भात खाइसकेपछि शङ्कर आफ्नो कोठामा आएर ओछ्यानमा पल्टियो । गर्मीको महिना, उसलाई केही गर्ने जाँगरै आएन । झुम्म पारेर ल्याएपछि शङ्कर लठ्ठिँदै गयो । आँखा चिम्म गरेर सुत्ने प्रयास गर्दा शङ्करलाई राम्ररी निद्रा परेन । चाहिने नचाहिने किसिमका तरङ्गले सताउन थाल्यो ।

त्यसै बेला उसको कोठाको ढोकाबाहिरबाट कसैको आवाज आयो । त्यो आवाज उसका बाबुको थियो ।

अल्छी लागे तापनि ओछ्यानबाट उठेर शङ्करले ढोका खोल्यो । छोरालाई देख्नेबित्तिकै बाबुले भन्यो– “शङ्कर, म दुई-चार दिनका लागि पहाड जाँदैछु । घरको हेरविचार राम्ररी गर्नू । घरखर्चका लागि चाहिने पैसा आमालाई दिएको छु ।”

“हजुर अहिले नै जान लाग्नुभएको ?” शङ्करले सोध्यो ।

“हो, एउटा जरुरी काम परेको छ । मुखिया बाजे पनि आएका छन् । उनैका साथमा जान्छु । रामबहादुर पनि मसँगै जान्छ ।” शङ्करका बाबुले भने ।

शङ्करले केही पनि बोलेन । बाबुको मुखमा हेरि मात्र रह्यो ।

त्यसै बेला शङ्करकी आमा छोराको कोठामा पसिन् र भनिन्– “के चाल हो तेरा बाबुको म त बुझ्नै सक्तिनँ । पन्ध्र दिन पनि भएको छैन फेरि जान्छु भन्छन् ।”

“जान्छु भनेपछि जान दिनोस् न । केही काम होला । दुई-चार दिनमा आइहाल्नुहुन्छ नि !” शङ्करले कुनै चासो नै नदेखाएर भन्यो ।

“यी बाबुछोराको कुरै बुझ्दिनँ म त । दिगो भएर एक ठाउँमा बस्नै नसक्ने । कस्तो चन्चले मन ।” छोरोलाई घुर्की सुनाउँदै आमाचैँले भनिन्– “सुख धेरै भयो भने मान्छेले दुःख खोज्छ ।”

“यी चाहिने नचाहिने कुरा मलाई किन सुनाउनुहुन्छ ? उहाँको सुर गर्न दिए भइहाल्छ नि । हजुरलाई पनि जे गर्न मन लाग्छ गर्नोस् । अब कोही केटाकेटी छैनन् । सबले आफूलाई बुझेकै छन्,” शङ्करले भन्यो ।

“भयो भन्दैमा कोही फुर्कन हुन्न बाबू । डोकोमा दूध दुहुँदैमा अड्छ र ? यो घरको चालमाल देख्दैमा म त आत्तिन थालिसकेँ ।” आमाले अर्ती दिँदै भनिन् ।

“हजुर पनि कत्ति कराउन सक्नुहुन्छ ! चुप लागेर मजासँग कोठामा आनन्द लिएर बसे भइहाल्छ नि । कराएर कुनै कुरो हुने होइन ।” शङ्करले झर्किंदै भन्यो ।

शङ्करका बाबुको बस्ने कहिल्यै टुङ्गो नहुने । उसकी आमाको लोग्ने भन्नु मात्र । वास कता हो कता हुने । धेरैजसो उनी घरमै हुँदैनथे । जान त गाउँ जान्छु भनेर जान्थे तर गाउँबाट आउने जानेहरू उनलाई गाउँमा नदेखेको बताउँथे । खोजी हिँड्न पनि त साध्य थिएन । दिक्क भएर खोज्न पनि छोडेका
थिए । कहिलेकाहीँ मिलिक्क आइपुग्थे, फेरि हिँडिहाल्थे । शङ्करकी आमाको दाम्पत्य भन्नु पनि सधैँ एउटा अधुरो सपना थियो– टुट्ने, जोडिएजस्तो गर्ने, अनि फेरि टुटिहाल्ने । उनीले सधैँ अभाव र अतृप्तिको जीवन बाँचिरहिन् । अँ, सम्पत्ति टन्न नभएको होइन । अभाव त खासै थिएन । तर पनि तृप्ति थिएन । उनी विक्षिप्तजस्ती लाग्थिन् ।

