विशिष्ठ आख्यानकारका रूपमा परिचित रमेश विकलको स्मृतिमा भएको चित्रकला प्रतियोगितामा विद्या सागर स्कुलकी रुस्मा सेन्चुरी प्रथम भएकी छिन् । अब्बल चित्रकारसमेत रहनुभएका रमेश विकलको स्मृतिमा राजधानीमा स्थलगत चित्रकला प्रतियोगिता आयोजना गरिएकोमा सेन्चुरी प्रथम भएकी हुन् ।

अरुणिमा एजुकेशन फाउण्डेशनले गोकर्णेश्वर ९ स्थित नवअरुणिमा माविमा प्रतियोगिता गरेकाे थियो । प्रतियोगितामा सोही विद्यालयकी अनिता डङ्गोल द्वितीय भइन् भने पाँचपोखरी मोडल स्कुलकी अम्बिका तामाङले तृतीय स्थान हासिल गरिन् । सान्त्वना पुरस्कार ग्रिनतारा एकेडेमीकी एलिसा राईले पाइन् ।

विजयी विद्यार्थीहरूलाई ललितकला प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, अरुणिमा एजुकेशन फाउण्डेशनका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछाने, रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसे, अरुणिमा कलेजका प्रमुख केशव जोशी, नवअरूणिमा विद्याल व्यवस्थापन समितिका अध्यक्ष वसन्त रिजाललगायतले ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

‘कोरोना कहर र मेरो गाउँघर’ शीर्षकको प्रतियोगितामा निर्णायकको भूमिकामा राजन काफ्ले र कुशल हमाल रहनुभएको थियो । प्रतियोगितामा कक्ष ६ देखि १० सम्म अध्ययनरत विभिन्न १९ विद्यालयका ५५ जना छात्रछात्रा सहभागी थिए ।

वर्षेनी आयोजना गरिने प्रतियोगता सञ्चालनका लागि अरुणिमा एजुकेशन फाउण्डेशनले एक लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ ।