२0. झाँक्रीको राजा पहलमान झाँक्री
बिस्तारै रात बितेर पूर्व उज्यालो भयो । एकै छिनपछि उदाएर सूर्य इन्द्रजाली रूखका हाँगा-पातमा झुन्डिएका शीतका थोपाहरूलाई हीराजस्तै टल्काउन थाल्यो ।
‘अब त सबै भूतका छौँडाहरू निख्रे क्यार । कतै लुकेर बसेका त छैनन् ?’ भकुन्डे भाइले चारैतिर-कुनाकाप्चा खोज्दै भन्यो । खैरे हिउँमानवहरूले पनि छ्यापछ्याप्ती खोज्न थाले । हाँगा र पातका छेका र अन्तर-अन्तरमा लुकिरहेका केही छौँडाहरूलाई घिसारेर बाहिर निकाली चिप्लेटीको कोठामा जाकिदिए । अब त्यहाँ एउटै छौँडा पनि बाँकी रहेनन्, सबका सब चिप्लेटीको खोक्रामा एकमाथि अर्को खात लागेर बडो कष्टसँग कैद परे ।
‘लौ, अब त भूतका बच्चा सबै जकडबन्दी भए । अब त मजासँग बसेर खान पाए ! भोकले खुरन्धार गर्यो ।’
‘ऊ हेर !’ भकुन्डे भाइको कुरा सुनेर गीताले इन्द्रजाली रूखको एउटा मोटो हाँगातिर देखाउँदै भनी ‘त्यहाँ लटरम्म बयर फलेका रहेछन् । त्यही टिपेर भतेर लगाऔँ न ।’
‘ठिक भन्यौ’ भकुन्डे भाइले लोखर्केलाई तल पठाएर छ जना सेताहरूलाई बोलायो । माथि भर्याङको मुखमा बसेका दुई जना सेतालाई पनि बोलाए । त्यसपछि उसले हिमानीलाई बोलाएर भन्यो ‘हिमानी तिमी अलिकति दूध ल्याउन सक्छ्यौ ?… दूध फलफूलको भतेर बडो मजाको हुन्छ ।’
हिउँ मानवहरू पनि सबै आए । हिमानीले दूध पनि ल्याई । उनीहरूले फलफूलहरू टिपेर थुप्रो लगाए । अनि सबै मजाले बसेर खान थाले । त्यसै बेला त्यहाँ एउटा विचित्रको दुब्लो कवँचाजस्तो मानिस आयो । उसका लुगाहरू
चिराचिरा र गाँठै गाँठा परेका थिए । तर उसको अनुहार भने बडा हँसिलो र बुज्रुकजस्तो देखिन्थ्यो । मानौँ उसले नजानेको कुरा संसारमा केही पनि थिएन । गीताले गहिरोसँग त्यसलाई हेरी । तर त्यो कसैलाई पनि चिनेजस्तो लागेन । तर गीताले भने त्यसलाई कतै देखेजस्तो ठानी – कहाँ देखेकी ? … कस्तो हाँसो उठ्दो मान्छे ?… कौवा तर्साउने ख्याकजस्तो ।
त्यो झुत्रे मानिस उनीहरूको नजिकै आएर उभियो । उसले हात पसार्दै भन्यो ‘मलाई पनि एक गिलास दूध दे न भाइ हो ।’
‘को हो यो ?… चिन्नु न जान्नु घचेटी माग्नु । त्यसै कहाँ पाउनु दूध ? … छैन दूधसुध’ भकुन्डे भाइले हकार्दै भन्यो ‘दूध खानु पर्नेले गर्नु पर्छ काम ।’
