साहित्यपोस्टका नियमित स्तम्भकार राजेन्द्र पराजुलीलाई नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापित एक लाख रूपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) प्रदान गरिने भएको छ । उनको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’का लागि उनलाई सो पुरस्कार प्रदान गरिने भएको हो।

सन् २०२० प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’ले उक्त पुरस्कार दिने निर्णय गरिएको हो।

कथा लेखनीमा विशेष रूचि र दक्षता राख्ने राजेन्द्र पराजुलीका हालसम्म विकल्प यात्रा (२०५०), जाडोमा भोक (२०६२), सपनामा मार्क्स (२०६८), शुक्रराज शास्त्रीको चस्मा (२०७३), अघोरी (२०७५) गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन्। एउटा उपन्यास ‘अनायिका’ र कवितासंग्रह ‘भ्रष्ट संवेदना’ पनि प्रकाशित छन् ।

‘कोटेश्वर’, ‘अनुहारहरु’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरुसँग’ गरी चार भागमा बाँडिएको यस कृतिमा साढे चार दशकअघिको काठमाडौं र अहिलेको बद्लिँदो परिदृश्यका बारेमा खुलेर लेखिएको छ । त्यो बेलाको काँठ मानिने कोटेश्वर क्रमशः कसरी घनाबस्तियुक्त शहरमा परिणत भए र यसले के कस्ता परिवर्तन बोकेर ल्यायो तथा आफ्नाहरु कसरी क्रमशः पराइझैँ भए भन्ने संस्मरण समेटिएको छ। साथै, पत्रकारिताका अनेक तीतामीठा प्रसंगसमेत खुलेर लेखेका छन् ।

“जिन्दगीका सानामसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगाउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ। त्यसकारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको छ,” इञ्जाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

२०२१ सालमा काठमाडौंको कोटेश्वरमा जन्मिएका पराजुली जसरी नेपाली साहित्यमा स्थापित छन्, उसैगरी पत्रकारितामा पनि सम्मानित छन्। पराजुलीले सम्पादन गरेका अब्बल कविताहरूको संग्रह कविता सोचअन्तर्गत विभिन्न कविताहरू हाल नियमित रूपमा साहित्यपोस्टमा प्रकाशन भइरहेको छ ।