अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले विश्वभर छरिएर रहेका नेपाली भाषा पाठशालालाई एउटै छातामा गोलबन्द गर्ने भएको छ ।

नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील वर्तमान समयको सर्वप्रिय संस्था अनेसासलाई शनिबार आयोजित कार्यक्रममा सहभागी प्रशिक्षकहरूले संयोजनको नेतृत्व गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा आदर्श गुरुआमाबाट विभूषित पद्मा लिंखा मगर, भाषा प्रशिक्षणमा संलग्न बेल्जियमका डिल्ली अमाई, पोर्चुगलका गोमा रेग्मी, अमेरिकाका तनुजा पोखरेल, स्वेता त्रिपाठी, गीता बजगाईं, मीरा कोइराला, रीतादेवी प्रधान, अष्ट्रेलियाका डा. प्रकाश पौडेल लगायतले आफ्नो विचार राख्नुभएको थियो ।

सहभागीहरूले पाठ्य सामग्री तयार पार्नदेखि प्रशिक्षक प्रशिक्षणसम्मका कार्यक्रम अनेसासले तयार पार्नुपर्ने बताउनुभयो।

कार्यक्रम संयोजक अनेसासका महासचिव विमला निरौलाले अनेसासले विश्वभर रहेका पाठशालाहरूलाई जोड्ने बताउँदै भाषा र साहित्यका सबै काम गर्न अनेसास तयार रहेको बताउनुभयो ।

केन्द्रीय वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले औपचारिक रुपले स्वागत गर्दै नेपाली भाषाको प्रशिक्षण सञ्चालन गर्न अनेसासले ढिला गर्न नहुने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले अनेसासले भाषा पाठशाला सञ्चालनार्थ बेलाबेलामा कार्यक्रम ल्याउने गरेको प्रसङ्ग उठाउँदै अबको दिनका प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । उहाँले निकट भविष्यमा नै अनेसासले भाषा प्रशिक्षकहरूलाई प्रशिक्षण दिने, पाठ्यक्रमको परिमार्जित रुप तयार गर्ने, विध्यार्थी र प्रशिक्षकलाई प्रोत्साहन र पुरस्कृत गर्ने कार्यक्रम, विश्वभरका भाषा पाठशालालाई एउटै दायरामा ल्याएर सहकार्य गर्ने योजना अनेसासले ल्याउन लागेको जानकारी दिनुभयो ।

अनेसास संवादको २८औँ शृङ्खलाअन्तर्गत जूममाध्यममा भएको उक्त कार्यक्रममा अनेसासका केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, बिओटीका पूर्व सल्लाहकार रोहिणी शर्मालगायतको सहभागिता रहेको थियो भने कार्यक्रम गोवर्द्धन पूजाको अध्यक्षतामा सम्पन्न भएको थियो ।