नेपाली आख्यान साहित्यमा महिला लेखकको स्थान र गरिमा उच्च छ । महिलाको पीडा, व्यथा, अनुभूति, रहर, स्वभावको गहिराइ, दुर्नियति, प्रसव र मातृत्व महिलाले नै बढी बुझेका हुन्छन् । अझ पुरुषप्रधान परिवार र समाजबाट प्राप्त आहत, यौनशोषण र कुण्ठा आदि तमाम नारी संवेदनाहरू महिला लेखकहरूले नै पिँधमा पुगी लेख्न सक्छन् । समसामयिक विषयहरूमा पुरुषलाई टक्कर दिंदै पनि महिलाले आफ्नो अनुभूतिहरूलाई आख्यानको माध्यमबाट कथा वाचन गरेका छन् ।

पद्मावती सिंह उमेरले हालै ७६ वर्षकी भइन् । उनी वि.सं. २०२२ सालमा ‘पथ्थरको हृदय’ कथाबाट नेपाली आख्यानमा प्रवेश गरी निरन्तर आख्यानको विविध रूपमा सक्रिय भई साहित्यको सेवा गरिरहेकी छिन् । पछिल्लो पटक मधुपर्कको लागि लेखिएको कथासम्म आइपुग्दा उनीले आख्यानमा आठ कृति प्रकाशनमा ल्याइसकेकी छिन् । पद्मावती सिंहका यी आठ कृतिमध्ये ‘समय दंश’मा आजको दीपक दृष्टि राख्ने अनुमति चाहन्छु ।

बी.एन. पुस्तक संसारले प्रकाशनमा ल्याएको कथाकार पद्मावती सिंहको ‘समय दंश’ कथासंग्रहलाई खरो सम्पादक विमल भौकाजीले सम्पादन गरेका छन् । पूर्ण कालो आवरणमा कथाकार पद्मावतीको दोछायाँ परेको पोट्रेटलाई सजाइएको छ । आवरणलाई कमर्सियल आर्ट समूस टाइम्स क्रिएसनले तयार पारेको हो । संग्रहमा १६ थान कथा संकलन गरिएको छ । संग्रहभित्रका सबै कथा एक वर्षभित्र नेपालका साहित्यिक पत्रपत्रिकाहरूमा प्रकाशित भएका थिए । संग्रह १६४ पृष्ठमा फैलिएको छ ।

पद्मावती सिंह सिद्धहस्त कथाकार हुन् । नेपाली महिला आख्यानमा सिंहको नाम हटाइदिँदा नेपाली आख्यान नै धरापमा पर्छ भनिन्छ । मूलतः उनी आख्यानहरूको माध्यमाबाट नारी संवेदनाका विविध रूपको चर्चा गर्न सिपालु छिन् ।

‘समय दंश’मा कथाकार पद्मावती सिंहले गहिरो चिन्तन, चेतना र विचारहरू पाठकहरूसामु सम्प्रेषण गरेकी छन् । कथाहरू वैयक्तिक जस्ता देखिन्छन् तर तिनै कथाहरू सदाबहार बनेर हरेक कालखण्डका पाठकहरूको मनमुटु स्पर्श गर्न पुग्छन् । कथाहरू पारिवारिक दृश्य, परिवेश र परिघटनाहरूको आधारमा बुनिएका छन् । र पनि कथाले उचालेको सामाजिक, आर्थिक र संवेदनाहरूको पक्ष भने समाजको गहिराइभित्र पुगेका छन् । समाजकै विकृति र विसङ्गतिको पर्खाल भत्काउन सक्षम छन् ।

कथाकार पद्मावती सिंहका कथाहरूले नारीभित्रको एउटा सिङ्गो नारी जन्माउन सफल भएका छन् । नारीका अनेक बिम्ब र प्रतिबिम्बहरू, अनेक रूप र आयाम, अनि नारीभित्रका यौनसन्दर्भ, पारिवारिक विखण्डनको पीडा र विदेश पलायनले पारेको पारिवारिक मनोदशालाई सिंहका कथाहरूले उजिल्याएका छन् । पद्मावतीले आफ्ना कथाहरूमा नारीको विविध संघर्ष र चरम गरिबीलाई पनि कलात्मक पारामा छोएकी छिन् । पद्मावतीका केही कथाहरूले नेपालको राजनीति र सत्तालाई पनि कोट्याएको छ । तर त्यो कोट्याइमा कथाकारले महिलाको इच्छा र नैसर्गिक यौनलाई बढो सूक्ष्म ढङ्गले कथामा उनेकी छिन् ।

संग्रहभित्रका कथाहरू आयामको दृष्टिले केही लामा र केही मझौला छन् । कथाहरू पढ्दै जाँदा आयाम र संरचनाको हिसाबले लामा वा छोटा लागेपछि कथाभित्रको सन्देशको पक्षबाट हेर्दा हरेक कथाहरूले पाठकलाई सन्देश दिन सफल भएका छन् । अधिकांश महिला कथाकारहरूका कथाहरू भातभान्छा र सासू बुहारी वा लोग्ने स्वास्नीबीच रोनाधोनामा नै अल्झिएका पाइन्छन् । तर पद्मावतीका कथाहरू पढ्दा पाठक रुन सक्छन् तर रुवाइमा सस्ता र नाटकीय आँसु भने खस्ने छैनन् ।

