नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज प्रज्ञा भवनमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती तथा राष्ट्रियता एकता दिवस–२०७७ का अवसरमा विचार गोष्ठीको आयोजना गरियो । ‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक भानुभक्त ढकालले राष्ट्रनिर्माता तथा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह आम नेपालीले गर्व गर्न लायक अभिभावक भएको बताए । उनले पृथ्वीनारायण शाहको योगदानलाई हरेक नेपालीले सदासर्वदा सम्झिरहने उल्लेख गरे । मन्त्री ढकालले राष्ट्रलाई चिरस्थायी बनाउन पृथ्वीनारायण शाहको प्रेरणालाई आम जनमानसमा उजागर गरिनुपर्ने पनि खाँचो औँल्याए ।
मन्त्री ढकालले भने, “सच्चा नेपाली भएर सम्झने हो भने गर्व गर्न लायक अभिभावक भनेकै पृथ्वीनारायण शाह हुनुहुन्छ, उहाँको योगदानलाई हामीले भुल्न हुँदैन । पृथ्वीनारायणले आधुनिक नेपाल निर्माणमा अभिभावकीय भूमिका निर्वाह गरेकैले आम नेपाली र राष्ट्रले सदासर्वदा सम्झिरहेका छन् ।” सत्ता स्वार्थका लागि विखण्डन गर्नु हुँदैन, राष्ट्र रहे मात्रै सबै चीज रहन्छ भन्ने पृथ्वीनारायणको आदर्श र अभिभाज्य दृढतालाई आजको सन्दर्भमा पनि आत्मसात् गरेर अघि बढ्न सकेको खण्डमा मुलुकमा स्थायित्व कायम हुने उनको भनाइ थियो ।
मन्त्री ढकालले पृथ्वीनारायण शाहको एकीकरण अभियान नुवाकोटबाटै शुरु भएको र उनको देहावसान पनि नुवाकोटमै भएकाले एकीकरण अभियानसँग जोडिएका पुरातात्विक सम्पदा र स्थललाई जोडेर सांस्कृतिक, धार्मिक क्षेत्रको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले एक विकास समिति गठन गरी प्रवर्द्धन गरिने जानकारी दिए । उनले केही दिनअघि पृथ्वीनारायण शाहसँग जोडिएका नुवाकोटको देवीघाट, पृथ्वीनारायणको समाधिस्थल, सालिक रहेको स्थल तथा नुवाकोट दरबार क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेका थिए ।
कार्यक्रमका सभाध्यक्ष एवम् नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानलाई बुझेर अघि बढ्न सके मात्रै उहाँप्रति सच्चा सम्मान हुने उल्लेख गरे । जटिल भूराजनीतिक अवस्थामा रहेको नेपाल राष्ट्रलाई स्वाभिमान, स्वतन्त्रता र सार्वभौम बनाउन पृथ्वीनारायण शाहले खेलेको भूमिका र शासन सञ्चालनका विधि र पद्धतिलाई अनुशरण गर्नसकेको खण्डमा मात्रै नेपालको हित हुने उनको धारणा थियो ।
उनले भने– “राज्य भागबन्डा गर्ने हैन, स्वार्थबाट अलग रहेर राष्ट्रको विकासमा दत्तचित्त भएर लाग्नुपर्ने पृथ्वीनारायण शाहको प्रेरणालाई आजको सन्दर्भमा पनि उपयोग गर्न जरुरी छ ।”
उपकुलपति डा. जगमान गुरुङले पृथ्वीनारायण शाहको चरित्रलाई विकास गर्न नसकेकै कारण मुलुकमा अस्थिरता उत्पन्न भएको दाबी गरे । उनले पृथ्वीनारायण शाहको विचार र चरित्रलाई आत्मसात् गरेको खण्डमा मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । कार्यक्रममा प्राज्ञ प्रा. दिनेशराज पन्तले आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायणले गरेको योगदानको चर्चा गरे ।
कार्यक्रममा प्रा.डा. टेकबहादुर श्रेष्ठले ‘पृथ्वीनारायण शाहको एकीकरण अभियानः सङ्क्षिप्त चर्चा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पृथ्वीनारायण शाहले आर्थिक, सामाजिक सङ्कटलाई पार गर्दै एकीकरण अभियानमा गरेको मिहिनेत र सङ्घर्षको योगदानलाई आधुनिक पुस्ताले भुल्न नहुने बताए । उनले नुवाकोट पृथ्वीनारायणको एकीकरण अभियान दृष्टिले महत्त्वपूर्ण रहेको र उहाँको कर्मभूमि पनि भएकाले एकीकरणसँग जोडिएका सम्पदाको संरक्षण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि मन्त्री ढकालसहित नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य, नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, सांस्कृतिक संस्थानका अध्यँ प्रेमनाथ अधिकारी, साझा प्रकाशनका महाप्रवन्धक होमप्रसाद गौतम, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू लगायतले राष्ट्रनिर्माता पृथ्वीनारायणको तस्बिरमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा प्रकाशन सञ्चालक समितिका नवनिर्वाचित सदस्यहरू हरिप्रसाद भण्डारी, सीताकुमारी ओझा, डीपी अर्याल र लेखा सुपरीवेक्षण समितिका सदस्य रामेश्वर राउत मातृदासलाई कार्यकाल सफलताको कामनासहित कुलपति गङ्गाप्रसाद उप्रेतीले खादा ओढाई सम्मान गरेका थिए । सो अवसरमा सफलतापूर्वक साझा प्रकाशन सञ्चालन समितिको निर्वाचन सम्पन्न गराएकोमा महाप्रवन्धक होमप्रसाद गौतमलाई कुलपतिले खादा ओढाई सम्मान गरेका थिए ।
पुस्तक प्रदर्शनी
यसैबीच राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले साताव्यापी पुस्तक प्रदर्शनीको आयोजना गरेको छ । कमलादीस्थित प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित प्रदर्शनीको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए । नयाँ तथा पुराना प्रकाशनहरू प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी अवधिभर १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।