा रातभरि नाच्नु पर्यो । अफिसरदेखि सबैले रमाइलो मानेर धन्यवाद दिएका थिए । फलस्वरूप ६ महिने घरछुट्टीको बिदासमेत मैले पाएँ । त्यसबेला म २० वर्षको थिएँ । संयोगवश २०१० असार ६ का दिन मलायाबाट काठमाडौं आइपुगेको नौ दिनपछि नै नेपाल नाटक सङ्घका संस्थापक नाटककार भीमनिधि तिवारीजीले असार १५ मा मलाई नेपाल नाटक संघको ‘प्रतिभाशाली कलाकार’ भनेर घोषित गर्नुभएको थियो । ती दिनका कुरा सबै बिर्सिसकेका बेला जगदम्बाश्रीको सम्मानले गर्दा आज त्यो स्मरण शक्ति पनि जागृत भयो ।

म कलाकार घोषणा भएको ७२ दिनपछि २०१० असोज ३ का दिन अखिल नेपाल किसान सङ्घको वार्षिक सम्मेलनको अन्तिम दिन भुरूङखेलको चउरस्थित डबली मञ्चमा अकस्मात् मैले आफ्नो एकल भाव लोकसाँस्कृतिक नृत्य एक घण्टासम्म प्रस्तुत गर्नुपरेको दिन पनि सम्झिन थालेँ । त्यसबेला चउरभरि उपस्थित हजारौँ जनसमूहबाट अविच्छिन्न रूपले गुञ्जेको कर्तल ध्वनि पनि अचम्मकै जोशिलो थियो । अर्कातिर मलाया डान्सर भनेर “भैरवबहादुर थापाको लोक साँस्कृतिक प्याखँ उपत्यकावासीले नै हेर्न पाउनुपर्छ” भनी माग गरिएको एक हाते लामो लिखित नेपाली कागज मञ्चका उद्‌घोषकको हातमा बुझाएको समेत सम्झना आयो ।

“जनताको माग भएबमोजिम भोलिदेखि ६ दिनसम्म मलाया डान्सरको लोक साँस्कृतिक प्याखँ हुने” भएको निर्णय उद्घोषकको रूपमा साहित्यकार कृष्णचन्द्रसिंह प्रधानजीले मञ्चबाटै घोषणा गर्नु भएपछि मात्र जनताको होहल्ला शान्त भयो । साथै मलाई वचनबद्ध गराएर आफ्नो घरमा जाने अनुमति दिएको त्यो दिनको समेत सम्झना आउनुभनेको जगदम्बाश्रीकै शक्तिले हो ।

आखिर ६ दिनसम्म मलाया डान्सरको लोक साँस्कृतिक प्याखँ हेर्न भुरूङखेलको चउरमा बास बस्ने गरी आएका जनसमूहको भीड बेग्लै थियो । मलाया डान्सरको लोक प्याखँ सिक्न चाहने इच्छुक विद्यार्थीहरूको हुल भिन्दै थियो । साथै “भैरव सरले लोक प्याखँ जसरी भए पनि विद्यार्थीहरूलाई सिकाइदिनुपर्छ” भनी अनुरोध गर्न आएका विद्यार्थीका अभिभावकहरूको झुण्ड पनि भिन्नै थियो।

जीवनमा पहिलोपटक आफ्नो नृत्य कलाको प्रशंसकहरूको नयाँ माहोल बढ्दै गएको देख्दा, प्रत्येक दिन भुरूङखेलको डबलीमा हर्षले म फूर्तिले नाच्दै थिएँ । साथै “स्कूलमा नृत्य सिक्ने व्यवस्था मिलाउनु भएमा म आएर सिकाइदिन्छु” पनि भन्दै थिएँ विद्यार्थीहरूलाई । तर भोलिपल्ट विद्यार्थीहरू आएर आँसु पुछ्दै भन्न थाले,“गाईजात्रे नाच सिकाउन दरबार स्कूल खोलेको हैन, प्रजातन्त्र आयो भन्दैमा भाँडभैलो नाच गर्न पाइँदैन भन्नु भएर खुब झपार्नुभयो हाम्रा सरहरूले । हामी त बहुलाउने भयौँ, अब के गर्ने भैरव सर ?’’

