साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘प्रज्ञा बालकविता महोत्सव’ आयोजना हुँदै

प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको संयोजनमा हुन लागेको उक्त महोत्सव प्रज्ञा-प्रतिष्ठानको इतिहासमा नै पहिलो हो ।

प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा-प्रतिष्ठानले राष्ट्रिय बालदिवस-२०७८ का अवसरमा यही भदौ २९ गते प्रज्ञा बालकविता महोत्सव आयोजना गर्ने भएको छ । प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको संयोजनमा हुन लागेको उक्त महोत्सव प्रज्ञा-प्रतिष्ठानको इतिहासमा नै पहिलो हो ।

आजभन्दा अगाडि प्रज्ञा-प्रतिष्ठानबाट विभिन्न महोत्सवहरूको आयोजना भए पनि बालबालिकालाई केन्द्रमा राखेर वा बालबालिकालाई नै प्रत्यक्ष सहभागी गराएर कुनै औपचारिक कार्यक्रम हुनसकेको थिएन ।

कोभिडका कारण भौतिक दूरी कायम गरी वेबिनारका माध्यमबाट आयोजना हुने यस महोत्सवमा नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी २८ जना र विदेशबाट अमेरिका, बेलायत, क्यानाडा, जापान, म्यान्मा, बङ्गलादेश, दुबई, भारतलगायतका देशमा रहेका १२ जना गरी जम्मा ४० जना नेपाली बालबालिकाहरूले आफैँले सिर्जना गरेका कविताहरू वाचन गर्ने छन् ।

यस महोत्सवमा नेपाली बालसाहित्यका विशिष्ट सर्जक एवम् अन्वेषक प्रमोद प्रधानले ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुने छ । महोत्सवमा प्रस्तुत कार्यपत्र र वाचित कविताहरू प्रज्ञा-प्रतिष्ठानको नियमित बालपत्रिका ‘बालप्रज्ञा’को आगामी अङ्कमा प्रकाशन गरिने कुरा प्रज्ञा-प्रतिष्ठानले जनाएको छ ।

बालबालिकामा रहेको अपार सिर्जनात्मक क्षमतालाई बाहिर ल्याउन र ती सिर्जनशील प्रतिभाहरूलाई प्रोत्साहन गर्नका लागि पहिलो पटक प्रज्ञा-प्रतिष्ठानबाट यस महोत्सवको आयोजना गर्न लागिएको र यस वर्षबाट हरेक वर्षको बालदिवसका दिन (भदौ २९) ‘प्रज्ञा बालकविता महोत्सव’को आयोजना गर्ने परम्पराको थालनी गरिएको कुराको जानकारी विभागीय प्रमुख तथा महोत्सवका संयोजक प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ ।

प्रतिक्रिया
Loading...