अलका आत्रेय चूडाल

काठमाडौँ/नेपाल प्रज्ञा–प्रतिष्ठानले आजभन्दा एक सय वर्षअगाडि प्रथम विश्वयुद्धमा जर्मनी पुगेर युद्धबन्दी भएका गोर्खाली सेनाहरूबाट रेकर्ड गरिएका लोकसामग्रीहरू सङ्कलन गरी प्रकाशन गर्ने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको पहलमा अस्ट्रियाको भियाना विश्वविद्यालयकी प्राध्यापक डा. अलका आत्रेय चूडालद्वारा सङ्कलित सामग्रीहरू प्रकाशन गरिने भएको हो ।

विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले भने, ‘सन् १९१४ देखि १९१८ का बीचमा जर्मनीको बर्लिनदेखि ४० किमि टाढा रहेको बुनस्फोट सहरको हाल्बमोन्डलागर नामक क्याम्पमा बन्दी बनाइएका गोर्खाली सेनाहरूले भनेका नेपाली लोककथा, लोकगाथा, लोकगीत, लोककविता र गाउँखाने कथाहरूको रेकर्ड गरेर जर्मनीको हुम्बोल्ट विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा राखिएको रहेछ र त्यो आजसम्म पनि सुरक्षित रहेछ । यो सूचना प्राप्त हुनासाथ उक्त सामग्री नेपाल र नेपालीका लागि अत्यन्त दुर्लभ, अज्ञात र आश्चर्यलाग्दो सम्पत्ति भएको हुनाले सङ्कलन गरी प्रकाशन गर्न लागिएको हो ।’

प्राज्ञ नेपालका अनुसार ‘जर्मन शिक्षक विलहेल्म डोगेनको सल्लाहमा सन् १९१५ अक्टुबरमा स्थापना भएको ‘रोयल प्रसियन फोनेटिक्स कमिसन’ संस्थाले विश्वका भाषाहरूको ध्वनि, उच्चारण र गीतसङ्गीत आदिको ध्वन्यात्मक रेकर्ड राख्ने उद्देश्यअनुसार सङ्कलन गरिएका १६०० भन्दा बढी सामग्रीहरूमा १०० भन्दा बढी लोकसामग्रीहरू गोर्खाली सेनाका स्वरमा रहेछन् । गोर्खालीहरूको रेकर्डको जिम्मा प्रा. हाइनरिख लुडर्स (१८६९—१९४३) लाई दिइएको रहेछ । संस्कृत, बङ्गाली, पास्तो भाषाका ज्ञाता र पछि गुरुङ भाषा पनि सिकेका उनले रेकर्ड गरेका सामग्रीहरूमा २६ लोककथा, ५० भन्दा बढी लोकगीत, लोकगाथा र लोककविता तथा केही गाउँखाने कथा गरी १०० भन्दा बढी सिर्जनाहरू रहेका छन् । यिनलाई ध्वनिबाट लिपिमा उतार्ने काम भइसकेको छ, अब चाँडै नै यसलाई प्रकाशनमा ल्याइने छ ।’

प्रस्तुत ऐतिहासिक महत्त्वको सामग्री सङ्कलनको जिम्मा पाएकी डा. अलका आत्रेयका अनुसार ‘यी लोकसामग्रीहरूमा गोर्खाली सेनाका वेदना, परिवारको माया र गाउँको सम्झना जस्ता संवेदनशील कुराहरू समेटिएको हुनाले एकातिर यसको भाषिक, साहित्यिक र सामाजिक महत्त्व छ भने अर्कातिर आजभन्दा एक सय वर्ष पुरानो रेकर्ड भएको हुनाले यसको ऐतिहासिक र पुरातात्त्विक महत्त्व पनि रहेको छ ।’