त्यसबेला तीन महिना स्काउटको तालिम पाएका ज्यापू भनेर चिनिने एक सज्जनज्यूले विद्यार्थीहरूका बिलौना सुनेर “भैरव सरलाई थाहा छ कि छैन ? तपाईँको लोक सांस्कृतिक नृत्यलाई यहाँ गाईजात्रे प्याखँ भनिन्छ । त्यस्ता प्याखँहरू बिनाचाडपर्व जथाभावी नाचिने चलन हुँदैन। स्कूलको मास्टरले झपारेर विरोध गर्नु स्वाभाविकै हो । एक त लोग्ने मानिसको नाच देखियो भने बिरालोले बाटो काटेझैँ अशुभको सङ्केत मानिन्छ । त्यसकारण गाईजात्राको पर्वमा मात्र पुरूष भेषमा पुरूषले नाच्न पाउँछन्, नभए नारीको भेषमा नै मारूनी भएरै पुरूषले नाच्नुपर्छ, त्यो पनि पुख्र्यौली पर्वको सन्दर्भमा पारेर । त्यस्तो पुरानो रीतिरिवाजको डबली मञ्चमा आज भैरव सरले पुरूषको भेषमा नाच्दा पनि प्रत्येक दिन हजारौँ हजारौँ मानिसहरू बिनाविरोध हेर्न झुम्मिरहेका छन् । रूढिवादी सोचमा नै अचानक परिवर्तन भएको देखिनु अचम्मलाग्दो भएको छ। वास्तवमा भैरव सरको लोक सांस्कृतिक नृत्य क्रान्तिकै रूपमा प्रकट भएको हुनाले यही मौकामा विद्यार्थीहरूको इच्छा पु‍र्याउन स्काउटको ट्रेनिङ्ग गराउने भनेर भैरव सरले यही भुरूङखेलको चउरमा आर्मी ड्रिलको ट्रेनिङ्गसँगसँगै नृत्यको पनि तालिम गराउनुहोस् । विद्यार्थीहरू पनि खुसी हुन्छन्, भैरव सरको प्रचार पनि हुन्छ । यसरी स्काउट सँगसँगै परिचालन भएको संगीत र नृत्यलाई स्काउटकै प्रचलन भएको अङ्ग ठान्दछन् । स्काउटको नाताले म पनि भैरव सरसित आबद्ध हुन पाउँछु । साथै स्काउटको नाममा भुरूङखेलको चउर पनि उपयोग गर्न पाईन्छ ।”

ज्यापूजीका यी सुझावहरू सबैलाई चित्तबुझ्दो भएपछि स्काउटका लागि एकैनासे ड्रेस हुनुपर्छ भनी मैले आग्रह गरेँ । अन्दाजी ५६ जना विद्यार्थीहरू पोशाक सिलाउन तयार भए । चारजना असमर्थ विद्यार्थीहरू रून थालेपछि दुईजनाको पोशाक खर्च ज्यापूजीले व्यहोर्ने वचन दिनुभयो। अर्को दुईजनाको मैले व्यहोर्ने गरी इन्द्रचोकको दर्जीलाई सिलाउने अर्डर गरियो । पोशाक तयार भएपछि २०१० को असोज २२ का दिनदेखि २३ मिनेट आर्मी ड्रिल, २३ मिनेट नृत्य, फेरि २३ मिनेट आर्मी ड्रिल अनि २३ मिनेट नृत्यको मिश्रित तालिम शुभारम्भ भयो।

यसरी काठमाडौँको भुरूङखेल चउरमा पहिलोपटक विदेशी ड्रम प्रयोग नगरेर केवल मगखीँको तालमा स्काउट सँगसँगै नृत्यको तालिम पनि हुन थालेपछि हेर्न आउने बालवनिता, युवायुवती र वृद्धवृद्धाहरूको हुल प्रत्येक दिन थपिँदै गएको चर्चासमेत सर्वत्र फैलियो। त्यो चर्चाले गर्दा राजनीतिज्ञ विश्‍वेश्‍वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, ऋषिकेश शाह, कमरेड पुष्पलाल श्रेष्ठ, कामरेड पीएन राणा, कमरेड निर्मल लामा, कमरेड तुलसीलाल अमात्यलगायत नेताहरूका सम्बन्धित विद्यार्थी नेता र युवा नेताको समेत आआफ्ना भाषण कार्यक्रमको अवसरमा सर्वप्रथमः मलाया डान्सरको नामले म भैरवबहादुर थापाको लोकसाँस्कृतिक प्याखँ प्रस्तुत गर्नुपर्ने एक नियमजस्तै हुन पुग्यो । मानिसहरू भेला गर्नका निम्ति।