झोक्किँदै छोराको कोठाबाट निस्केर माथि कौसीमा पुगिन् आमा । कौसीमा माइली लुगा धुन लागिरहेकी थिई । एकसुरमा लुगा धुन लागिरहेकी माइलीले एक्कासि आफ्नो अगाडि शङ्करकी आमालाई देख्नेबित्तिकै झस्किँदै भनी–  “म त झन्डैले…”

“मैले बुझिनँ । के झन्डैले ?” आमाले सोधिन् ।

“तर्सेको हजुर । किनकिन अचेल म तर्सि मात्र रहन्छु ।” माइलीले भनी ।

“दिउँसो पनि कसैले तर्साउन आउँछ ? राति भए पनि अर्को कुरो ।” शङ्करकी आमाले भनिन् ।

“राति त के भनूँ हजुर ! घिसार्नै आउँछ र ओछ्यानबाट घिसार्दै ढोकाको ठेलामा लगेर बजारिदिन्छ । ढाडै भाँच्चिने गरेर लातले हिर्काउँछ ।” माइलीले मुसुक्क हाँस्दै शङ्करकी आमाको मुखमा हेरी र भनी– “अनुहार चिन्न खोज्छु, चिन्नै सक्तिनँ । मोटोमोटो अनि अग्लो छाया मात्र देखिन्छ ।”

“कुनै चिनेको लोग्नेमान्छेजस्तो छ कि कसो ? यस्तो त मैले यहाँ सुनेकी थिइनँ । हाम्री बूढी बज्यैले चाहिँ एउटा थुम्म परेको सेतो ख्याक राति भएपछि कोठाचोटा गर्छ भन्नुहुन्थ्यो । एक्लै फेला पार्‍यो कि अँगालो मारेर चुस्नसम्म चुस्थ्यो रे । बिगार कसैको गर्दैनथ्यो रे । बूढी बज्यैले हप्काएपछि खुरुक्क बुइँगलतिर जान्थ्यो रे ।” शङ्करकी आमाले माइलीको मुखमा हेर्दै सोधिन्– “कहीँ नीलडाम त छैन तेरो शरीरमा ?”

माइलीले लाज मानेर टाउको निहुर्‍याई ।

केहीबेर पछि हाँस्दै भनी– “हजुर, अब त मलाई झन् डर लाग्न थाल्यो । भरेदेखि छिँडीमा कसरी एक्लै सुत्ने ?”

“भूतलाई खुसी पार्न सक्यो भने त फलिफाप हुन्छ नि । हाम्रो बज्यैसँग एउटी थसुल्ली कमारी आएकी थिई उहिले । ज्यादै सोझी । हामीले देख्दा सेतै भएर फुलिसकेकी थिई तैपनि त्यस्तो उमेरमा पनि खाइहाल्दी जस्ती । कस्तो रसिलो कुरा गर्न जानेकी त्यसले ! लाजले हामी त त्यसको मुख पनि हेर्न सक्तैनथ्यौँ ।” शङ्करकी आमाले भनिन् ।

“कोहीकोही त बुढेसकालमा पनि तरुनी जस्ती, हगि हजुर ?” माइलीले भनी ।

“कहाँ तरुनी मात्र ! लोग्नेमान्छे त देख्नै नहुने । हाम्रो बूढा बाजे पनि त्यसको अगाडि चूँसम्म पनि गर्न सक्तैनथे रे । कहाँबाट हो कुन्नि सेतो ख्याकले पेट बोकाइदिएछ ।” शङ्करकी आमाले हाँस्दै भनिन्– “अहिलेका मान्छेलाई यस्तो कुरा सुनायो भने त आफैँलाई बौलाहा भन्छन् । पत्याउने कुरा त परै
जाओस् ।”

“त्यति गरुन्ज्यालसम्म पनि थाहा नपाउने कस्ती रहिछ त ?” माइलीले सोधी ।

“कहाँ, तँलाई थाहा नै छैन । खुट्टा मिचाउँदामिचाउँदै भुसुक्क सुत्ने बानी हाम्रो बज्यैको रहेछ । निदाएपछि उहाँ बिहान पाँच बजेपछि मात्र ब्युँझने । एक दिन त्यो कमारी पनि खुट्टा मिच्दामिच्दै बूढी बज्यैको खुट्टालाई अँगालो हालेर निदाइछ । राति त्यही सेतो भूतले बेस्सरी मुख थुनेर झम्टिन पुगेछ । अनि कमारीलाई के चाहियो र ! भोलिपल्ट बिहान बूढी बज्यैले पो थाहा पाउनुभएछ । पिडौँलाभन्दा माथि त ह्वाङ्गै रहेछ । तन्ना त चुँडाल्दिसकेको रहेछ । बज्यैको अगाडि रुनसम्म रोइछ । रोएर के गर्ने ? एक लवज बोल्नसम्म पनि सकिनछ ।”

“अनि पछि के भयो त ?” उत्सुकतासाथ माइलीले सोधी ।

“के हुने ? मोरीको भाग्य बलियो रहेछ । पल्लो घरको छिँडीमा भर्खर लाहुरबाट आएर बसेको लाहुरेले फकाइहालेछ । शानसँग स्वास्नी बनाएर हाम्रो घरमुनि घर किनेर बसेछ । दुइटी छोरी पाई । भट्‍टी खोलेर कमाउनसम्म कमाई । छोरी दुवैले एउटैलाई समाएछन् । दुई जनाबाट चार छोरी र एक छोरा भएका छन् रे । नातिनातिना पनि तरुनातरुनी भइसकेछन् । जेठी नातिनीकी छोरीले त एउटा डक्टर समाएर काठमाडौँमा ठूलो घर बनाएर बसेकी छ रे । दुई-तीन वर्षअगाडि तिम्रो बाजेलाई भेट्न आएकी थिई । जीउभरि पहेँल्याम्मै । आफैँले बुनेको भनेर एउटा राडी ल्याएकी थिई । सुन्तला, घिउ, खुवा आदि हालेर एक डोकोसमेत दिएकी थिई । एक रात हामीकहाँ नै बसी । भोलिपल्ट जाने बेलामा मलाई चिनो भनेर एउटा औँठीसमेत दिएर गई । भाग्य भनेको यस्तो पो हुन्छ ।” शङ्करकी आमाले आफ्नो औँला देखाउँदै भनिन् ।

“त्यो सेतो भूत त कस्तो फुँडो रहिछ हगि, हजुर ! बूढी बज्यैको डर पनि नलाग्ने मोरोलाई फरिया पल्टाउँदा पनि कसरी चुप लागेर च्याप्पिन सकेकी मोरी,” माइलीले भनी ।

“खोइ, मात्तेको रैथाने भूतलाई कसले छुने ? हाम्री बूढी बज्यै त त्यसको बारेमा केही भन्यो कि रिसाउनुहुन्थ्यो रे । खूब लच्छिनको थियो रे ।” शङ्करकी आमाले माइलीको आङमा हातले हान्दै भनिन्– “तेरो फरिया तान्न आएको भए तँ के गर्थिस् ?”

“म भएको भए त बज्यै, चुपचाप लागेर केही थाहा नपाएजस्तै जेजे गर्थ्यो गर्न दिन्थेँ । अरू बदमासी गर्न थालेको भए त अँठ्याएरै लुत्रुक्क पारिदिन्थेँ ।” माइलीले गर्वसाथ भनी ।

माइलीको गाला बेस्सरी समाएर शङ्करकी आमाले भनिन्–  “भरे तँ र म सँगै सुते हुन्न ?”

माइलीले पनि जिब्रो देखाउँदै सोधी– “हजुरको ओछ्यानमा कि मेरो ओछ्यानमा ?”

शङ्करकी आमाले आश्‍चर्य र रहर दुवै बोकेका आँखाले माइलीलाई हेरिन् । दुवै फिस्स हाँसे । माइली बाहिरिई ।

(वरिष्ठ कथाकार पुष्कर लोहनीको उपन्यास ‘अदृश्य मान्छे’बाट । पूरा उपन्यास साहित्यपोस्ट एपमा पढ्न सक्नुहुनेछ ।)