रमेश विकल साहित्य प्रतिष्ठानद्वारा २०८१ का लागि प्रदान गरिने पुरस्कारहरूको घोषणा गरिएको छ । पुरस्कार सिफारिश समितिका संयोजक महेन्द्र चालिसेसहित अन्य दुई साहित्यकारहरू गोपाल अश्क र मेनका पोख्रेलको सिफारिसलाई रमेश विकल साहित्य प्रतिष्ठान कार्यसमितिले अनुमोदन गरेको हो ।
घोषणा अनुसार रमेश विकल वाङ्गमय पुरस्कार भैरवबहादुर थापालाई अर्पण गरिने छ । नृत्यशास्त्री थापाले नृत्य-निर्देशनका साथै ६५ वर्ष लगाएर नृत्य लिपि र प्राविधिक पाटो सम्बन्धि ‘नृत्याक्षर विज्ञान’ ग्रन्थ समेत तयार पारी कला र सांस्कृतिक उत्थानमा विशिष्ट योगदान दिनुभएको छ ।
रमेश विकल—सुशीला समाजसेवा पुरस्कार ‘मासिक १०० रुपैयाँ अभियान नेपाल’लाई प्रदान गर्ने निर्णय भएको छ । यो अभियान आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको शैक्षिक उत्थान तथा जेष्ठ नागरिकहरूलाई समाजमा सम्मानित एवम क्रियाशील बनाउने कार्यमा लामो समयदेखि क्रियाशील छ ।
रमेश विकल सृजना पुरस्कार युवराज मैनालीलाई प्रदान गर्ने निर्णय भएको छ । नेपाली साहित्यका स्रष्टा र समालोचक मैनालीको लेखन–यात्रा २०३७ सालबाट कथा सङ्ग्रहमार्फत भएको देखिन्छ । उहाँका हास्यव्यङ्ग्य, लघुकथा र समालोचनाका कृतिहरू प्रकाशित छन् ।
रमेश विकल बालसाहित्य पुरस्कार अमरकुमार प्रधानलाई प्रदान गर्ने निर्णय भएको छ । वि.स. २०११ मा दोलखामा जन्म भएका प्रतिष्ठित साहित्यकार अमरकुमार प्रधान मूलतः कथा र बालसाहित्यको क्षेत्रमा कलम चलाइरहनु भएको छ ।
रमेश विकल—सुशीला नारीसेवा सम्मान पुरस्कार चिनीमाया माझीलाई प्रदान गर्ने निर्णय भएको छ । उहाँ नेपाल माझी उत्थान सङ्घमार्फत् सीमान्तीकृत माझी समुदायको उत्थानमा सक्रिय हुनुहुन्छ।
रमेश विकल सङ्गीत कला पुरस्कार रामकृष्ण दुवाललाई प्रदान गर्ने निर्णय भएको छ । दुवालले पाँच दशकदेखि निरन्तर नेपालको सांस्कृतिक विविधता र जनताको एकता अनि हकअधिकार प्राप्तिका लागि सङ्गीतका माध्यमबाट जागरण आन्दोलनको नेतृत्व गर्दै आउनुभएको छ।
त्यसैगरी, रमेश विकल असहाय पुनर्स्थापना समाज (अपुस) छात्रवृत्तिका लागि माझीगाउँ मण्डनस्थित विन्ध्यबासिनी माविकी कक्षा ८ मा अध्ययनरत छात्रा दिलाशा तमाङ छनौट हुनुभएको छ ।
बहुआयामिक विकलका साहित्य, सङ्गीत र चित्रकारिता सहित शैक्षिक एवम् सामाजिक व्यक्तित्वको सम्मानमा स्थापित ६ विधाका पुरस्कारहरू १६ औं रमेश विकल स्मिृति दिवसका अवसरमा २०८१ पौष ६ गते प्रदान गरिने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१९ मंसिर २०८२, शुक्रबार 