‘डाम ?’ त्यो मानिसले आफ्नो जीउको चारैतिर हेर्दै भन्यो ‘खोइ डाम ? ए, यो ? यो त ओदानले डामेको ओदान !..: ओदान मात्र कहाँ, ती मोरा भूतका लाल छौँडालाई झटारो हान्दा ताप्के, काम्टा, केतली सबै कताकता परे कता कता ।’
‘ए, यो त काम्टे बा पो रहेछ’ गीताले खित्खिताउँदै भनी । अरूले पनि चिने । साँच्चै त्यो काम्टे बा नै थियो । काम्टाको माला नलाएकाले पो उसलाई चिन्नै नसकिएको रहेछ ।
‘ओ ! काम्टे भाइ !’ के-नाम-के-रेले उठेर उसलाई घिच्च्याउँदै भन्यो ‘मैले त तिमीलाई चिन्नै नसकेको । आऊ आऊ बस ।… मसँगै बसेर खाऊ ।’
‘जाऊ ? कहाँ ?’ काम्टेले हाँसो उठ्दो मुख लाएर भन्यो ‘म कहाँ जान्थेँ ?… म त भोकले भुतुक्क भएर आएको ।’
‘होइन, त्यसैले त सँगै बसेर खाऔँ भनेको’ के-नाम-के-रेले अलि जङ्गिएर भन्यो ‘मोरो बहिरो ! एक थोक भन्यो अर्को थोक सुन्छ ।…साँच्चैको बहिरो छ।’
‘पैह्रो !’ काम्टेले डरले हत्तपत्त भाग्ने दाउ गर्दै भन्यो ‘कहाँ पैह्रो गयो ?… किच्ला किच्ला । …भाग छिटो ।’
‘उफ् ! क्या भालुको कम्पटजस्तो छ यो काम्टे’ के-नाम-के-रेले दिक्क मान्दै भन्यो । अनि कानैमा मुख लगेर करायो ‘पैह्रो होइन, पैह्रो । …तँलाई बहिरो भन्या क्या । …लौ थच्ची यहाँ । थच्चिएर बयर-दूध खाऊ ।
‘ए !…’ काम्टे हाँस्यो ‘…म त पहिरो गयो भनेर पो । …बयर र दूध खान पाए त किन खान्नथे ।’
अनि उसले बयरको बुजो मुखमा हाल्यो । त्यसपछि अरूले पनि खाए । खाइसकेपछि सबैले मुख सुख कुल्ला गरे । भकुन्डे भाइले पनि मुख पुछ्दै भन्यो ‘अब ती चिप्लेटीको ढुङ्गोमा कोचिएका लाल छौँडाहरूलाई के गर्ने ?… त्यही कोच्चिएर मरे भने त यहाँ मुर्दा सडेर गन्हाउन थाल्छ । त्यसैले केही त गर्नै पर्छ ।’
‘त्यहीँ सड्न दिन त हुन्न’ हिउँमानवको नाइके जुँगे खैरेले भन्यो ‘यिनीहरूलाई कुनै कडा सजाय दिनु पर्छ ।’
यति भनेर उसले रुमाल झिकेर आफ्नो लामो दाह्री पुछ्यो । किनभने बयर खाँदा बयरको रस उसको दाह्रीमा चुहिएको थियो । …ठिक त्यसै बेला त्यहाँ एउटा विचित्रको घटना घट्यो । उनीहरू आफ्नै छलफलमा मग्न थिए, त्यसै बेला एउटा बादलको जस्तो स्वरले पछाडिबाट हकार्यो ‘ए ! तिमीहरू त यहाँ बडा बलिया-बाठा जम्मा भएका रहेछौ । उहाँ मेरो झाँक्री धरतीमा काम गर्ने मान्छे
एउटा पनि छैन । म तिमीहरूलाई आफ्नो धरतीमा लैजान्छु त्यहाँ गएर तिमीहरूले मेरो काम गर्नु पर्छ । …कसो ? …जान्छौ कि जाँदैनौ ?
