१७. स्याबास् ! हिमानीको घडी

अमर र भकुन्डे भाइ भित्तामा अडेस्सिएर बसे । हिमानीर गीता गफिन थाले । सिङ्गारी बाख्रो आशिषको काखमा मुन्टो घुसारेर सुत्यो । सातओटा कुखुरी क्वाकक्वाक गर्दै भुइँ ठुङ्दै कोठाभरि रिङ्न थाले ।

‘मेरो घडी !’ एक्कासि हिमानी यता र उता खोज्दै कराउन थाली-‘खोइ मेरो घडी ! यहाँ त कतै छैन ! कहाँ छुट्यो मेरो घडी ?’
‘बाहिरै छुट्योहोला’ अमरले भन्यो । उनीहरूले पनि चारैतिर खोजे । तर त्यो घडी कतै पाइएन । आखिर अमरले हिमानीलाई सम्झाउँदै भन्यो-‘जान देऊ । त्यो बाहिरै बस्योहोला ।… के गर्नु यहाँ एउटा झ्याल मात्र भएको भए हामी पनि भाग्ने जमर्को गर्नु हुन्थ्यो । तर के गर्नु एउटा उज्यालो छिर्ने प्वालसम्म पनि छैन ।

‘धुवाँ निकास मात्रै भएको भए पनि…’ भकुन्डो भाइले मास्तिर हेर्दै भन्यो । …तर… तर… ए, सुन सुन, ढोका कसले घचघच्यायो ?’
सबैले कान थापेर सुने । बाहिर ढोकामा साच्चै कसैले ढ्वाकढ्वाक गर्दै थियो । भकुन्डे भाइले कराएर भन्यो-‘को हो बाहिर ढोका खोलेर आऊ !’

तर ढोकामा बूढीले साचोँ छोडेको भए पो ! ढोकामा अझै ढ्वाकढ्वाक आवाज आइरह्यो । ढोका खोलेर भित्र कोही पसेन । अनि एक्कासि टाङ्टुङ टिङ्टाङ आवाज आयो । हिमानीका कान ठाडा भए । ‘ ए, यो त मेरो घडीको आवाज हो । ऊ भित्र पस्न खोज्दैछ ।’

‘त्यसो भए तिम्रो घडीलाई बूढीसँग साँचो चोरेर ल्याएर ढोका खोल्न भन । अनि हामी पनि बाहिर निस्कन पाउँछौँ ।’ भकुन्डे भाइले भन्यो । सबैका आँखा चम्के । ‘साँच्चै उसले बूढीबाट साँचो चोरेर ल्याउन सक्यो भने त कति मज्जा हुने थियो ।… तर कसरी चोर्छ उसले त्यो साँचो ?… त्यो त बूढीको कम्मरमा झुन्डिएको हुन्छ ।’ सबैको मुख एक्कासि
नियाउरो भयो । अब के गर्ने ?
‘तैपनि कोसिस गर्न त भन्नै पर्छ’ अमरले भन्यो-‘तिम्रो घडीलाई भन न हिमानी !’

‘सुन ए मेरो घडी’ हिमानीले खापामा मुख जोडेर भनी-‘हामी यहाँ थुनिएका छौँ । बूढीको कम्मरमा साँचो छ । त्यो हात लाउन सक्छस् भने हामीलाई उम्का ।’

-टाङ् टिङ् टुङ्-घडी बाहिर नाच्न थाल्यो । के गर्न थाल्यो त्यो घडी बाहिर ?… नाच्न पो थाल्यो त्यो !… तर होइनहोला । अनि एक्कासि एउटा साँचो खापाको अन्तरबाट कोठामा खस्यो ।

‘वा ! हिमानीको घडी !’ भकुन्डे भाइ खुसीले उफ्रयो । ‘हिमानी हेर त तिम्रो घडी कति बाठो !…’ उसले साँचो दियो ।
‘तर त्यो त उसकै आफ्नो साँचो हो !’ हिमानीले भनी ‘यो त ढोकाको साँचो होइन । यसले ढोका खोल्न सक्ला र ?’

