नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कारका विजेताहरुको नाम घोषणा गरिएको छ ।
रमेश विकल साहित्य प्रतिष्ठानले बिहीबार विज्ञप्ति जारी गर्दै पुरस्कार विजेताहरुको नाम सार्वजनिक गरेको हो ।
प्रतिष्ठानका अनुसार यस वर्षका पुरस्कारहरू वाङमय (साहित्य), समाजसेवा र कला सङ्गीतका क्षेत्रमा स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूलाई प्रदान गरिने छ ।
प्रतिष्ठानद्वारा गठित समितिले गरेको सिफारिस अनुसार सम्मानित हुने प्रतिभाहरूको नाम सिफारिस गरिएको हो । प्रतिष्ठानका सदस्य मातृका पोखरेलको संयोजकत्वमा गठित समितिका सदस्यहरूमा साहित्यकारद्वय कोषराज न्यौपाने र पुरुषोत्तम सुवेदी रहेका छन् ।
जसअनुसार विकल वाङमय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ । यसैगरी २० हजार रुपैयाँ राशीको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गरिएको छ ।
रमेश विकल सृजना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतिलाई प्रदान गरिएको छ । साथै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइ देवी विश्वकर्मालाई प्रदान गरिएको छ ।
रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने निर्णय गरिएको छ ।
यी सबै पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । यी सम्मान र पुरस्कार आगामी पुस ४ गते प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