सबैले त्यो बोल्ने मानिसतिर मुन्टो घुमाएर हेरे । त्यहाँ त एउटा अनौठो पहलमानजस्तो भयङ्कर मान्छे रूखको माथिल्लो र मोटो हाँगामा बसेर खुट्टो हल्लाइरहेको थियो । ए, यो त झाँक्रीको राजा – पहलमान झाँक्री हो । उसका हरिया आँखा अँध्यारोमा बिरालाका आँखाझैँ टल्किरहेका थिए ।
‘पहलमान झाँक्री !… पहलमान झाँक्री !’ भकुन्डे भाइले अमरको कानमा भन्यो । उसको स्वर डरले कामेको थियो । उसले उठेर झाँक्रीलाई नमस्कार गर्यो । उसको देखासिकी गरेर अमर र अरूले पनि उठेर नमस्कार गरे ।
‘यो को मान्छे हो ?’ गीताले चिढिएर हिमानीसँग सोधी र भनी ‘यो त लुटाहा साँढेजस्तो छ ।’
‘हा !… त्यसो भन्नुहुन्न’ हिमानीले डराउँदै भनी ‘उसले सुन्यो भने फेरि आपत् आइलाग्छ । ऊ संसारमा सबैभन्दा बलियो, झाँक्रीको राजा हो । अहिले बादलमाथि झाँक्रीको धरती आइपुगेको होला । त्यसैले ऊ बादलको भर्याङ ओर्लेर नोकर खोज्न आएको होला । उनीहरूलाई सधैँ नोकरको खाँचो भइरहन्छ ।’
‘आ, म त यी बोक्साहरूकी नोकर्नी हुन जान्न’ गीताले निन्याउरो अनुहार लाएर भनी । तर हिमानीले उसलाई सम्झाउँदै भनी ‘तिमीलाई इच्छा लागेन भने तिमी नजान सक्छ्यौ । किनभने उसले जबरजस्ती कसैलाई नोकर तुल्याउँदैन । ऊ खराब मानिस होइन । तर ऊसँग उसको धरतीमा गएदेखि जादुका मन्त्रहरू सिक्न पाइन्छ ।’
‘पर्या छैन हाम्लाई जादुसादु सिक्न’ गीताले नाक खुम्च्याउँदै भनी । पहलमान झाँक्रीले आफ्ना तीखा आँखाले ती साना खैरेहरूको भीडलाई हेर्यो । … त्यहाँ सय जना जति खैरेहरू थिए। झाँक्रीले भन्यो ‘मलाई सय जना जति कामदार ज्यामी चाहिएको छ, मेरो धरतीमा काम गर्न । तिमीहरू जान चाहन्छौ भने म लिएर जान्छु ।’
तर उसको कुरामा कसैले जवाफ दिएन । अनि भकुन्डे भाइले उठेर बडो मान गर्दै हात जोडेर भन्यो ‘महाराज झाँक्री ! हामी कसैलाई पनि यो मोहिनी बन छोडेर जाने मन छैन । हजुरले अरू मानिस नै खोज्नु पर्छ । हाम्रो बिन्ती छ, हामी कसैलाई पनि हजुरले नलगिबक्सियोस् ।’
‘ठिक छ, तिमीहरू जान चाहन्नौ भने म तिमीलाई कर गर्दिन’ झाँक्रीले भन्यो ‘तर मलाई सय जना जति ज्यामीहरूको साह्रै खाँचो छ । तिमीहरू मलाई त्यस्ता मानिस खोज्न मदत गर्न सक्तैनौ ?’
अमर र सेताहरू बडो चिन्तामा परेर मुखामुख गर्न थाले । अब सय जना ज्यामी कहाँबाट खोज्ने उनीहरूले ? उनीहरू अप्ठ्यारामा परे । नखोजिदिऊ भने झाँक्री रिसाएर के गर्ने हो !… खोजिदिऊँ भने कहाँ खोज्ने ?
