
जर्मनी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले फ्र्याङ्कफर्टमा साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ।
बसन्त पञ्चमीको अवसर पारेर आयोजित यस कार्यक्रममा युरोपका विभिन्न देशबाट सयौँ नेपाली साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो। नेपाली राजदूत डा. शैल रुपाखेतीको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रमले नेपाली भाषा साहित्यको विश्वव्यापी अभियानलाई थप उचाइमा पुर्याएको छ।
कार्यक्रमको अध्यक्षता अनेसास जर्मनी च्याप्टरकी अध्यक्ष सुजाता घिमिरे राउतले गर्नुभएको थियो। विशेष वक्ताको रूपमा एनआरएनका संस्थापक तथा अनेसासका अन्तर्राष्ट्रिय सल्लाहकार जीवा लामिछाने र अनेसासका केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माईको उपस्थिति रहेको थियो। अवैतनिक नेपाली महावाणिज्यदूत रामप्रताप थापाले पनि अतिथि वक्ताको रूपमा आफ्नो मन्तव्य व्यक्त गर्नुभयो।
राजदूत डा. रुपाखेतीले नेपाली भाषा साहित्यको संरक्षण र प्रवर्द्धनमा अनेसासले गरिरहेको प्रयासको प्रशंसा गर्दै दुतावासको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यो अभियान हामी सबैको पहिचान जोगाउने आन्दोलन भएकोले सबै नेपालीले अनेसासलाई साथ दिनुपर्नेमा जोड दिनुभयो।
अनेसासका केन्द्रीय सल्लाहकार जीवा लामिछानेले अनेसासको भावी यात्रा र नेपाली मूल्यमान्यताको संरक्षणमा जोड दिनुभयो। उहाँले अनेसास संसारभर फैलिएको नेपाली साहित्यको एउटा बलियो माध्यम भएको बताउँदै यसको दीर्घकालीन सफलताका लागि सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो।
अनेसास केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माईले आगामी जुन २३, २४ र २५ तारिखमा बेल्जियममा हुने अनेसासको विश्व च्याप्टर सम्मेलनमा सबै च्याप्टरको सहभागिताको अपील गर्नुभयो। उहाँले अनेसासको संगठनात्मक संरचना र अनुशासनको महत्वमाथि जोड दिनुभयो। बेल्जियम च्याप्टरका महासचिव गोपाल दाहालले बेल्जियममा हुने विश्व सम्मेलनको बारेमा जानकारी गराउनुभयो।
कार्यक्रममा जर्मनी र बेल्जियमलगायतका देशबाट दर्जनौँ साहित्यकारहरूले आफ्ना रचना वाचन गर्नुभएको थियो । पुस्तक चर्चा, हाजिरीजवाफ प्रतियोगिता, सांगीतिक प्रस्तुति जस्ता विभिन्न साहित्यिक कार्यक्रमहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । लामो समयदेखि जर्मनीमा रही नेपाली साहित्य र समुदायलाई योगदान पुर्याएबापत अवैतनिक नेपाली महावाणिज्यदूत रामप्रताप थापालाई विशेष सम्मान गरिएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

