(२०५० सालको शुरूवाती समयमा नेपालका समकालीन कवि, तिनका विचार र कविता समेट्ने सोचका साथ एउटा कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको उद्देश्य थियो, त्यस बखतका चर्चित कविहरू मञ्चमा उभियून्, कविताबारेका आफ्ना धारणा राखून् र त्यस बेलाको आफ्नो उत्कृष्ट वा आफूलाई उत्कृष्ट लागेका कविता वाचन गरून् ।

यसका लागि केही कविहरू छानिए, तिनका विचार सुनियो र कविता वाचन पनि भयो । कार्यक्रम सकिएपछि त्यो त्यत्तिकै नहराओस् भनी किताबी रूप दिइयो । कार्यक्रमका संयोजक राजेन्द्र पराजुली कविता/सोचका सम्पादक भए र तयार भयाो, कविता/सोचः समकालीन नेपाली कवि, विचार र कविता । नेपाल साहित्य गुठीको स्थापना साहित्यको उन्नयनका लागि भएको थियो र यस्ता केही सिर्जनशील कार्य पनि गरेको थियो । तिनै अनेकन् कार्यक्रम वा पुस्तकमध्ये यो पनि एउटा हो ।)

कविता निश्चय नै अन्य विधाभन्दा बढी संवेदनशील विधा हो । जसमा सामाजिक, राजनीतिक विकृति तथा प्रेम-घृणाका पक्षाहरूलाई सूक्ष्मतासाथ शब्दमा उन्ने गरिन्छ । त्यसैले नै कविता लोकप्रियताको शिखर छुने गर्दछ । यसै सन्दर्भमा हामीले समकालीन कविका कविता र विचारलाई ‘कविता/सोच’का रूपमा प्रस्तुत गरेका छौँ ।

यस अभियानले नितान्त पृथक् परिचय स्थापना गर्ने चेष्टा गरेको छ र यो यस मानेमा कि कविका काव्य-मान्यतालाई पनि यहाँ प्रस्तुत गरिएको छ । यहाँ सोचको शाब्दिक अर्थ कविको चिन्तन वा विचारका रूपमा रहेको छ । वर्तमान पुस्ताका चर्चित कविहरूका वकिता स्वयं पनि ‘सोच’को परिभाषा दिन सक्षम छन् भने कविता तथा सोचलाई एकै ठाउँमा प्रस्तुत गरिँदा यसमा नौलोपन थपिन गएको छ । यसै कारण यस प्रकाशनले नेपाली कविता जगत्मा निजत्व बोकेको छ । नेपाली कविताका अध्येता तथा पाठकका निम्ति यो पुस्तक अवस्था पनि सहयोगी बन्नेछ भन्ने हामीले विश्वास गरेका छौँ । साथै, यसको स्वागत तमाम पाठक वर्गले गर्ने नै छन् भन्ने कुरामा हामी आशावादी छौँ ।

राजेन्द्र पराजुली
सम्पादक
कविता/सोच

 

कविता कुनै खेलौना होइन

नकुल सिलवाल

नकुल सिलवाल

कविता कुनै खेलौना होइन न त प्रहार गर्न मिल्ने हतियार नै हो । वास्तवमा फूल भनेर कवितालाई त्यति सीमित गर्न पनि मिल्दैन र समुद्र भनेर त्यसरी फैलिने पदार्थ पनि कविता होइन । मेरा विचारमा कविता मन,
मस्तिष्कको संयोग, प्रवाह र छाप हो, जो नवीनतम विचार र कला, मेरूदण्ड र पहिरनमा कहिल्यै ननास्सिने गरी उपस्थित भएको हुन्छ। त्यसो त कविताको सीमाङ्कन गने सकिदैन र कुनै परिभाषामा कवितालाई खुम्च्याउनु मुर्ख्याई हुन पनि सक्छ । यति हुँदाहुँदै पनि सफल वा उत्कृष्ट कविता जति पढे पनि, जति सुने पनि तृप्त भइँदैन ।

घोषणापत्र, उपदेश वा स्तुति प्राथना र कवितामा आधारभूत अन्तर हुन्छ। जस्तो कि नेता, कवि, वैज्ञानिक, भिक्षु, जोगी र मजदुर-किसानको प्रकृतिमा भिन्नता, हुन्छ । तर यी सब मानिस हुन्‌ र मानिसका उच्च मानवीय
स्वभाव र कविता त्यति दूर नहुन पनि सक्छ । मानिसको भौतिक उन्नति र अवनति जस्तै कविताको स्वरूप र स्तरमा पति आरोह-अवरोह आउन सक्छ तर जीवन-जगतको, मानवीय पक्षको समर्थन र अमानवीय पक्षको विरोध कविताले गरेछ भने त्यो कविताको प्रारम्भिक सबलता हो।