कुनैबेला राजनैतिक नेताले राज्य व्यवस्थाविरुद्ध भाषण गरेको अवस्थामा अचानक पुलिसहरूले झम्टिन खोज्दा मञ्चबाट भागेका नेतासँगसँगै आफूलाई पनि गल्ली गल्ली लुकेर भाग्नुपरेको भोगाइसमेत ताजा भएर आएको छ । काठमाडौँ र पाटनको विभिन्न टोलटोलमा हुने आआफ्ना छुट्टै किसिमका स्थानीय धार्मिक पूजाहरूमा समेत मलाया डान्सरको लोक प्याखँ चोकचोकको डबली मञ्चमा प्रस्तुत भएकै हुनुपथ्र्यो । त्यस्तै कवि गोष्ठी हुँदासमेत सर्वप्रथमः भैरवबहादुर थापाको नृत्य प्रस्तुत भएपछि मात्र कविता वाचन हुने गथ्र्यो ।

प्रायः दिनमा राजनैतिक मञ्च, धार्मिक मञ्च र साहित्यिक मञ्चमा आफ्नो नृत्य प्रस्तुत गरेपछि साँझपख भुरूङखेलको स्काउट तालिममा पुग्न भ्याएकै हुनुपथ्र्यो । यो दैनिक चर्याजस्तै थियो मेरो त्यसबेला । यसरी आफू नाच्दा र अरूलाई नचाउँदै जाँदा भुरूङखेलमा परिचय भएको प्रसिद्ध नाटककार बालकृष्ण समजीका ऐतिहासिक नाटक अमरसिंहमा समेत आबद्ध हुन पुगेँ म । त्यसैबेला मबाट चार महिना स्काउट र नृत्यको तालिम लिएका विद्यार्थीहरू मलाई बालसखा दलको अध्यक्ष पदमा राख्नका लागि सल्लाह लिन नाटककार बालकृष्ण समजीको निवासमा पुगेछन् ।

भैरवबहादुर थापा सरलाई नेपालमै रोकेर राख्न मनसाय भएको कुरा विद्यार्थीहरूबाट बुझ्नेबित्तिकै उसैबेला ती विद्यार्थीहरूसँगसँगै बालकृष्ण समजी मेरो निवास आउनुभयो र भन्नुभयो, “यी तपाईँका सागिर्दहरू भैरवजीलाई बालसखा दलको अध्यक्ष पदमा राख्नु प‍र्यो भन्न म कहाँ आउनुभयो । भैरवजीको नाम उठेपछि मेरो पनि चासोको विषय हुन पुगेकोले भैरवजीलाई भेट्न आएको हुँ । विशेष नृत्यको कुरा गर्दा खासगरी नाटकको दृश्य समाप्त भएपछि पर्दा लाग्छ र त्यही पर्दा अगाडि मात्र नृत्य देखाइने चलन हुन्छ, यदि राख्नु परेमा । तर भैरवजीको लोक साँस्कृतिक नृत्यको प्रचारले गर्दा “साँस्कृतिक कार्यक्रम” भनेर छुट्टै नृत्यमात्र देखाउने चलन ल्याउनु भयो भैरवजीले । त्यसकारण भैरवजीकै नामबाट “भैरव नृत्य दल” संस्था किन नखोल्ने ? यो नाम नृत्य विधाको लागि उपयुक्त पनि हुन्छ । एक त भैरवजीको नृत्य सबैले मन पराएको बेला कसैबाट विरोध आउन सम्भव पनि छैन ।”

बालकृष्ण समजीका कुरा सुनेपछि “असाध्य राम्रो लाग्यो” भनेर सबैले समर्थन जनाए । मैले हुँदैन भन्न सकिनँ । किनकि बालकृष्ण समजस्ता प्रतिष्ठित व्यक्तिको आगमनले नै म गौरवान्वित भैसकेको थिएँ । छलफल हुँदै जाँदा बालकृष्ण समजीकै नेतृत्वमा नेपालमै पहिलो नृत्य विधाको संस्थाका रूपमा “भैरव नृत्य दल” स्थापना भयो २०१० फागुन १० का दिन । भैरव नृत्य दलको स्थापना भएपछि ब्रिटिस गोर्खा आर्मीको सम्झना हुँदाहुँदै पनि माया मार्नुप‍र्यो मैले । भविष्यमा सुविधास्वरूप आर्मीबाट पाउने अन्दाजी दुई लाख रूपैयाँ मासिक भत्तासमेत गुमाउन बाध्य भएँ । आफ्नो रहरले बाध्य भएँ वा कसैको आवश्यकताको खाँचो पूरा गर्न बाध्य भएँ, मेरो बयली उमेरले गर्दा मलाई थाहा नै भएन । गुनासो गर्ने फुर्सद पनि भएन ।

