विर्तामोड । झापाको विर्तामोडस्थित होटल किङ्सवरीमा आज दिउँसो २ बजेदेखि कवि नवराज पराजुलीको विशेष कविता कन्सर्ट आयोजना हुँदैछ ।

नेपाली साहित्यको प्रवर्द्धनमा सक्रिय नेपाली साहित्य डटकमले कार्यक्रम आयोजना गरेको हो । कवि पराजुलीको चर्चित काव्यकृति सगरमाथाको गहिराइ प्रकाशनको दशौँ वर्षको अवसर पारेर कन्सर्ट आयोजना गरिएको निर्देशक अर्जुन उप्रेतीले जानकारी दिनुभयाे  । कार्यक्रममा सहभागी दर्शकहरूले करिब दुई घण्टा कवि पराजुलीको एकल प्रस्तुति सुन्न पाउनुहुनेछ । साथै, प्रत्येक दर्शकलाई ‘सगरमाथाको गहिराइ’को एक प्रति हस्ताक्षरसहित उपलब्ध गराइने संयोजक सुनिता तामाङले बताउनुभयाे । उक्त कृति वि.सं. २०७३ को पद्मश्री साहित्य सम्मानबाट पुरस्कृत भएको काव्यसङ्ग्रह हो ।

विद्यार्थीहरूमा नेपाली भाषाप्रति रुचि बढाउने उद्देश्यले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई पनि कार्यक्रममा सहभागी गराइँदैछ । विद्यालय संयोजक राज शेर्माका अनुसार झापाका क्यानरी एकेडेमी, चिल्ड्रेन इन्भाइरोन्मेन्ट स्कुल, रुपरत्न मेमोरियल स्कुललगायतका शैक्षिक संस्थाका विद्यार्थीहरू कार्यक्रममा सहभागी हुनुहुनेछ ।

विश्वका १७ देशमा कविता कन्सर्ट गरिसक्नुभएकाे कवि पराजुलीले झापाको यस प्रस्तुति मार्फत आफ्ना पाठक तथा दर्शकप्रति आभार व्यक्त गर्ने उद्देश्य राखेको प्रचार संयोजक बिबेक निशानीले जानकारी दिनुभयाे ।