मेरा कविताहरू समय र स्थानबाट धेरै पर छैनन्‌ अर्थात म काल निरपक्ष छैन । म यो देश र यहाँका बासिन्दाहरूबीच छु भने त्यस्तै-त्यस्तै रचना हुन सक्छ मेरो ।

मानसिक सोचाई र शारीरिक रूपमा म श्ररूबाट जति अलग्ग छु त्यत्तिकै मेरा कविताहरू पनि मौलिक छन्‌, फरक छन्‌ भन्ने मलाई आत्मविश्वास छ । समग्रमा आजको नेपाली कविता कुन मानसिक रोगीको गुन्द्रुके
टिप्पणी जस्तो दुर्वल छैन, दरिद्र छैन, निरन्तर गतिशील छ, व्यापक छ; जाज्ज्वल्य छ र विशिष्ट हुँदैछ ।

हराएको कलम

नकुल सिलवाल

यही छातीको, गोजीमा
भिरैको थिएँ कलम,
खै कता हराएछ ?
कसले पो टप्कायो ?
लौ न नि
त्यसरी जतनसाथ
बोकेको कलम
अचम्मै लाग्नेगरी
बेपत्ता भयो,

मूल्यवान्‌ मूर्ति हाँसेको हास्यै छ
अगिल्तिर-निरन्तर,
साहुजी गनिरहेछन्‌
नोटका बिटाहरू,
बाँडाको पसलमा
सूनखानी छ

देशमा प्रजातन्त्र फैलिसकेको छ ?
छ संविधान र कानुन,
सुरक्षा छ त्यसैले ?
प्रमाणका लागि
कुनै पनि बहुमूल्य
चिजबिजका भण्डारहरू सुरक्षित छन्‌
पकेटमाराले फुत्काएको पक्कै होइन
किनभने त्यही खल्तीमा
रूपियाँ जस्ताको तस्तै छ
डाँकाले त यो बिफकेस पो खोस्नु पर्ने !
दुस्मनले हो भने
पछिल्तिरबाट छुरी रोप्नु पर्ने !
एउटा सामान्य कलम
मेरो कलम कसरी गुम्यो ?

नानीहरूका लागि
मेरो हातमै छ चकलेट
कार्यकर्ताहरूका निम्ति
जरूरी पर्चा छ साथमा
रोगीहरू मेरो औषधि प्रयोग गर्ने सक्छन्‌
प्रेमी-प्रेमिकाले त
यो प्रेमपत्र पो थुत्नु पर्ने
भोकाहरूले मेरो गाँस उठाउँछन्‌ भने
मलाई कुनै दुःख छैन
तर हाललाई
कोही कसैलाई पनि चाहिँदै नचाहिने
सामान्य कलम गायब भो कसरी ?
लग्यो कसले?

हो, प्रजातन्त्र छ ! र त
दोष दिन चाहन्न कसैलाई,
तर मेरा लागि
यो छातीभित्रको मुटुभन्दा पनि
अमूल्य त्यो कलम, त्यही कलम
जसका लागि म
मेरो श्रीसम्पत्ति सम्पूर्ण सुम्पन तयार छु
आफैँलाई कतै चढाउन तयार छु

मेरो बिन्ती हजुर !
त्यो कलमको सट्टामा
मलाई आजीवन काराबासको सजाय दिनुहोस्‌
वा ‘मृत्युदण्ड’ नै दिनुहोस्‌
मानव अधिकारले पनि स्वीकार्ने छ मेरो अनुरोध
र जाहेर गर्ने छैन कुनै विरोध पत्र !

हो त्यो कलम मेले नै फिर्ता पाउनु पर्छ
मेरै हुनु पर्छ, मैले ने राख्नु पर्छ- अनन्त साँचेर
यही छातीमा त्यसरी नै भिरेर
जसरी भिरेको थिएँ, हराउनुभन्दा अगाडि

अरे ! लौ !
त्यो कलम त यहीँ पो रहेछ !
आखिर हराएको थियो के त ?
कृपया भन्नुहोस् ज्ञाताहरू
के त्यसलाई ?
यो राज्य व्यवस्थाले उपलब्ध गराउन सक्नेछ ?