काठमाडौं । नेपाली कथा साहित्यमा यौन मनोविज्ञानका विविध पक्षहरूको प्रयोगमार्फत नयाँ आयाम थप्नुहुने सिद्धहस्त कथाकार पुष्कर लोहनीको ८७ औँ जन्मोत्सव भव्यताका साथ मनाइएको छ । काठमाडौंको घट्टेकुलोस्थित उहाँको निवासमा ‘कथा यात्रा’का यात्रीहरूले लोहनीको कथनी श्रवण गर्दै उहाँको जन्मोत्सव मनाउनुभएको हो ।

यो विशेष अवसरमा कथाकार लोहनीले भगवान् श्रीकृष्णको जीवनसँग जोडिएका यौनसम्बन्धी विवादास्पद प्रसंगहरूको दार्शनिक पक्षमाथि रोचक विश्लेषण प्रस्तुत गर्नुभएको थियो । उहाँले आफ्ना समकालीन साहित्यकारहरू शंकर लामिछाने, दौलतविक्रम बिष्ट र हर्क गुरुङसँगको लामो साहित्यिक यात्रा र उनीहरूको योगदानको स्मरण गर्दै आफ्नो साहित्यिक जीवनका विभिन्न कालखण्डका अनुभवहरू सुनाउनुभयो ।

लोहनीले आफ्नो किशोरकालमा प्रगतिशील यथार्थवादी विचारधाराबाट प्रभावित भएता पनि, पछि स्वअध्ययन र स्वतस्फूर्त चेतनाका कारण यौन आख्यान लेखनतर्फ आकर्षित भएको बताउनुभयो । उहाँ गुरु गोविन्दप्रसाद लोहनीको प्रेरणा र संगतबाट प्रभावित भएको उल्लेख गर्दै केही समय भूलभुलैयामा परेको, तर पछि आफ्नै अध्ययन र चेतनाले यौन आख्यान लेखनमा समर्पित भएको स्मरण गर्नुभयो ।

विश्व साहित्यमा गहिरो रुचि राख्ने लोहनी मोपासा र अल्बर्ट कामु जस्ता लेखकप्रति आकर्षित रहेको बताउनुभयो । उहाँले आफ्नो पुस्ताका मात्र नभई अनुज पुस्ताका कथाकारका कृतिहरू अध्ययन गर्ने गरेको जानकारी दिनुभयो । आख्यानको ‘प्लट मास्टर’ मानिने लोहनीले आफ्ना समकालीन साथीहरूलाई कथाका बीजहरू बाँडेको गौरवसाथ सुनाउँदै आफ्नो साहित्यिक योगदानको चर्चा गर्नुभयो ।

वि.सं. २०१६ मा ‘ज्योति’ पत्रिकामा प्रकाशित ‘चिसो चुलो तातो खरानी’ कथाबाट नेपाली साहित्यमा यौन मनोविज्ञानको क्षेत्रमा प्रवेश गर्नुभयो । प्रेम, प्रणय र यौनलाई जीवनको आधार मान्ने लोहनीका कथा, उपन्यास, कविता र समालोचनाहरू प्रकाशित छन् । ‘धरालोको टुप्पो’, ‘अदृश्य मान्छे’ र ‘कौडी’ उहाँका चर्चित कृतिहरू हुन् ।

‘कथा यात्रा’ले प्रत्येक महिना एक सिद्धहस्त कथाकारको जन्मोत्सव मनाउँदै उहाँहरूको कथनी श्रवण गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ । चैत्र महिनाको अन्तिम सातामा पर्ने लोहनीको जन्मोत्सवमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुइँकेल, हरीष कल्पित र पवित्रा अधिकारी कथा यात्रीका रूपमा सहभागी हुनुहुन्थ्यो ।

यो कार्यक्रमले नेपाली कथालाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।