जे भयो, आफूलाई चित्तबुझ्दो नै भयो । स्काउटमा बजाइने विदेशी ड्रम हटाएर मगखीँ (मगर बाजा) अर्थात् मादलको तालबाट स्काउट र नृत्यको तालिम पनि मबाट नै सुरुवात भयो । गाउँ गाउँका लोकनृत्यहरूलाई परिमार्जन गरेर विधिपूर्वक मञ्चनीय पद्धतिमा प्रस्तुत गर्ने काम पनि मबाट नै सुरूवात भयो । साथै परम्परादेखि चल्दै आएको “डबली नाच”लाई समेत शिष्ट भाषामा “साँस्कृतिक कार्यक्रम” भनेर सुरूवात भयो मबाट नै । गीति–नाट्य, मूक नाट्य, वाणी नाट्यलगायत मयूर नृत्य, याक नृत्य, झाँक्री नृत्य, पद्मसम्भव नृत्य, प्रतिध्वनि नृत्य, एकता नृत्य, विद्या धनम् नृत्य, रोइला, मछुवा, टप्पा, झ्याउरे, सोरठी, खुकुरी, डम्फे, सेलो, ताजिया, किम्बु–सुँताँ जस्ता अनेक नृत्यहरू सिर्जना गरियो।

मेरा यी सिर्जनाहरूमध्ये केही नृत्यहरू आज राष्ट्रको साँस्कृतिक सम्पदा हुन पुगेका छन् । तर सर्जकलाई सम्पदाको पंक्तिमा अङ्कित गर्न नसकेको देख्दा राज्यका सम्बन्धित फाँटहरू कागलाई बेल पाकेकोजस्तै भयो सर्जकका लागि । जे भए पनि मेरो “किसान” भाव नृत्यलाई चीनका प्रथम प्रधानमन्त्री चाउ–एन–लाईज्यूले अत्याधिक मन पराउनुभयो। त्यस्तै भारतका प्रथमः प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूजीले मेरो इको नृत्यको प्रशंसा गर्नुहुँदै “नेपालके भैरव पार्टी ने इको नामक पोएटिक ब्याले डान्स कि सुरूवात करते हुए देखकर मेरी राय बदल दी” समेत भन्नु भयो । तर, नेपालका नेता र व्यवस्थापकहरूले केवल उपयोग मात्र गरे। तापनि ६५ वर्षको तपस्याबाट विश्‍व उपयोगी नृत्य लिपिसम्बन्धी “नृत्याक्षर विज्ञान” शास्त्रको समेत रचना गर्न भ्याएँ । भन्ने नै हो भने विदेशका विकसित नृत्यको दाँजोमा नेपाली नृत्यलाई प्रस्तुत गर्न सक्नु चानचुने विषय थिएन ।

साँच्चिकै भन्नुपर्दा मेरा योगदानहरू कला साहित्यका न्यायालयरूपी श्रद्धेय मदन पुरस्कार गुठीको नाङ्लोमा चालिन पुगेकाले नै जगदम्बा–श्रीबाट सम्मानित हुन सफल भएँ । जसले गर्दा आज गंगा समानको सम्मान कार्यक्रममा आफ्ना अतीतका केही व्यथाहरूसमेत बिसाउने मौका पाएको हुनाले आफूलाई धेरै–धेरै धन्य भएको ठानेको छु । जगदम्बाश्रीको जय होस् । श्रद्धेय मदन पुरस्कार गुठीका सम्पूर्ण सदस्यहरूको पनि जय होस् । अनि निर्णायक मण्डलका सदस्यहरूको पनि जय होस् । साथै उपस्थित सबै सज्जन वर्गको दीर्घायुको कामना गर्दै, सबैको जय होस् पनि भन्दै सबैलाई हार्दिक नमस्कार ।

(२०७७ सालको जगदम्बा श्रीबाट सम्मानित भैरवबहादुर थापाले पाटनको रातो बङ्गला स्कूलमा आयोजित पुरस्कार वितरण समारोहमा दिएको मन्तव्यको सम्पादित अंश )