अनि अमर एक्कासि खुसीले उफ्रियो ‘लौ श्रीमान् झाँक्री महाराज !… हामी तपाईँका लागि सय जना ज्यामी-कमारा खोजिदिन्छौँ ।’
‘के साँच्चै ?’ पहलमान झाँक्री खुसी पनि भयो, आश्चर्य पनि । ‘तिमीहरू आफू जान्नौ भन्छौ, अरू कहाँबाट खोज्छौ ?’
‘तपाईँको काम भूतका लाल छौँडाबाट चल्छ ?’ अमरले सोध्यो ‘काम चल्छ भने…’
भकुन्डे भाइ, के-नाम-के-रे र काम्टे बा सबै एकै स्वरमा हल्ला गर्न थाले । तर उनीहरूलाई पहलमान झाँक्रीले हप्काएर पालैपालो बोल्न भन्यो । सबै सामसुम भए ।
‘श्रीमान्’ निकै बेरपछि पहिले भकुन्डे भाइले मुख खोल्यो ‘हामीले एक सय जति राता भूतका छौँडाहरूलाई रूखको चिप्लेटीमा थुनिराखेका छौँ । किनभने तिनीहरू दुष्ट छन्; उनीहरूले हामीलाई दुःख दिन खोजेका छन् । यदि तपाईँले उनीहरूलाई आफ्नो धरतीमा लगेर बेसरी काम जोताउनुभयो भने उनीहरूलाई ठिक्क हुन्छ ।
‘ए, उनीहरूले तिमीहरूलाई दुःख दिन खोजे ?…’ पहलमान झाँक्रीले आश्चर्य मानेर सोध्यो “के गरे !… खुलस्त बताऊ !’
भकुन्डे भाइले भूतहरूले रूखका बासिन्दाहरूलाई थुनेर दुःख दिएको सबै कुराको बेलिबिस्तार लायो । त्यो सुनेर पहलमान झाँक्री रिसायो । उसले गर्जेर भन्यो ‘त्यसो भए ती दुष्ट भूतहरू कमारा तुल्याउन लायक रहेछन् । लौ तिनीहरूलाई एक एक गर्दै बाहिर निकालेर पाता कस । म तिनीहरूलाई मेरो धरतीमा लगेर तिनीहरूको बदमासीको स्वाद चखाउँछु ।’
कुरा गर्दागर्दै बिहानको घाम पनि झुल्कन आँट्यो । सूर्यको चम्किलो प्रकाशमा सबै रूखबाट ओर्ले । उनीहरू गुप्ती घोप्टेको मुनि मोर्चा बाँधेर उभिए । अमरले गएर आग्लो खोलिदियो । घोप्टे खुल्यो । अनि चिप्लेटीबाट लाल छौँडाहरू कुहिएको फर्सी रूखबाट झरेझैँ एक एक गर्दै घोप्टेबाट झर्न थाले । भकुन्डे भाइ, के-नाम-के-रे र अरू सेता हिउँमानवहरू मिलेर उनीहरूलाई एक एक गर्दै पाता कसेर लडाए । एउटा बलियो छौँडा उम्केर भाग्न खोज्यो । तर जुँगे सेतो मानवले उसलाई कठालामा समातेर थच्चायो ।
अरू भूतका लाल छौँडाहरूले पहलमान झाँक्रीलाई पनि देखे । त्यसपछि त उनीहरू सातो गएका केटाकेटीजस्तै हलचल गर्न नसकेर चुपचाप बसे । यसरी एक-दुई गर्दै सय ओटै भूतहरू खसालिसकेर सबैलाई चौखुर्याएपछि गीता ‘खुच्चिङ खुच्चिङ’ भन्दै हाँस्न थाली र ‘अर्कालाई पकडेर कमारा बनाउन खोज्ने मोराहरू अब आफै झाँक्रीको कमारा हुन थाले’ उसले हिमानीका कानमा भनी।
