काठमाडौं । नेपाली कथा साहित्यमा पुनर्जागरण ल्याउने उद्देश्यले सञ्चालन हुँदै आएको मासिक कथावाचन कार्यक्रमको ३०औँ शृङ्खला सम्पन्न भएको छ । २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको उक्त कार्यक्रम वैशाख २५ गते सम्पन्न भएको हो ।
कार्यक्रमको सुरुवात दिवंगत कथाकार हृदयचन्द्र सिंह प्रधानको कथा ‘सौता’ वाचनबाट गरिएको थियो, जसलाई डा. पवित्रा अधिकारीले प्रस्तुत गर्नुभएको थियो । त्यसपछि कथाकार रमेश जङ्ग थापाले ‘हाम्रा बा हुन्नन्’, प्रमोद प्याकुरेलले ‘छ्याक लोह’ र इन्दिरा प्रसाईले ‘श्री’ शीर्षकका कथाहरू वाचन गर्नुभएको थियो ।
कार्यक्रमका परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथा साहित्यमा नयाँ ऊर्जा भर्ने उद्देश्यसहित सुरु गरिएको अभियानले अहिले कथाकार र पाठकमाझ लोकप्रियता हासिल गरिरहेको बताउनुभयो । उहाँले स्थापित र नयाँ पुस्ताका स्रष्टाहरूलाई समान अवसर दिइँदै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा कथाकार र कथाप्रेमीबीच अन्तर्क्रिया समेत गरिएको थियो, जसमा शैलेन्द्र साकार, हरिबोल आचार्य, निर्मला ढुंगाना, जेठा बैरागीलगायतले सहभागिता जनाउनुभएको थियो ।
अर्का परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले धन्यवाद ज्ञापन गर्दै वाचन गरिएका कथाहरूले विभिन्न समय, समाज र विषयवस्तुलाई फरक–फरक ढंगले प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रमको सञ्चालन उपन्यासकार शुकदेव उपाध्यायले गर्नुभएको थियो । कार्यक्रम प्रत्येक महिना साहित्यकार पुष्कर लोहनीको निवास, डिल्लीबजार (घट्टेकुलो) मा आयोजना हुँदै आएको छ ।
कथा वाचन र साहित्यिक अन्तर्क्रियामार्फत नेपाली कथा परम्परालाई सशक्त बनाउने यो अभियानले निरन्तरता पाउँदै गएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










