
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा, कोश र व्याकरण विभागले नेपाल भाषाका स्रष्टाहरूलाई सम्मान गर्दै कदरपत्र प्रदान गरेको छ ।
नेपाल भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका स्रष्टाहरू तेजेश्वरबाबु ग्वङ्गः,नारायणदेवी श्रेष्ठ, प्रकाश प्रधानाङ्ग, सुवर्ण शाक्य, नवीन चित्रकार, सत्यभामा माथेमा, प्रा.डा. तुयुबहादुर महर्जन, मथुरा सायमी, अपर्णा प्रधान, सौरभ शाक्य, श्याम आशा र रामेश्वर भुजु गरी १२ जनालाई नगद र कदरपत्रद्वारा कुलपति भूपाल राईले सम्मान गर्नुभएको हो ।
उक्त अवसरमा कुलपति राईले तत्कालीन राज्यसत्ता मातृभाषाप्रति अनुदार रहेको समयमा पनि नेपाल भाषा र साहित्यको साधना गर्नुभनेको खास चुनौती र आन्दोलन भएको बताउनुभएको थियो । उहाँले थप्नुभयो, ”प्रज्ञाप्रतिष्ठानले सम्झिनु भनेको राज्य संयन्त्रले सम्झिएको हो भन्ने बुझ्न पर्छ ।”
नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले सदियौँदेखि उत्पीडनमा परेका मातृभाषाका स्रष्टाहरूलाई कदर गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै यो एक प्रतीकात्मक सम्मान रहेको बताउनुभएको थियो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा साधन र स्रोतको अभावले प्रज्ञाप्रतिष्ठानका कतिपय ठोस काम गर्न कठिनाइ रहेको बताउनु भएको थियो ।
कार्यक्रमका सभाध्यक्ष,नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा,कोश र व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली ‘अगिव’ले आफ्नो समापन मनतव्यमा नेपालभाषा साहित्यका ज्येष्ठ स्रष्टालाई प्रज्ञाप्रतिष्ठानको तर्फबाट कदरपत्रले सम्मान गरेर थप हौसला प्रकट गरेको बताउनुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

राष्ट्रपति पौडेलद्वारा कविता महोत्सवका उत्कृष्ट १० कविलाई पुरस्कार प्रदान