सिंहका हरेक कथाहरू यथार्थको निकट रहेका छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा पद्मावती मानवतावादी कथाकार हुन् । उनी आफ्ना कथाहरूमा मानवतालाई सजाउँछिन्, सम्मान गर्छिन् र मानवकै दुःख अनि खुसीमा कथा बुन्छिन् । सिंहका कथाहरूले कहींकतै पुरुषलाई होच्याउने वा महिलालाई अनावश्यक उठाउने काम गरेको पाइँदैन ।

कथाकार पद्मावती सिंहका कथाहरूले युगीन चेतना अङ्गीकार गरेका छन् । हिजो लेखिएका सिंहका कथाहरू आज समाप्त नभएर भोलिका दिनहरूमा अझ पढिने र खोजिने छन् । यसको उदाहरणको लागि कथा ‘समय पीडा’लाई नै लिन सकिन्छ । यस कथाले वर्तमान समयले दिएको पीडालाई मिहिन तरिकाबाट उठाएको छ । कथामा बिदेसिएका छोराछोरीका बाआमाको कथालाई लेखिएको छ, जहाँ बुढ्यौलीको समयमा आजको व्यस्त जीवनशैली र त्यस समयले दिएको एकाङ्कीपनलाई बूढाबूढीको नजरबाट हेरिएको छ । यो कथा अहिले घरघरको कहानी जस्तै बनेको छ भने यसले भोलिको दिनमा अझ भयावह अवस्था सिर्जना गर्ने देखिन्छ । कथाकारको दूरदृष्टिले वैदेशिक पीडाको यो अदृश्य घाउलाई कथामार्फत् सधैं आलो घाउ बनाएर कथामा नै छोडेका छन् ।

कथाकारले यस संग्रहमा राजनैतिक परिवेशका कथाहरू पनि सजाएकी छन्, ‘निःशेष’, ‘अशान्त मन’ र ‘बहिर्गमन’ । यी तीनै कथामा कथाकारले नेपालको ऐतिहासिक सशस्त्र द्वन्द्वको कथालाई नारी संवेदनाको आँखाबाट हेरि उतारेकी छन् । त्यसैगरी पद्मावतीले आफ्ना थप दुई कथा – ‘क्रमशः टेम्पुचालक मनमाया’ र ‘निःशब्द’ मा गरिबी र संघर्षका विषयलाई आञ्चलिक पारामा उतारेकी छन् । टेम्पुचालक मनमाया काठमाडौंको परिवेशमा टेम्पुचालक बनेकी छन् भने निःशब्द कथामा तराई परिवेशको पात्र जेगेन्दरको काठमाडौंमा तरकारी बेचेको कथा कथिएको छ । यसरी भुइँमान्छेको संवेदनाहरूलाई खेलाइएको छ । यस्ता कथाहरूले पाठकलाई भावुकतामा पनि विचरण गराउने छन् ।

यतिखेर नेपाली समाज ‘बोक्सीको घर’ चलचित्रको ह्याङ्मा रुमल्लिरहेको छ । यस चलचित्रले नेपाली बालिका र युवतीमाथि गरिएको यौन शोषणको कथा बाचेको छ । यौन शोषण र बलात्कारका घटनाहरूलाई आफ्ना सिर्जनामा कलात्मकताकासाथ सजाउँदा प्रस्तुतिले दर्शक र पाठकहरूलाई संवेदनाको चरम चुलीमा पुर्‍याई स्रष्टालाई अमर र अजर बनाउने प्रयास गरिरहन्छ । यही मान्यतामा कथाकार पद्मावती सिंहले पनि आफ्ना दुई कथा रचेकी छन् । ‘कालो सुट’ कथाले सुकिलो देखिएको पुरुष आकृतिभित्र गडेको कालो छायाको सुन्दर चित्र उतारेको छ भने ‘अनुत्तरित प्रश्नहरू’ कथामा आफ्नै फुपाजुबाट लुटिएकी एक पात्रको कारुणिक कथा उनिएको छ ।

कथाकार सिंहले प्रेमवासनाका कथाहरू पनि बढो गजबैले लेख्छिन् । उनका प्रेमिल कथाहरूमा नारी र पुरुषलाई समान्तरमा राखिएको पाइन्छ । कथाकार आफ्ना कथाहरूमा कहीँ पनि एक पक्षिय लाग्दिनन् । सिंहका हरेक कथाहरूमा जीवनका केही अंशहरू प्रस्ट भेटिन्छन् । ‘बिम्ब प्रतिबिम्ब’, ‘सम्झनाको भग्नावशेष’ र ‘जीवनका एक रूप’ आदि कथाहरूमा पद्मावतीको प्रणय चेतको सुन्दर नमुना पाइन्छन् ।

कथाकार पद्मावती सिंहको शैली लोभलाग्दो र रहरलाग्दो छ । कथा लेख्दा उनले पात्र, परिवेश, लवज, भेषभूषा र पटकथालाई कोमल तरिकाबाट सजाउने गरेकी छन् । नेपाल समाजकी भएर पनि भाषामा नेवारी गन्ध कहीँ कतै पाइँदैन । तर परिवेशमा सुटुक्क नेवारी कला, कौशल र संस्कृति भने कथाकार पद्मावती खानामा मखन मिलाएझैँ सुहाउँदो स्थानमा राखेकी छन् ।

नेपाली कथालाई माया गर्ने पाठक वा नेपाली कथाका कलम चलाइरहेका कथाकारले पद्मावती सिंहको ‘समय दंश’ कथासंग्रह आफ्नो समय अनुकूलतामा पढ्न आग्रह गर्छु । संग्रहले हरेक समयको कथालाई कालजयी पारामा प्रस्तुत गरेको छ ।