
पारिजात
सुप्रसिद्ध साहित्यकार पारिजातको २८ औं स्मृति कार्यक्रम यही २०७८ वैशाख ५ गते पारिजात स्मृति भवन म्हेपी, नयाँबजार, काठमाडौँमा उहाँको प्रतिमामा माल्यार्पणसहित श्रद्धा अर्पण गरेर मनाइयो ।
प्रतिमामा माल्यार्पणपश्चात संक्षिप्त कार्यक्रम आयोजना गरिएको थियो । पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमीको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष एवम् संरक्षक सुकन्या वाइवाले पारिजातले आफ्नो जीवनमा पारेका महत्त्वपूर्ण प्रभावहरूका बारेमा चर्चा गर्नुभएको थियो ।
स्मृति केन्द्रका निवर्तमान अध्यक्ष रायनले पारिजातसँग विगत समयको छोटो सम्झना प्रस्तुत गर्नु भयो । कार्यक्रममा माननीय मन्त्री रामवीर मानन्धरले पारिजात स्मृति केन्द्रले आगामी दिनहरूमा साहित्यिक एवम् वैचारिक कार्यहरू नेतृत्व गरोस् भन्ने सुझाव दिनुभएको थियो । पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमीले पारिजात स्मृति केन्द्रले निर्णय गरेका विभिन्न सम्मानहरूको घोषणा गर्नुभएको थियो ।
पारिजात स्मृति केन्द्रले पारिजात बालसाहित्य सम्मान २०७७ प्रा.डा. चुडामणि बन्धु , पारिजात सिर्जन सम्मान २०७७ सीता शर्मा, पारिजात संघर्षशील नारी सम्मान २०७७ सीता पोखरेल र पारिजात कला सम्मान २०७७ माधव प्रधानलाई प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त सम्मानहरू पारिजात स्मृति भवन म्हेपी, काठमाडौंमा २०७८ वैशाख २५ गते शनिबार आयोजना गरिने स्मृति सभामा प्रदान गरिने बताइएको छ । कार्यक्रमको संचालन पारिजात स्मृति केन्द्रका महासचिव मातृका पोखरेलले गर्नुभएको थियो ।




साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










