सबै मानिस सबैलाई मन पर्दैनन् । तर वासु अपवाद थिए भन्दा अतिशयोक्ति नहोला । सरल, हँसिलो र युवादेखि वृद्धवृद्धा सबैसँग मिल्न सक्ने खुबी थियो वासुसँग । लामो समयको मित्रता र संगत अवधिभरि मैले वासुलाई कोहीसँग पनि रिसाएको र झगडा गरेको देखिनँ । पशुपतिको देवपतनमा वासुको घर धेरै स्रष्टाहरूको जमघट हुने थलो थियो । बिहान जुलुम भाउजूलाई चिया पकाउँदाको सास्ती हुन्थ्यो भने बेलुकी ऐला बाँड्दाको ।
वासु शशी मेरो दृष्टिमा एउटा बहुआयामिक उम्दा स्रष्टा हुन् । वासुले के लेखेनन् ? कविता, गीत, मुक्तक, नाटक उपन्यास, चलचित्रको कथा र टेलिफिल्महरूको पटकथा आदि–आदि । मौलिक रचना बाहेक उनले सम्पादन र अनुवाद गरेका कृतिहरूको पनि लामै फेहरिस्त बन्छ । रेडियो नेपालमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दा म कविताको कार्यक्रम ‘काव्य–कुञ्ज’ पनि सञ्चालन गर्दथें । वासुका कवितासङ्ग्रह ‘केही कविता’, ‘मेरी उषा’, ‘पानी गल्दैन’, ‘यौटा यस्तो फूल चाहिन्छ’ आदि कवितासङ्ग्रहरूबाट धेरै पटक कविता वाचन गरेको छु मैले ।
२०४७ सालमा एक दिन मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एउटा कथा लिएर मकहाँ आए चलचित्र निमार्णका लागि । त्यो कथा थियो वासुको । त्यही ‘लोभीपापी’ कथामा मैले निमार्ण निर्देशन गरें, कथानक चलचित्रमा मदनकृष्ण र हरिवंशको प्रमुख भूमिका थियो । हास्यव्यङ्ग्य चलचित्र ‘लोभीपापी’ धेरै दर्शकहरूले मनपराए र राम्रो आयआर्जन पनि गर्यो ।
२०३९ सालमा प्रकाशित वासुको ‘फूल ओइलाएपछि’ उपन्यासको वियोगान्त सन्र्दर्भ म कहिल्यै विर्सन सक्दिनँ । ‘फूल ओइलाएपछि’ उपन्यास मलाई गोपालप्रसाद रिमालको ‘मसान’ भन्दा बढी मन परेको कृति हो । हाम्रा परम्परागत मूल्य, मान्यता र संस्कारको जाँतोमा पिसिएकी महिलाको यो भन्दा करुण कथा मैले पढेको छैन । मेरो लगानी र छोरा स्रमाटको निर्देशनमा चलचित्र बनाउने निधो गर्यौं ।
धेरै छलफलपछि सम्राटले पटकथा तयार गर्यो । चलचित्र कलात्मक र राम्रो बन्छ भन्ने कुरामा हामी विश्वस्त थियौं । तर व्यापार राम्रो गर्छ भन्ने कुरामा आश्वस्त थिएनौं । सम्राटले हलिउडमा काम गरेका सहपाठीहरूलाई पटकथा पठाएर राय माग्यो । पश्चिमी मुलुकहरूमा त्यो पटकथामा निर्मित चलचित्रले राम्रो व्यापार गर्दैन भन्ने राय आयो । त्यसपछि लगानी डुब्ला कि भन्ने डरले हामीले चलचित्र निर्माण गर्न सकेनौं ।
परिवार नियोजन संघमा लामो समयसम्म वासु र मैले उपाध्यक्ष र महासचिव भएर स्वयंसेवकका रुपमा काम गर्यौ । त्यसकाल खण्डमा पनि परिवार नियोजन संघमा रेडक्रसपछिको दोस्रो राष्ट्रियस्तरको सामाजिक संस्था थियो । यस संस्थाले परिवार नियोजन संघ र मातृशिशु कल्याण साथै कृषि, आय आर्जनका विभिन्न कामहरू गर्यो । त्यस वेलाका गतिविधिहरूको धेरै रमाइला प्रसङ्गहरू छन् । जसमा वासु संलग्न छन् । स्थानाभावले यस सन्र्दर्भलाई विश्राम ।
म जीवनमा एक पटकमात्र रोएको सम्झन्छु बुवाको मृत्युमा । वासुलाई पनि मैले जीवनमा एकपटक मात्र रोएको देखेको छु । २०४९ साल फागुणको अन्तिम सप्ताहको एक बिहानी, म बिरामी वासुलाई भेटन जयवागीश्वरीको घरमा पुग्छु । भाउजूले कोठामा लैजानु हुन्छ । कोठामा गुलाम अलीको गजल मधुर आवाजमा गुञ्जिरहेको छ । वासु ओछ्यानमा सुतेका छन् नजिकै वसेर म उनको हात सुमसुम्याउँछु । वासु केही बोल्दैनन् । मलाई एक टक हेरिरहन्छन् । ‘वासु नआत्तिनु ठीक हुन्छ’, म सान्त्वना दिन खोज्छु । धैर्यको बाँध फुट्छ वासु रुन थाल्छन् । वासुको रुवाइ मेरा लागि नरमाइलो झट्का थियो । जीवनभर हाँसिरहेको मानिस लगातार रोइरहेको थियो । वासुलाई मृत्युको आभास भैसकेको हुनु पर्दछ । म धेरैवेर कोठामा अड्न सकिनँ । मुम्बईमा उपचार गर्न लगेको वासुको उतै देहावसान भयो । बहुप्रतिभाशाली एकजना स्रष्टाको अवसान भयो । त्यसभन्दा पनि बढी एउटा मित्र र एउटा अशल मान्छेको देहान्त भयो ।
त्यो वासुको पार्थिव शरीरको मात्र अन्त्य थियो । सारांशमा वासुका सिर्जना र सत्कर्महरूलाई मर्न नदिन निरन्तर लागि परेका छन् प्रधुम्न जोशी । वासु शशी स्मृति परिषद्को स्थापना गरेर विविध क्रियाकलापहरूका माध्यमले वासु शशीलाई जीवन्त राखेका छन् भन्ने मेरो बुझाइ हो । प्रत्येक वर्ष वासु शशी साहित्य सम्मान र पुरस्कारबाट सिर्जनाका विभिन्न क्षेत्रका स्रष्टाहरूलाई सम्मानित गर्दै आएका छन् । यो सत्कर्मका लागि मेरो सलाम छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।