‘साँचो त साँचै हो , खोलिहाल्छ कि !’ अमरले भन्यो । उसले साँचो भुइँबाट टिप्यो र त्यसलाई ढोकाको साँचो छिराउने प्वालमा छिराउन खोज्यो । तर साँचो मिलेन । ऊ निराश भयो । अनि भकुन्डो भाइले साँचो उसको हातबाट लियो र त्यसमा आफ्नो मन्त्रले फुःफुः गर्यो । अनि प्वालमा छिराउन खोज्यो । यसपल्ट साँचो मिल्यो अमरले खुसी हुदै ढोका खोल्यो । सबै खुसीले कराउन थाले ।

‘चुप !…’ अमरले सान गरेर सबैलाई चुप लाग्न भन्यो । अनि सबै चाल मारेर कोठाबाट निस्के ।

-टाङ टिङ टुङ – घडी खुसीले उफ्रयो । हिमानीले उसलाई बोक्तै भनी- ‘चुप लाग ! बूढीले सुनी भने… ‘

तर बूढीले घडीको स्वर सुनिसकेकी थिई । ऊ हस्याङ र फसयाङ गर्दै आई । सबै पर्दापछाडि लुके । तर घडी लुक्न भ्याएन । घडी उल्टो दिशातिर भाग्यो । बूढी त्यसकै पछिपछि दगुरी ।

‘स्याबास मेरो चङ्खे घडी !’ घडीको चलाखी देखेर हिमानी ताली पिट्दै उफ्री । अमरले पर्दाबाट निस्कदै भन्यो-‘भाग छिटो । जहाजतिर भाग !’

सबै भागन भनेर ढोका खोल्न पुगे । तर अघि मात्र ढोका के खोलेका थिए , त्यो तुरुन्तै बन्द गर्नु पर्यो किनभने चडेकन बूढी त्यतै आउदै थिई ।

‘लौ मेचमुनि लुक छिटो’ अमरले भन्यो । अनि हत्त र पत्त कोही मेचमुनि लुके, कोही टेबिल र सोफामुनि लुके । त्यसैबेला बूढी ढोका खोलेर भित्र पसी । ‘कहाँ गए चोरहरू ?… पख तिमीहरूलाई ।…’

ठीक त्यसै बेला घडी फेरि भित्र पस्यो र हल्ला गर्दै लामो सुरुङजस्तो मटानतिर भाग्यो । बुढिया आफ्नो फरिया पिडौंला-माथि स्याहार्दै उसको पछि-पछि दगुरी । त्यही मौका पारेर अमरहरू बगैचामा निस्के ।

‘लौ, ऊ जहाज त्यहाँ छ । झट्टै जहाजतिर भाग’ अमरले सबैलाई आदेश दियो । सबै जना जहाजतिर छारतोस कसे । अमर सबैभन्दा पहिले जहाजमा चढ्यो । उसले सबैलाई तानेर जहाजमा चढायो ।

‘मेरो घडी ! मेरो घडीलाई बूढीले मार्छे । म त उसलाई छोडेर एक्लै जान्न’ हिमानी पीर गर्न थाली । अमरले उसलाई सम्झायो-‘तिमी पीर नगर । त्यसलाई बूढीले भेट्दिन, ऊ चलाख छ ।’

नभन्दै त्यसैबेला बूढीलाई छलेर घडी दगुर्दै जहाजतिर आयो । बूढी परबाट लखेट्दै आउँदै थिई । घडी झाडी बुट्यानपछाडि लुक्दैलुक्दै जहाज नजिकै आयो । बूढी पनि एक्कासि घडीको टाउकैमा आइपुगी । तर भाग्यले बूढी त्यहाँ एउटा ढुङ्गोमा ठोस्सिएर घुरमुन्टिई । त्यही मौका पारेर अमरले घडीलाई तानेर जहाजभित्र हुल्यो । बूढीपनि हत्त र पत्त उठेर जहाजतिर दगुरी । तर ऊ जहाजनजिक पुग्दा अमरले ‘माथि’को हातो घुमाइसकेको थियो र जहाज हावामा उडिसकेको थियो । बूढी आकाशतिर हात उठाएर दगुरी । तर जहाज अब निकै माथि पुगिसकेको थियो । बूढी धारेहात लाउँदै सराप्न थाली- ‘भष्म खरानी होस्, त्यस जहाजको सत्तेनास होस् ।’

