नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विगतमा झैँ राष्ट्रिय कविता महोत्सवको घोषणा गरेको छ । मिति २०७८ असार ९ गते प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना हुने महोत्सवमा सहभागी हुन समसामयिक विषयमा कविता लेखी पठाउनु पर्ने हुन्छ ।

महोत्सवमा प्राप्त कवितामध्येबाट प्रथम, द्वितीय र तृतीय (तीन जना) को छनोट गरिने छ । प्रथम हुने एक जनालाई स्वर्ण पदकसहित नगद पुरस्कार रु. ५०,००० प्रदान गरिने छ । त्यस्तै दोस्रो हुने एक जनाले रजत पदकसहित नगर पुरस्कार रु. ४०,००० पाउने छन् भने तृतीय हुने तीन जनाले कांस्य पदकको साथमा जनही नगद रु. ३०,००० प्राप्त गर्ने छन् ।

महोत्सवमा प्रतियोगिताका लागि पठाइएको कविता नेपाली भाषामा लेखिएको, १५० शब्दसम्मको तथा कम्प्युटर टाइप गरिएको हुनुपर्ने छ । आफ्नो कवितालाई २०७८ जेठ २५ गतेसम्ममा प्रतिष्ठानमा उपस्थित भई अथवा -(kabitamahotsab2078@gmail.com) इमेलमार्फत् पठाउन सकिने छ ।

“म्याद नाघी आएका कविताहरुलाई प्रतियोगितामा समावेश गराइने छैन ।” प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, “कविता पूर्णतः मौलिक तथा राष्ट्रिय कविता महोत्सव २०७८ सम्पन्न नभएसम्म कुनै पनि विद्युतीय वा छापा माध्यमबाट प्रसारित र प्रकाशित नभएको हुनुपर्ने छ ।”

साथै, प्रतियोगी कविहरुले हालसालै खिचिएको एक प्रति पासपोर्ट साइजको फोटोसँगै सम्पर्क ठेगना र सम्पर्क नम्बर अनिवार्य रुपमा कविता पृष्ठमै संलग्न गरी पठाउनु पर्ने छ ।