तेजेश्वर बाबु ग्वंगः

 

रमेश विकल साहित्य प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दैआएका विविध पुरस्कारहरूमध्ये यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई अर्पण गर्ने निर्णय गरेको छ ।

यसरी नै लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस लाशहरूको निःशुल्क सद्गति गरी समाजसेवा गर्दै आउनुभएकी सपना र‍ोका मगरलाई रमेश विकल-सुशीला समाजसेवी पुरस्कार र रमेश विकल सृजना पुरस्कार वरिष्ठ समालोचक रमेश गोर्खालीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार लक्ष्मी उप्रेती तथा रमेश विकल सङ्घर्षशील नारी सम्मान धर्मशीला चापागाईंलाई प्रदान गर्ने निर्णय भएको छ ।

यसपल्ट रमेश विकल कला-सङ्गीत पुरस्कार सार्थक नेपाली चलचित्र र टेलिशृङ्खलाहरूको सफल निर्देशन गर्दै आउनुभएका वरिष्ठ कलाकार-निर्देशक बद्री अधिकारीलाई अर्पण गरिने छ । रमेश विकलको कालजयी कृति अविरल बग्दछ इन्द्रावती उपन्यासलाई लोकप्रिय टेलिफिल्मका रूपमा उहाँले नै निर्देशन गर्नुभएको हो ।

प्रतिष्ठाद्वारा प्रकाशित प्रेस वक्तव्य अनुसार पुरस्कृत स्रष्टाहरुको चयन प्रतिष्ठानका सदस्य साहित्यकार मातृका पोखरेलको संयोजकत्वमा गठित वरिष्ठ समालोचक युवराज मैनाली तथा साहित्यकार सीता शर्माको समितिको सिफारिस अनुसार गरिएको हो । पुरस्कार आगामी पुस २ गते शनिबार बिहान ११ बजेदेखि हुने विकल स्मृति सभामा अर्पण गरिनेछ ।