भकुन्डे भाइले झ्यालबाट तल हेर्दै बूढीलाई जिस्क्यायो ‘अ पाँचजना केटाकेटी, सातओटा कुखुरी, एउटा गाई, एउटा बाख्रो जहाज चढेर उडे भने चड्कन बूढीको स्कुलमा के बाँकी रहन्छ ?’

भकुन्डे भाइको कुरामा सबै हाँसे । अब जहाज एउटा विचित्रको धरतीमाथि उड्न थाल्यो । त्यस धरतीमा घास गुलाफी रङको थियो । रूखहरूभने हरिया थिए । भकुन्डे भाइले तल हेर्दै भन्यो- ‘मैले चिने । यो धरती चाँदीको धरहरा भएको धरती हो । यसपछि अब दाहिनेतिर समुद्री चराहरूको देश भेटिन्छ । त्यसपछि त हाम्रा साथी तीन भालु र सुनेकेस्रा मैयाँको देश आइहाल्छ ।

‘ठिक छ ।’ अमरले जहाजलाई सोझो उडाउँदै भन्यो । तल अब चाँदीको धरहरा देखियो । घामको प्रकाशमा त्यो खुब टल्किरहेको थियो । अमरले ‘दायाँ’को हातो घुमायो । अब त्यो समुद्रमाथि उड्न थाल्यो । अब आकाशमा हजारौँहजार सेता पखेटा भएका समुद्री चराहरू उडिरहेका थिए । जहाज तिनैका बीचमा उड्न थाल्यो ।

अमरले अब जहाजलाई देब्रेतिर मोड्यो । चाडै नै उनीहरू उही तीन भालुको जङ्गलमाथि उड्न थाले ।

‘ऊ, लौ हेर तल… तीन भालुको घर !’ हिमानीले खुसीले कराउँदै भनी-‘हेर, गुलाफका लहराले छोपेको । ऊ…, सुनकेस्रा मैयाँ आँगनमा खेलिरहेकी छ ।’

‘हो ! हो !’ आशिष चिच्यायो । ‘उ मोहिनी वन पनि देखियो । अमर दाइ !… जहाज त्यहाँ उतार्ने होइन ? मैदानमा ।’

अमरले जहाजलाई बिस्तारै मैदानमा उतार्यो । सबै जहाजबाट ओर्ले । आशीष र भकुन्डे भाइ खुसी भएर नाच्न थाले ।

‘चड्कन बूढी कसरी हिस्स बूढी खिस्स दाँत भइहोली हगि ?’ गीता ताली पिट्न थाली ।

हिड अब घरतिर जाऔं’ अमरले आफ्नो कोदालो बोक्तै भन्यो-‘म चाडै घर पुग्नु पर्छ । लौ भकुन्डे भाइ, हिमानी नमस्ते । फेरि चाडै भेटौँला ।’

अमरहरू आफ्ना गाई, बाख्रा, कुखुराहरू लिएर भकुन्डे भाइहरूसँग बिदा भएर घरतिर लागे । भकुन्डे भाइ र हिमानी इन्द्रजाली रूखतिर लागे ।

अमरहरू घर पुगे । गाई, बाख्रा, कुखुरीहरू देखेर आमा खुब खुसी हुनुभयो । भनेजस्तो कोदालो पाएर बा पनि खुसी हुनुभयो ।

‘तिमीहरू पक्कै मोहिनी वनतिर गएर आयौँ’ आमाले भन्नुभयो ।

‘हामी त्यसभन्दा पनि पर गएर आयौँ’ अमरले भन्यो ।