सोल, कोरिया / नेपाली भाषा-साहित्य, कला र संस्कृतिको उत्थानमा समर्पित र सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले स्रष्टाद्वय दीप पाठक र सरोज सर्वहारालाई ‘अनेसास सक्रियता सम्मान’ प्रदान गर्ने भएको छ।
प्रवासमा रहेर च्याप्टरको निश्चित स्रोत र साधनका बावजूद पनि कुशल नेतृत्व र भूमिकाको सही निर्वहन प्रदान गर्दै नेपाली भाषा-साहित्यको विकास, विस्तार र उन्नयनमा लागिपर्ने स्रष्टाद्वयले विभिन्न सभा सम्मेलन र गतिविधिहरूमा गरेको कार्यसम्पादनको उच्च मूल्याङ्कनका आधारमा दुवैलाई सम्मान गर्न लागिएको बताइएको छ ।
स्रष्टा द्वयलाई कवि भूपि शेरचनको जन्मजयन्तीको अवसरमा सो सम्मान प्रदान गरिने भएको छ ।
अनेसासमा नेपाली भाषा-साहित्य र च्याप्टर गतिविधिमा सक्रिय भई योगदान गर्ने स्रष्टालाई यो सम्मान प्रदान गरिन्छ । यसअघि यो सम्मान कोरिया च्याप्टरले अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली र कोरिया च्याप्टरका पूर्व अध्यक्ष क्रिश गुल्मेली बाबूलाई प्रदान गरेको थियो।
कोरिया च्याप्टरले साहित्योत्थानमा पछिल्लो समयमा निकै सक्रिय हुँदै गएको छ । अनेसास कोरियाले विगतका दिनहरूमा भानु जयन्ती, देवकोटा जयन्ती, श्रष्टा–कलाकार सम्मान र हरेक नयाँ वर्षमा बृहत् कवि गोष्ठी आदि कार्यक्रमहरू गर्दै आएको छ । साप्ताहिक रूपमा विश्वव्यापी रचना वाचन तथा त्रैमासिक रूपमा काव्य-सुधा कार्यक्रमसमेत यस संस्थाले आयोजन गर्दै आइरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।