काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा अमेरिकाको कोलोराडोमा आयोजना हुने नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा अनेसास बोर्ड अफ ट्रष्टिका सभापति पदम विश्वकर्माले सम्मेलनको तयारी सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालसहित विश्वका विभिन्न मुलुकबाट १ सय २५ जना साहित्यकार, लेखक तथा पत्रकारको सहभागिता रहनेछ भने कोलोराडो राज्यका ५० भन्दा बढी स्रष्टा र साहित्यप्रेमीको पनि उपस्थिति रहनेछ ।
सम्मेलनमा नवराज लम्साल, नीलम कार्की निहारिका, सुधीर शर्मा, बसन्त बस्नेत, नारायण श्रेष्ठ, खेम रिजाललगायत गरी १ सय ७५ भन्दा बढी व्यक्तित्वको सहभागिता रहने जनाइएको छ ।
अनेसासका महासचिव राजु सिटौलाका अनुसार सम्मेलनको औपचारिक उद्घाटन मे २३ मा हुनेछ । २३ र २४ मेमा विभिन्न सत्रमार्फत साहित्यका विविध विधामाथि बहस, अन्तरक्रिया तथा विमर्श गरिनेछ । ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ शीर्षकमा हुने विशेष बहसमा नीलम कार्की निहारिका, सुधीर शर्मा र बसन्त बस्नेत सहभागी हुनुहुनेछ भने सहजीकरण नारायण श्रेष्ठले गर्नुहुनेछ ।
सम्मेलन अवधिभर बिहान योग कार्यक्रम र साँझ काव्य उत्सव आयोजना गरिनेछ । अन्तिम दिन सहभागीहरूलाई कोलोराडोका ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गराउने कार्यक्रम पनि तय गरिएको छ ।
अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीले सम्मेलनका लागि करिब ५३ हजार अमेरिकी डलर खर्च अनुमान गरिएकोमा हालसम्म ३५ हजार डलर संकलन भइसकेको जानकारी दिनुभयो ।
त्यसैगरी, अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष तथा सम्मेलन संयोजक किरण अधिकारीले सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको र अतिथिहरूका लागि आवास, भोजन तथा भ्रमणको उचित व्यवस्था मिलाइएको बताउनुभयो ।
सांस्कृतिक समितिका संयोजक विजयदेव अधिकारीका अनुसार सम्मेलनमा विभिन्न जातजाति र समुदायका झाँकीसहित सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन् ।
चार दिनसम्म सञ्चालन हुने सम्मेलनको अन्तिम दिन सहयोगी व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