अब उनीहरूले राता छौँडाहरूलाई एक एक गर्दै लाइनमा उभ्याए । अनि पहलमान झाँक्रीले हुकुम दियो ‘लौ, यिनीहरूलाई मेरो धरतीमा उकाल ।’
अब अमरको आज्ञाले भकुन्डे भाइ र जुँगे सेता हिउँमानव आफ्ना केही साथीलाई लिएर माथि रूखमा चढे । उनीहरूले माथिबाट बाल्टिन-यान खसालिदिए । अनि पाँच पाँचका दरले भूत-छौँडाहरूलाई त्यस बाल्टिनमा हाल्दै माथि तान्दै गर्न थाले । सबै भूतलाई माथि चढाइसकेपछि पहलमान झाँक्री पनि माथि उक्लेर सबै भूतलाई लिएर आफ्नो धरतीमा गयो । त्यहाँ सबै भूतलाई नेल लगाएर कमारा बनाई आफ्नो धरतीमा काम जोताएर राख्यो ।
अनि अमरहरू सबै भकुन्डे भाइकहाँ जम्मा भए । अमरले बडो सन्तोष मानेर भन्यो ‘ती बदमास भूतहरूलाई सुहाउँदो सजाय भयो ।’
‘रात पनि बडो रमाइलोसँग बित्यो । क्या मज्जा !’ आशिषले चहकिँदै भन्यो ।
जाडो लागेन ?’ भकुन्डे भाइले जिस्क्यायो ।
गीताको कुरालाई अमरले पनि समर्थन गर्यो । त्यसपछि सबै रूखबाट ओर्ले । अनि रूखका फेदको यताउति मिल्किएका काम्टा, ओदान ताइताप्के, डाडु पन्यौ, केतलीहरू र कराई बटुलेर फेरि उसलाई भिराइदिए । ठुलो ताइताप्के उसको टाउकाको टोप थियो । अब भने काम्टे बालाई साँच्चै सुहायो ।
ऊ बडो खुसी भएर काम्टा बजाउँदै नाच्न पनि थाल्यो ।
‘काम्टाको माला नलाएको बेला त यो काम्टे बा शङ्ख नभएको चिप्ले कीराजस्तै देखिने’ गीताले खित्खित् गर्दै भनी । अनि अब सबैले आआफ्ना ठाउँमा जाने मन गरे ।
‘अब त घर जानु पनि पर्छ’ अमरले भन्यो ‘आमा-बाले पनि पीर गरिरहनुभएकोहोला ।… हामीलाई पनि भोक लाग्यो, निद्रा पनि, रातभरि सुत्न पाइएन । अब घर गएर मजासँग सुत्नु पर्छ ।’
‘दिउँसै सुत्ने ?’ गीताले भनी ‘आमा-बाले के भन्नुहोला ?’
‘के भन्नु ?’ आशिषले भन्यो ‘राती सुत्न नपाएपछि दिउँसो त सुत्नै पर्यो ।’
‘हो, हो !’ सेता हिउँमानवको नाइके जुँगेले भन्यो ‘हामी पनि अब आआफ्ना घरतिर जाऔँ ।’
त्यसपछि अमरले सबैसँग बिदा लियो । भकुन्डे भाइ, हिमानी, के-नाम-के-रे, लुगा धुने आइमाई र काम्टे रूख माथितिर उक्ले । सेतेहरू झाडीपछाडि अलप भए । अमर, गीता र आशिष मोहिनी वन हुँदै खोल्सो तरेर घरतिर लागे । आमा बा बाहिर कतै काममा लाग्नुभएको थियो । उनीहरू लुसुक्क पछाडि बगैँचातिरबाट पसेर आफ्नो कोठामा गएर सुते । आमाले भात पाकेपछि बेसरी बोलाएपछि मात्र उनीहरू उठे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
विश्व-प्रसिद्ध बाल उपन्यास, इन्द्रजाली रूख,२१. गीताको जन्मोत्सवको तरखर
२ फाल्गुन २०८२, शनिबार 








