काठमाडौं / भीमदर्शन रोका स्मृतिकोषले ‘भीमदर्शन आदर्श गुरु सम्मान, २०७९’ बाट प्रा. गोपीकृष्ण शर्मालाई समर्पण गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. महेश्वर शर्माले प्रा. शर्मालाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभयो । सम्मानका साथ ५० हजार १०० रुपैयाँ नगद राशि पनि प्रदान गरियो ।

सोही अवसरमा भीमदर्शन आदर्श सेवा सम्मान गायत्री चेतना केन्द्र नेपाललाई प्रदान गरियो । उक्त सम्मानका साथ पनि ५० हजार १०० नगद राशि प्रदान गरियो ।

स्मृतिकोषले हरेक दुई वर्षमा प्रदान गर्दै आएको यो सम्मान यस वर्षदेखि प्रत्येक वर्ष प्रदान गरिने जानकारी गराएको छ ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार डा. महेश्वर शर्माले योग्य व्यक्तिलाई योग्य सम्मान अर्पण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आज सम्मान आफैँ सम्मानित भएको उल्लेख गरे ।

सम्मानित व्यक्तित्व प्रा. गोपीकृष्ण शर्माले एउटा गुरुको नाममा स्थापित सम्मान प्राप्त गर्दा गर्वानुभूति भएको बताउनुभयो ।

स्मृतिकोषका कोषाध्यक्ष अनीलमान महर्जनले भीमदर्शन रोका एक कुशल शिक्षक भएको स्मरण गर्दै संस्थाको अक्षयकोषमा रोकाको परिवारसहित अन्य व्यक्तित्व तथा सिद्धार्थ वनस्थली इन्स्टिच्युटका विद्यार्थीहरूको सहयोग रहेको उल्लेख गर्नुभयो ।

नेपाली मुक्तक लेखनमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टा भीमदर्शन रोकाले १८ वर्षसम्म सिद्धार्थ वनस्थली स्कुलमा अध्यापन गर्नुभएको महर्जनले बताउनुभयो ।

सिद्धार्थ वनस्थली २०४० एसएलसी समूहको संयोजनमा भएको उक्त कार्यक्रममा सर्जक यादव भट्टराईले शिक्षक भीमदर्शन र कवि भीमदर्शनका बारेमा चर्चा गर्नुभयो ।

कार्यक्रममा गायक योगेश्वर अमात्य, गायत्री चेतना केन्द्रका अध्यक्ष केशव मरहट्टा, कोषका अध्यक्ष जयदेवकृष्ण श्रेष्ठले बोल्नु भएको थियो । उक् तअवसरमा कोषलाई सहयोग गर्ने व्यक्तित्वहरूलाई कदरपत्र प्रदान गरिएको थियो ।